Nov 21, 2019 | ५ मंसिर २०७६

खुल्लामञ्चपछि मल्ल राजाको देवाली मन्दिर 'दुईमाजु' अतिक्रमणमा, साँघुरिँदै टुँडिखेल

सहयोग रञ्जित/पहिलोपोस्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २१ तल्ले 'भ्यू टावर' सहितको बहुउद्देश्यीय भवन बनाउने निर्णय गरेपछि खुल्लामञ्चको आधा भागमा बसपार्क सारियो। 'भ्यू टावर' बनाउने अनुमति पाएको ठेकेदार जलेश्वर स्वच्छन्द बिकोईले नै खुल्लामञ्चमा बसपर्क संचालन गर्ने ठेक्का पायो। त्यही ठेकेदारले गत वैसाखमा अवैध रुपमा खुल्लामञ्चमा रहेको बसपार्कमा सटर निर्माण गरेको थियो। सटर भाडामा दिएका ठेकेदारले व्यापारीहरुसँग लाखौंको 'डिल' गरेका थिए।

महानगरपालिकासँग अत्यावश्यक केही सटर (औषधी पसल, शौचालय, टिकट काउन्टर) लगायत बनाउने सम्झौता गरेको ठेकेदारले व्यवासाय गर्नलाई नै सटर बनाएर भाडामा दिए। स्थानीले ठेकेदारले साँघुरिँदै गएको खुल्लामञ्च कब्जा गर्न लागेको भन्दै विरोध गरे।

यसै वर्ष वैशाख १२ गते स्थानीय र जनप्रतिनिधिहरुले खुल्लामञ्चमा बनाइएका सटरहरु बन्द गराए। बसपार्क बनाउन दिएको स्थानमा सटर बनाएर व्यापार गर्न दिएकोमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ बीचको द्वन्द्व सतहमा देखियो। अभियन्ताहरुले भूकम्पको सम्झनामा आयोजित कार्यक्रमका लागि वसन्तपुर जानेक्रममा सुन्धारा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी अगाडि नै नाराबाजी गरेर खुल्लामञ्च खुल्ला गर्न भन्दै विरोध जनाए।

अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा वैशाख १४ गते शनिवार खुल्लामञ्च परिसरमा अवैध रुपमा बनाइएका ४० सटर भत्काइयो। त्यही बेला धेरैको आँखा पुग्यो - हाल बसपार्क प्रवेश गर्ने स्थानसँगै रहेको दुईमाजु मन्दिर परिसरमा।

टुंडिखेल खुल्ला गराउन लागिपरेका अभियन्ताहरुले खुल्लामञ्चमा अवैध सटर बनाउने कुराको विरोध गर्दा गर्दै गुठी, महानगर र भूमाफियाको संलग्नतामका गुठी संस्थान अन्तर्गतको रहेको मल्लकालीन दुईमाजु मन्दिर अतिक्रमण गरेको फेला पारे।

रेलिङ र जस्तापाताले घेरिएर पसल चलाउन भाडामा दिने निकाय गुठी संस्थान थियो।

२०७५ सालमा नै गुठी संस्थानले अमृता भट्टराईलाई महिनाको १५ हजार तिर्ने करार गराएर पाँच वर्षमा मन्दिरमा व्यापार गर्न भाडामा दिएको देखिन्छ। तर, भट्टराईले सम्झौता विपरीत अरुलाई मन्दिर परिसरमा व्यापार गर्न दिएर आफूले मासिक रुपमा धेरै भाडा असुल्ने गरेको खुलेको थियो।

भट्टराईलाई गुठी संस्थानले मन्दिर सरसफाइ गर्ने दायित्व पाएकी कर्मचारी थिइन्। उनलाई दुईमाजु मन्दिरमा व्यापार गर्न दिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको समेत संलग्नता रहेको स्थानीयले दाबी गर्दै आएका छन्।

करिब ६ महिना अगाडि खुल्लामञ्चबारे बहस चल्दै गर्दा पहिलोपोस्टसँग कुरा गर्दै गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले भट्टराईलाई मन्‍दिरमा असर पर्न नदिने गरी व्यवसाय गर्न सम्झौता गरेको स्वीकारेका थिए।

गुठी संस्थान अन्तर्गत पर्छ भन्दैमा मन्दिर परिसर नै भाडामा दिन मिल्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, 'गुठीसँग धेरै आयस्रोत छैन। खर्च चलाउनलाई हामीले गुठी अन्तर्गतका केही जग्गा भाडामा दिने गरेका छौं। त्यही अनुरुप मन्दिरमा असर नपर्ने गरी त्यहाँ व्यवसाय संचालन गर्न हामीले अनुमति दिएका हौं।'

तर, संस्थानको जवाफसँग स्थानीय खुशी थिएनन्। उनीहरुले मन्दिरबाट पसल हटाएर खाली गराउने चेतावनी दिए। काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आफै गएर मन्दिर परिसरमा बनाएका पसलहरुको निरीक्षण गरेकी थिइन् भने अभियन्ताहरुले पनि पसल हटाउन दबाब दिएका थिए। फलस्वरुप खुल्लामञ्चमा बनाइएका सटर भत्काइएको केही दिनपछि नै संचालक आफैले मन्दिर परिसरमा बनाइएका पसलहरु हटाएका थिए।

अतिक्रमणको दोस्रो श्रृखंला

वैशाखमा खुल्लामञ्चबाट सटर हटाउन सफल हुँदा उत्साही बनेका स्थानीय दुईमाजु मन्दिरबाट समेत पसल हटेकोमा खुशी थिए। तर, उनीहरुको खुशी ६ महिना पनि टिकेन।

मन्दिरबाट वैशाखमा हटेको पसलहरु ६ महिनापछि फेरि देखिए। मन्दिर वरिपरि फेरि कपडा, जुत्तालगायत सामाग्रीको पसल खुले। यसलाई स्थानीयले खुल्लामञ्च अतिक्रमणको दोस्रो श्रृंखलाका रुपमा अर्थाएका छन्।

दशैंको समयमा स्थानीयलाई झुक्याएर काठमाडौं महानगरपालिकाले बसपार्क रहेको खुल्ला मञ्चमा ढलान गरेपछि स्थानीय थप आक्रोशित छन्। उनीहरु अब दुईमाजुलाई जसरी भए पनि खुल्ला गराउने प्रयासमा छन्।

यता, गुठी संस्थान भने दुईमाजु मन्दिर अतिक्रमण परेको विषयलाई लिएर वैशाखदेखि हालसम्म अनुसन्धानमा नै अल्झिएको छ। ६ महिना अगाडी गुठी संस्थानका प्रवक्ता थपलियाले पनि दुईमाजुका बारेमा अनुसन्धान भइरहेको बताएका थिए।

केही महिना अगाडि मात्रै गुठी संस्थान काठमाडौं शाखाका प्रमुख भएर आएका शैलेन्द्र पौडेलले पुरानै उत्तर दोहोर्‍याए। भने, 'हामी भर्खर आएका हौं। यसबारेमा बुझदैछौं। गुठी र महानगरसँग जे सम्झौता भएको छ, त्‍यो भन्दा बाहिर गएर बनाइएका सबै संरचना हामी खाली गराउँछौं। हामी अहिले प्रतिवेदन कुरिरहेका छौं।'

चौतर्फी विरोधपछि गुठीसँग मन्दिर परिसरमा व्यवसाय संचालन गर्न सम्झौता गरेकी अमृता भट्टराईले अहिले आएर सम्झौता खारेजी गर्न निवेदन दिएकी छिन्।

कार्यव्यस्तताका कारण सम्झौता अनुरुप आफूले मन्दिर हेरचाह गर्न नसक्ने भन्दै भट्टराईले गुठी संस्थानमा सम्झौता खारेजीको निवेदन दिइसककी छिन्।

उनले निवेदनमा दुईमाजु गुठीको स्थानमा सम्झौता अनुसार पसल संचालन भइरहेको भन्दै हाल आएर आफ्नो कार्यव्यस्तता र विविध समस्याले सम्झौता अनुरुप जिम्मेवारी बहन गर्न असमर्थ रहेको कारण देखाउँदै आफ्नो नामबाट दायित्व कट्टा गरी सम्झौता खारेज गरिदिनुहुन अनुरोध गरेकी छिन्।

उनले गुठी संस्थानमा सम्झौता खारेजीको निवेदन दिए पनि दुईमाजुमा निर्वाध रुपमा पसल संचालन भइरहेको छ। यता, वडा २८ का अध्यक्ष भाइराम खड्गीले भने कानून विपरीत दुईमाजु परिसरमा स्वेच्छारी रुपमा व्यवसाय संचालन भइरहेको पाइएको बताउँदै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसमक्ष निवेदन पठाइसकेको बताए।

उपप्रमुख खड्गीले पनि वडाबाट आफूकहाँ सबै कागजपत्र आइपुगेको बताउँदै त्यसबारे अध्ययन भइरहेको बताइन्। भनिन्, 'पहिला पनि म आफै गएर त्यहाँ निरीक्षण गरेको थिएँ। पसलहरु हटाएको समेत थियो। अहिले फेरि हालिएछ। यसमा गुठी संस्थानको कमजोरी प्रस्ट देखिन्छ।'

दुईमाजु मन्दिरको बारेमा आफू जानकार रहे पनि महानगर प्रमुख शाक्यको अनुपस्थितिमा आफूसँग निर्णय दिने अधिकार नभएको बताउँदै उनले वडाको पत्रलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्न सचिवकहाँ पठाइएको बताइन्। महानगर प्रमुख शाक्य डेंगुका कारण अस्वस्थ छन्।

पृथ्वीनारायण शाहलाई शक्ति दिने दुईमाजु

इतिहासकार डा. साफल्य अमात्य तुण्डीक्षेत्र- तुण्डीखेल, तुंख्यो हुँदै नेपाली भाषामा अपभ्रंश हुँदै टुँडिखेल भएको बताउँछन्। उनका अनुसार परापूर्वकालमा ढिस्कोले पुरिएको उक्त स्थानमा धेरै रुख थिए। पानी निस्किरहने भएकाले धेरै क्षेत्रमा दलदल थियो। त्यसैले त्यस क्षेत्रलाई तुंख्यो अर्थात् 'पानी भएको खेत' भनिएको हो।

१९१२ सालमा जंगबहादुर राणा प्रधानमन्त्री हुँदा नेपाल आएका इतिहासकार हेनरी एम्ब्रोस ओल्डफिल्डले टुँडिखेल २-३ माइल लामो र ३ गज चौँडा रहेको उल्लेख गरेका थिए। हेनरीद्वारा लिखित पुस्तक 'स्केच्स् फ्रम नेपाल'मा टुँडिखेललाई 'एसियाको सबैभन्दा ठूलो परेड मैदान' भनिएको थियो। राणाहरूले टुँडिखेल विस्तार गर्दै लगेका थिए। टुँडिखेल हाल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालादेखि (न्हु पुखु) रानी पोखरीसम्म फैलिएको थियो।

मल्लकालदेखि नै टुँडिखेलमा नेवारहरुले आफ्नो सांस्कृतिक चाडपर्व मनाउँदै आएका थिए। फागु पूर्णिमाका दिन टुँडिखेलमा गुरुमापा राक्षसलाई भोज खुवाउने गरिन्छ भने पाहँचह्रेको एक दिनपछि त्यहाँ द्य: ल्वाकिगु (खट जात्रा) गरिन्छ। गुरुमापा राक्षसको संहारस्वरुप टुँडिखेलमा त्यसअघि सिपाही गुठीका भोसीको र बागबजारका खड्गीहरुले घोडा दौडाउने गरेको स्थानीयहरूको दाबी छ।

त्यही विशाल टुँडिखेलको एक हिस्सा हो दुईमाजु मन्दिर। मल्ल राजाहरुलाई शक्ति प्रदान गर्ने दुईमाजु मन्दिर ओझेलमा परेको ऐतिहासिक मन्दिर हो। यस मन्दिरको सम्बन्ध हनुमानढोकामा रहेको तलेजु भवानीसँग रहेको छ। तलेजुका मुख्य पुजारी उद्धव कर्माचार्यका अनुसार तलेजुजस्तै दुईमाजु पनि आफै उत्पति भएकी शक्ति हुन्।

भन्छन्, 'तलेजुको जस्तै दुईमाजुको पनि आकृति छैन। दुवै अदृश्य शक्ति हुन्। तलेजुहुने स्थानमा दुईमाजु रहेको हुन्छ।'

दुईमाजु मल्ल राजाहरुको देवाली मन्दिर रहेको बताउँछन् कर्माचार्य। अन्नको देवीका रुपमा दुईमाजुलाई पूजा गर्ने परम्परा रहेको बताउँदै उनले दुईमाजुको पूजाका कारण मल्लकालमा अन्नको अभाव नहुने जनविश्वास रहेको बताए।

पछि पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा दुईमाजु मन्दिरमा पूजा गरेर शक्ति हासिल गरेको कथन छ। काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लसँग पृथ्वीनारायण शाहले दुईमाजुमा निरन्तर पूजा गर्ने वाचा लिएको कथन छ।

परम्पराको निरन्तरता

अहिले पनि हरेक वर्ष चैत मसान्त, वैशाख र माघेसंक्रान्तीका दिन दुईमाजु मन्दिरमा पूजा हुँदै आएको छ। यस्तै त्यहाँ कूलपूजा समेत हुँदै आएको छ।

चैत मसान्तमा तलेजुबाट बाजासहित दुईमाजुमा पूजा आउँछ। वैशाख १ गते दुईमाजुमा तलेजुबाट ल्याइएको प्रतीमा राखेर शक्ति आर्जन गरिन्छ। र, वैशाख २ गते तलेजु भित्राउने गरिन्छ। यस्तै दबू छेँका राजोपाध्याय समुदायका किशोरहरुलाई ब्रतवन्ध गराएर शहर बाहिर रहेको दुईमाजुमा ल्याएर सात पाइला हिडाउने परम्परा रहेको विराजकाजी राजोपाध्याय बताउँछन्।

भन्‍छन्, 'यसको आयस्रोत सबै गुठी संस्थानसँगै छ। त्यसै मन्दिर ओझेलमा पर्दै गयो। अहिले त मन्दिरमा नै व्यापार गर्न दिएछन्।'

इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको पूजामा गुठी संस्थानले लापरवाही गर्दै आएको बताउने उनी खुल्ला रुपमा मन्दिर छोडेर पसल संचालन गर्न दिएर गुठीले गलत गरेको बताउँछन्।

'मन्दिर परिसर बाहिर पसल राखे त विवाद हुँदैन थियो। तर, मन्दिरको अस्तित्व नै लोप हुने पसल राख्न दिनुलाई उचित मान्नै सकिँदैन। यसरी त मल्लकालीन इतिहास नै समाप्त हुन्छ,' उनले भने।

मल्लकालीन सो मन्दिरको अस्तित्व तब संकटमा पर्‍यो जब जनताको जग्गा अतिक्रमण गरेर राणाहरूले टुँडिखेललाई शक्ति प्रदर्शन गर्ने सैन्य मैदानमा रूपान्तरण गरे। राणा र शाहकालमा टुँडिखेल शक्तिकेन्द्र बन्यो। राणा शासनमा अतिक्रमण गरेर भए पनि विशाल बनाइएको टुँडिखेल प्रजातन्त्रपछि भने साँघुरिँदै गयो।

पञ्चायत शासनका सूत्रधार राजा महेन्द्र शाहले टुँडिखेलको मध्य भागमा रहेको ऐतिहासिक खरिबोटसहितको चौतारा भत्काउन लगाए। महेन्द्रको शासनकालमा टुँडिखेल झनै साँघुरियो। तत्कालीन रानी रत्न राज्यलक्ष्मीको नाममा टुँडिखेलको एक भागमा पार्क बनाइ त्यसलाई 'रत्नपार्क' नामकरण गरियो। त्यसक्रममा सँगै रहेको दुईमाजु मन्दिर अतिक्रमणमा परेको थियो। गणतन्त्र आएपछि 'रत्नपार्क' लाई 'शंखधरपार्क' बनाइयो। तर, अतिक्रमणको क्रम रोकिएन।

शाहकालमा टुँडिखेलमा नै रत्नपार्क, खुल्लामञ्च, सैनिक मञ्च, शहीद गेट, जंगी अड्डा बन्यो। टुँडिखेल साँघुरिँदै गयो। हाल टुँडिखेलको नाममा सैनिक मञ्चदेखि शहीद गेट क्षेत्रसम्म केही खुल्ला भाग बाँकी रहेको छ। जसको आधा भागमा अहिले जनतालाई प्रवेश निषेध छ।



ट्रेन्डिङ पोस्ट

ncell