PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने ३११ भारतीय मेक्सिकोबाट फर्काइए



अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने ३११ भारतीय मेक्सिकोबाट फर्काइए
प्रतिकात्‍मक फोटो: ANI

गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने प्रयासमा मेक्सिको पुगेका ३११ भारतीयलाई मेक्सिको प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकाहरु मध्ये ३१० जना पुरुष र १ जना महिला रहेको छ। यात्रुहरु मध्ये धेरैजसो पंजाबका रहेका छन्।

नियन्त्रणमा लिइएका सबै भारतीयहरुलाई मेक्सिको सरकारले डिपोर्ट गरेको छ। उनीहरु सबैलाई ६० सुरक्षाकर्मीको निगरानीमा टोलुकाबाट विशेष विमानबाट स्वदेश फर्काइएको छ। उनीहरु शुक्रवार दिल्ली विमानस्थल पुग्ने बताइएको छ।

ट्राभल एजेन्टहरुसँगको सहकार्यमा उनीहरु विगत केही महिनादेखि मेक्सिको पुगेको एएनआइले जनाएको छ। एजेन्टहरुले उनीहरु सबैलाई एक महिना भित्र अमेरिका पुर्‍याउने वाचा गरेको बताइएको छ।

विमानस्थलका अधिकारीहरुका अनुसार दुई नीजि विमानको प्रयोग गरेर भारतीय नागरिकहरु मेक्सिको पुगेका थिए। ट्राभल एजेन्टले प्रत्येक व्यक्तिसँग २५ देखि ३० लाख भारतीय रुपैया लिएका थिए। सबै भारतीयहरुलाई एमर्जेन्सी सर्टिफिकेट दिइएको छ। पासपोर्ट हराएको, नभएको व्यक्तिहरुलाई प्रदान गर्ने सो सर्टिफिकेटबाट भारत प्रवेश गर्न सहज हुने बताइएको छ।  

स्वदेश फर्केपछि उनीहरुलाई भारतीय अधिकारीहरुले उनीहरुको भ्रमणको उद्देश्यका बारेमा सोधपुछ गर्ने तयारी गरिरहेका छन्। आवश्यकदेखिए केहीलाई नियन्त्रणमा समेत लिइने तयारी भइरहेको छ।

अमेरिकाले मेक्सिकोसँगको सीमाबाट गैरकानूनी रुपमा आफ्नो भूमिमा प्रवेश गर्ने आप्रवासीलाई प्रवेश दिन कडाइ गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको ओइरोका कारण अमेरिका अस्तव्यस्त भएको भन्दै मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने बताउँदै आएका छन्।

अमेरिकाको दबाबपछि मेक्सिकोले पनि आफ्नो सीमा क्षेत्रमा कडाइ गर्दै आएको छ। मेक्सिकोले सीमा क्षेत्रमा हजारौं संख्यामा सुरक्षाकर्मी खटाएको छ। अमेरिकाले पनि सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell