PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजनीतिको दूषित परिभाषा मेट्नु छ : मिलन पाण्डे, विवेकशील नेपाली दल



स्वेच्छा राउत

राजनीतिको दूषित परिभाषा मेट्नु छ : मिलन पाण्डे, विवेकशील नेपाली दल

मंगलबारदेखि जनकपुरमा सुरु भएको विवेकशील नेपालीको राष्ट्रिय सम्मेलनबाट पार्टीको अध्यक्षमा मिलन पाण्डे चुनिएका छन्। प्रत्यासी शिव थापालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन्। मिलनको पक्षमा ५८ प्रतिशत मत खसेको हो। जितपछि मिलन पाण्डेसँग स्वेच्छा राउतको छोटो कुराकानी :

प्रवक्ताको जिम्मेवारी सम्हालिरहनु भएको थियो। अब पार्टीको अध्यक्ष चुनिनु भयो। पदसँगै भूमिका पनि परिवर्तन भयो। कसरी अघि बढ्ने सोच्नु भएको छ?

जिम्मेवारी र चुनौती बढेको छ। साथै ती जिम्मेवारी पूरा गर्ने र चुनौतीसँग लड्ने दवाव पनि केही ज्यादा भएको छ। म आफ्नो पक्षबाट त पूर्ण विश्वस्त छु आफ्नो काम इमान्दारी पूर्वक गर्छु भन्नेमा। साथै आम नागरिकको साथ र सहयोगमा पनि विश्वास छ। यस घडीमा ती युवादेखि आमा बुवा सम्झिरहेको छु जसले यसअघिको चुनावमा हामीलाई मत दिएर साथ दिए। ती कुराले मलाई आशावादी पनि बनाएको छ।

चुनौतीहरु छन् भन्नुभयो। तत्काल सामना गर्नुपर्ने मुख्य चुनौती के हो जस्तो लाग्छ?

हामी वैकल्पिक राजनीतिका लागि आएका पुस्ता हौं। पुरानो पुस्ताका राजनीतिकर्मी र पार्टीहरुले राजनीतिको गलत व्याख्या गरे। आम मानिसमा टायर बाल्नु नै राजनीती हो भन्ने बुझाइ छ।

राजनीतिको दुषित परिभाषा मेट्नु नै मुख्य चुनौती हो।

हामी त फरक तरिका र अभियानहरु अपनाउँछौं। त्यो वैकल्पिक अभियान पनि राजनीती हो भन्ने कुरा समग्र समाजलाई बुझाउन अलि गाह्रो छ जस्तो लाग्छ। त्यसका लागि समय लाग्छ।

सानो दल हुनुले पनि चुनौती सामना गर्नमा असर पार्ला नि?

दल सानो ठूलोभन्दा पनि मलाई हाम्रो 'टिम वर्क'मा विश्वास छ। सबैको सामूहिक 'भिजन'ले हामी नेतृत्व गर्नेलाई आत्मविश्वास जगाउँछ। केही समय अघिसम्म हामीसँग अनुभव थिएन। अब त ७ वर्षको अनुभव छ। यसबीचमा हामी लड्यौं, उठ्यौं। लडेर उठ्दा अझै केही परिपक्व भयौं।

त्यो अनुभव, परिपक्वता नतिजामा देखाउन लागि पर्नेछु।

टिम वर्कको कुरा गर्नु भयो। केही अघि टिमभित्रकै पदाधिकारीले सहयोग रकम हिनामिना गरेको खबर सार्वजनिक भएको थियो। अब त्यस्ता प्रश्न प्रत्यक्ष रुपमा तपाईँसँग जोडिन्छन्। उक्त विषयमा पार्टीभित्र केकस्ता छलफल वा अनुसन्धान भए?

तपाईँले सायद 'भूकम्प पीडितलाई आएको पैसाले खाना खाए' भन्ने समाचारलाई इंगित गर्नुभयो। हो, हामीले उद्धार र राहत वितरणका लागि दुई हजार स्वयं सेवक खटाएका थियौं। बिहान ५ बजेदेखि राती १० बजेसम्म काम गर्नेलाई खाना दिएका हौं। तर, त्यसैको गलत व्याख्या गरियो। उक्त विषयमा पार्टीभित्र आवश्यक छलफल पनि भए। ती समाचार गलत नियतले लेखिएको हो भन्नेमा ढुक्क छौं।

अब म अध्यक्ष पदमा छु। समाचारमाथि चाहिँ आवश्यक छानबिन गर्नेछु।

आगामी दिनका लागि अन्य योजना कस्ता छन्?

पार्टी बढ्दै जाँदा पनि 'टिम वर्क'मा त्यसको असर नपरोस् भन्नेमा मेरो ध्यान केन्द्रित रहनेछ। त्यसैले देशभरका पार्टी सदस्यबीच वैचारिक सन्तुलन कायम गर्न जोड दिनु मेरो मुख्य उद्देश्य हो। साथै विवेकशील नेपालीका अबका अभियानहरु परिणाम केन्द्रित बनाउनेमा जोड दिनेछु। हाम्रो संगठन मजबुत गर्नु र देशभरका चुल्होसम्म पुगेर वैकल्पिक राजनीतिबारे बुझाउने योजना बनाएको छु।

सबैको चुल्होमा पुग्ने भन्नुभयो। यसका लागि त चिनिएका नेता र पार्टी नै थ्रेट बन्लान् नि?

चिनिनुको अर्थ आम मानिसमा प्रभाव पार्नु नहोला। त्यसो हुन्थ्यो भने रञ्जु दर्शनाले पहिलोपटक चुनाव लड्दै २३ हजार बढी मत प्राप्त गर्न सम्भव थिएन।

विवेकशील नेपाली आम जनताको मुद्धा अघि सारेर जनतामा चिनिन्छ। हामी समाज र मानिससँग जोडिनछौं। राजनीतिक, सामाजिक र आर्थिक मुद्धालाई एकैसाथ अघि बढाउँछौं। राजनीति 'वान म्यान सो' नभएकाले एक नेता वा व्यक्तिको चर्चाले पनि हामीलाई असर गर्दैन। आम नागरिकको प्रतिनिधि बनेर अघि बढ्छौं त्यसैले कुनै व्यक्ति र पार्टीको चर्चा हाम्रो थ्रेट होइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell