PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

११ महिनादेखि वाग्मती सौन्दर्यीकरणको काम अलपत्र



११ महिनादेखि वाग्मती सौन्दर्यीकरणको काम अलपत्र
फाइल फोटो।

काठमाडौं : कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले ११ महिनादेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणका काम रोकिएको गुनासो गरेका छन्।

विसं २०२१ को नापीमा किसानका नाममा दर्ता भएको कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका स्थित गोठाटार पुल आसपासका स्थानीयको जग्गा २०५३ सालमा पानी शुद्ध बनाउने भन्दै वाग्मतीमा पारिएको थियो। हातमा लालपूर्जा भए पनि जग्गा नदीमा परेपछि २२ वर्षदेखि किसानले विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन्।

त्यही जग्गामा किसानलाई मुआब्जा नदिई सौन्दर्यीकरणको काम शुरु भएकाले गत वर्ष मंसिर १ गतेदेखि काम रोकिएको वाग्मती पीडित संघर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले जानकारी दिए। स्थानीयले यसअघि २०५३, २०६६, २०६७, २०७४ साल र गत मंसिरमा किसानसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। दुवै नगरपालिकाका दाहाल, पुडासैनी, आचार्य, रिजाल, बराल, तामाङ र श्रेष्ठ बन्धु समाजका किसान वाग्मती पीडित बनेको उनले बताए।

गत वर्ष मंसिर १० गते अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष र आयोजना प्रमुखले पीडित किसानलाई मुआब्जा दिएर मात्र सौन्दर्यीकरणको काम अघि बढाउने सम्झौता गरेका थिए। त्यसअनुसार मंसिर १२ गते २२ वर्षको बाली लिन आउनु भनी पीडितका नाममा गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको थियो।

यसलाई गत मंसिर १६ गतेको अधिकार सम्पन्न वाग्मती समितिको बोर्ड बैठकले अनुमोदन गरे पनि अहिलेसम्म बाली र मुआब्जा वितरणको प्रक्रिया शुरु हुन नसकेको पीडित किसानको गुनासो छ। समितिले भने सरोकार भएका निकायसँग छलफल शुरु भएको जनाएको छ। समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकाल छिटोभन्दा छिटो काम शुरु गर्ने गरी पहल भइरहेको बताउँछन्।

एशियाली विकास बैंकको ऋण सहयोगमा वाग्मती सौन्दर्यीकरणको काम भइरहेको थियो। करीब नौ महिनादेखि काम गर्न नपाएपछि सहयोगबाट हात झिक्ने बैंकले सार्वजनिक गरिसकेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell