सन् २०१४। महिना ठ्याक्कै याद छैन। त्यस दिन आफूले लगाएको लुगा भने सम्झन्छिन्, रीहाना थेबे - सेतो टिसर्ट, कालो स्कर्ट र दुई इन्च अग्लो हिल। गर्मी महिना थियो, सायद।
भृकुटीमण्डपमा बृहत कार्यक्रम थियो, महिला अधिकार सम्बन्धी। विभिन्न समूह, संघ र संस्थाबाट सहभागिता जनाउन आउनेहरु धेरै नै थिए। रीहाना तिनैमध्ये एक थिइन् जो आफू कार्यरत् संस्थाको प्रतिनिधित्व गर्दै त्यहाँ उपस्थित थिइन्।
त्यहाँ एकाएक उनको आँखा जुध्यो, आफ्नै कान्छी दिदी रीना लिम्बुसँग।
औपचारिक कार्यक्रममा जुरेको त्यो जम्काभेट करिब ३ वर्षपछिको थियो। रीहानाको मनमा डर र खुशी एकसाथ उर्लियो। उनी उत्सुक थिइन् - दिदीसँग कुरा गर्न। आमाको खबर सोध्न पनि।
आँखा जुध्दा उनलाई लागेको थियो दिदीमा पनि उनलाई भेट्ने हतारो छ।
कार्यक्रम सकियो। तर, उनले सोच्नै नसक्ने गरी दिदी त आफ्नो ठाउँबाट जुरुक्क उठिन् र सरासर आफ्नो बाटो लागिन्।
अवाक् भइन् रीहाना। तर, दिदीसँग कुनै गुनासो थिएन उनको।
***
स्कूलमा अभिभावक दिवस थियो। पहिलोपटक मञ्चमा प्रस्तुति दिँदै थिए धरान पिण्डेश्वरी चोकका शिशिर थेबे। ‘माइतीघर…’ बोलको गीतमा 'लिड डान्सर' शिशिर। गुन्यु चोली र मेकअपमा चिटिक्क परेर मञ्चमा उक्लिए उनी। दर्शक दीर्घामा बसिरहेकी आमालाई देख्दा उनको लाज चुलियो। दश वर्षीय बालकले सोचे - आमा खुशी भएर अरुसँग भन्नेछिन्- 'उ त्यो बीचमा नाच्ने मेरो छोरो।'
कार्यक्रम सकियो। आमाको तारिफ, दिदीहरुको बधाई र बाबाले दिने स्याबासी अनुमान लगाउँदै घर पुगे। तर, भयो ठीक उल्टो।
आमाले त आँखा पो तरिन्! बुबा रत्नमान थेबे रिसले मुर्मुरिएका रहेछन्। सुरुमै एक झापड बजाए। त्यसपछि डोरीले हात खुट्टा बाँधे। र, उल्टो झुण्ड्याए अनि पिट्न थाले।
‘अबदेखि केटी बनेर नाँच्छस्?’
त्यसअघि दिदीहरुले धेरैपटक गाजल, लिपस्टिक लगाइदिएर घरमै पनि नचाएका थिए। त्यसरी श्रृङ्गारिनु र नाँच्नु शिशिरका लागि रमाइलै लाग्थ्यो। दिदीहरुसँगको हुर्काइको प्रभाव उनको शारीरिक हाउभाउ, बोलीमा परेको भन्थे आफन्त। हुर्कँदै जाँदा ठीक हुने अड्कलबाजी पनि गर्थे। शिशिर भने यस्ता कुराको भेउ पाउँदैन थिए।
स्कूलमा महिलाको भेषमा नाचेको घटनापछि बुबा निकै कडा बने। उनी बोल्दा भन्थे- 'केटी जसरी नबोल्।' हिँड्दा भन्थे- 'कम्मर नहल्लाइ हिँड्।' अनि शारीरिक व्यायाम गराउथे - 'केटाजस्तो बनाउन।'
पढाईमा राम्रो गर्दा पुरस्कार पनि दिन्थे। शिशिरले माग्ने गुडिया होइन, बल र गाडी पाउथे। बिस्तारै शिशिरको बाल्यकाल खेलौनासँग रमाएर होइन बुबासँग डराएर बित्न थाल्यो।
२०५९ सालमा फोक्सोको समस्याका कारण बुबा बिते। हाँस्न, बोल्न, हिँड्नमै सतर्क हुनुपर्ने अवस्था रहेन। तर, आफै भित्रको डर र अन्यौलता उमेरसँगै हुर्कँदै गयो।
एउटै प्रश्नले नमज्जाले गाँज्यो उनलाई - मैले चाहेको जस्तै व्यवहार दिदीहरुले गर्छन्। उनीहरु 'केटी'। मजस्तै देखिने भाइ छ। उ 'केटा'। स्वभावले दिदीहरुजस्तो तर हेर्दा भाइजस्तो देखिने म चाहिँ 'के त?'
किशोरावस्थामा प्रवेश गरेसँगै उनी केटी साथीहरुको भिडमा मिसिए। केटाहरुसँग बोल्न अप्ठ्यारो लाग्न थाल्यो। केटाको लागि छुट्याइएको ट्वाइलेटमा जानै छोडिदिए। समाजले केटीका लागि जुन नियमहरु निर्धारण गरेको थियो, सोही अनुरुप हिँड्न थाले उनी। तर, घरमा मात्र सीमित अनुत्तरित प्रश्नहरुले स्कूलमा पनि पच्छ्याउँदै आयो।
'किन केटीजस्तो व्यवहार?'
शिशिरसँग जवाफ थिएन। र, चुपचाप सहनुको विकल्प पनि। घरको कोठा मात्र सुरक्षित लाग्थ्यो उनलाई। त्यसैले कम हिँड्थे, बोल्थे - सम्हालिएर। खासमा रमाउन नै छाडिदिए। एक्लै हुँदा ऐनामा हेरेर 'केटाजस्तो' बन्ने अभ्यास नगरेका होइनन्। तर, उनले आफू जे हो त्यसलाई भत्काउन सकेनन्।
कक्षा ८ पुगेपछि मिसले उठाएर केटाहरुको बेन्चमा लगेर राखिदिइन्। ती केटाहरु उनलाई 'हिँजडा' भन्दै जिस्क्याउँथे। साथीहरुको गिज्याइमा लुकेको यथार्थले घोच्थ्यो। तर, तेस्रो लिङ्गीलाई गति छाडा, अलच्छिन मान्थ्यो समाज। अलच्छिनको तक्मा भिर्नु थिएन। त्यसैले आफू तेस्रो लिङ्गी भएको सत्यलाई नकार्न सक्दो कोसिस गरे उनले।
लास्ट बेन्चर केटाहरुसँगको बसाइ भने केही सहज लाग्यो उनलाई। उनीहरुलाई कसैको मतलव थिएन। शिशिर बोल्नु, हिँड्नु, हाँस्नुमा पनि समस्या थिएन उनीहरुलाई। समाज, आफन्त, परिवार र आफैसँगको प्रश्नमा रुमल्लिएका शिशिरलाई उनीहरुजस्तै बेपर्वाह बन्नु थियो।
केही दिनको संगतमै टपक्क टिपे त्यो बेमतलबीको फर्मुला। फर्मुला अर्थात्, नशा। लागू औषधको प्रयोग।
***
प्रिय थियो पहिलो नशा। दिनभर के भयो, कसले के सोध्यो, कसले जिस्क्यायो यादै भएन उनलाई। केटाहरुले व्याख्या गरेजस्तै ‘चङ्गा’ भए। टाउको दुखेको बहानामा कक्षामै निदाए।
सोचेनन्, कुनैदिन नशाको त्यही लतले सुत्न नसक्ने बनाउँछ भन्ने।
‘मलाई थाहा थियो ड्रग्स गलत भन्ने। तर मेरो मानसिक स्थितिका लागि त्योभन्दा हानिकारक बनेका थियो समाज। मलाई तनाव दिइन्थ्यो, सहेर बसेको भए सायद पागल हुन्थें।’
लागू औषधको लतमा फस्न समय लागेन। उनलाई लाग्यो- अब प्रश्न सामना गर्नु पर्दैन। घोचपेच सहनु पर्दैन।
सोचेनन्, प्रश्नसँग भाग्नुले कही पुर्याउँदैन।
पढाई र स्वास्थ्य दुवै एकसाथ बिग्रियो। परिवारले थाहा पाए- उनी लागू औषधको कुलतमा फसेको। त्यसो त परिवारले प्रेम र नम्रताको बाटो चिनेकै थिएन। उसैगरी डोरीले हात खुट्टा बाँधेर कुटे, पटकपटक। जति कुट्थे त्यति नै टुक्रन्थे शिशिर। टुक्रँदा लागेको चोट निको पार्न लागू औषध नै रोजे।
एसएलसी दिएपछि शिशिरलाई कसैले धरानस्थित नील हिरा समाजमा पुर्यायो। त्यहाँ पुग्नुअघि ‘आफू मात्र यस्तो हुँ’ भन्ने लाग्थ्यो उनलाई। फर्कदा ‘मजस्ता धेरै छन्’ भन्ने बुझाइ बोकेर निस्किए।
उनी ढुक्क भए- आफ्नो लैङ्गिकता समस्या होइन भन्नेमा।
परामर्शको प्रभाव गज्जव पर्यो। लागू औषध छोड्ने, पहिचानका लागि लड्ने उत्साह र अठोट लिए।
घरपुग्दा साँझ परेको थियो। आमा र दुवै दिदीहरु सँगै थिए। हत्तपत्त बोल्न छाडेका शिशिर त्यसदिन उनीहरु नजिकै गएर बसे। निकै बेर कोही बोलेनन्, उपेक्षा सहेरै बसिरहे।
त्यो मौनता आफै भङ्ग गर्दै भने, ‘म तेस्रो लिङ्गी हुँ।’
त्यत्रो बेर चुप बसेकी जेठी दिदी ऋतु रिसले चुरिदै बोलिन्- ‘तँ त बहुलाएछस्।’
आमाले सिधैं गालामा झापड लगाउँदै भनिन्- ‘गतिछाडा। बेइज्जत गर्ने भइस्।‘
उनीभित्र अग्लिएको आत्मविश्वास घर पुगेपछि गर्ल्याम गुर्लुम ढल्यो। सबैलाई परिवारको इज्जत गुम्ने डर। शिशिरले भोग्दै आएको अपमान र बेइज्जतीको हिसाब थिएन। रातभर रोइरहे।
त्यस रात पछिका दैनिकी भने नील हिरा समाजमै बित्न थाल्यो। संस्थामै काम पाए। मासिक चार हजार तलब।
फेरि संस्थासँग जोडिनुलाई पनि परिवारको इज्जत विरोधी काम भनियो। तिरस्कार थप चुलियो। आमा र दिदीमात्र होइन काकादेखि फूपुसम्म जम्मा भएर कुट्न थाले। दिनभर लैङ्गिक अल्पसङ्ख्यकको अधिकारको नारा बोलेर फर्कने उनी बेलुकी पारलिङ्गी भएकै कारण यातना सहन बाध्य थिए।
सहन सकेनन्। पुन: लागू औषधको त्यही दलदलमा पुगे।
‘केटाजस्तो भइदिन भन्दा ड्रग्सकै कारण मर्न सजिलो जस्तो लाग्यो।’
लागू औषधकै कारण नील हिरा समाजले उनको सदस्यता खारेज गरिदियो। जागिर रहने कुरै भएन। परिवारबाट पैसा आउन छोड्यो। अनि चोर्न थाले। जुन घरमा सुरक्षित महसुस गर्थे त्यही घर उनीबाट असुरक्षित भयो। पैसा, सुन, चाँदी, मूल्यवान वस्तु केही बाँकी राखेनन्। आमा दराजको चाबी र सर सामान लुकाएर हत्तु भइन्।
कान्छी दिदी रीनाले भने अझै माया दर्साउँथिन्। भलै, प्रत्यक्ष रुपमा उनको पक्षमा बोल्न भने सक्दिन थिइन्।
२०६४, हिउँदको एक बिहान। रीनाले उनलाई सपिङका लागि दमक लैजाने भइन्। भनेकी थिइन्- तँलाई मन परेको लुगा किनिदिन्छु। शर्त थियो, त्यसपछि बद्मासी नगर्ने।
धरानबाट दमक जाने बसमा थिए दुवैजना। पैसा र ड्रग्स दुवैको अभावमा रहेका शिशिरको मनमा एउटै कुरा खेल्यो- लुगाको सट्टा पैसा माग्छु। ‘माल’को लागि पैसा म्यानेज हुन्छ।
दिदीलाई मनाउनु गाह्रो काम थिएन उनका लागि। तर, जब दिदीले साथीको घरमा पस्ने निहुँमा पुनर्स्थापना केन्द्र पुर्याइन् तब छाँगाबाट खसे।
‘कसरी सकेको होला त्यत्रो केटाहरुको भिडमा लगेर छोड्न? केटीहरुको रिह्याब सेन्टर हुन्थ्यो भने केही समस्या थिएन,’ पीडा र आक्रोश मिश्रित आवाजमा सुनियो, ‘मैले भनेकै थिएँ नि केटाहरुसँग अप्ठ्यारो लाग्छ।’
लैङ्गिक अधिकारकै क्षेत्रमा काम गर्ने कान्छी दिदीले पनि आफूलाई नबुझेको देखेर उनको मन निचोरियो।
तीन महिना कट्यो। परिवारले स्वीकार्छ भने ‘क्लिन’ बस्ने निर्णय लिएर फर्किए। तर, घर पुग्दा आमाले बोलेको पहिलो वाक्य सुनाउँछिन् - ‘तीन महिना केटाको भिडमा बस्दा त सुध्रेला कि भनेको अझै पनि केटीकै जस्तो हर्कत गर्छ।’
शिशिर जन्मदै पारलिङ्गी। न आफैलाई बदल्न सक्थे। न बद्लिएको जस्तो गर्न नै। त्यही लैङ्गिता आमाको दु:ख र बेइज्जतीको कारण बनेको थियो। त्यसैले हिँडे घरबाट, मनमौजी जीवन बिताउन।
सडकमा भेटिने ड्रग एडिक्ट साथीहरुले उनलाई कहिल्यै पनि 'हिजडा' भनेनन्। पर राखेनन्। लागू औषधका लागि पैसा ल्याउन सकुन्जेल सुमधुर चल्यो सबै कुरा। तर, बिस्तारै अभाव सुरु भयो।
'एडिक्सन यस्तो अवस्था हो जहाँ ड्रग्सको अभाव छ भने आफ्नै पति पत्नीबाट पनि लुकाइन्छ। ड्रग्सकै लागि जम्मा भएका साथीहरुमा के को दया माया हुनु?,’ उनको अनुभव बोल्यो।
लागू औषध नपाएर रुने, कराउने, छट्पटाउने भयो। पैसाको खोजी सुरु भयो- लुटेर हुन्छ कि चोरेर, या ठगेर नै। अभाव र आवश्यकतामा जस्तोसुकै रिस्क मोल्न तयार भए। त्यस्तैमा योजना बन्यो सिडी पसलमा चोरी गर्ने। कसैले पसलको साहुलाई भुलाउने अरुले सामान ब्यागमा हाल्ने।
योजना अनुरुप गएका पनि हुन्। साहुले सुईंको पाए। झ्याप्पै समातेर पुलिस बोलाए।
जेल गएको पहिलो घटना भने थिएन। पटकपटक समातिन्थे। पुलिसले परिवार बोलाएर जिम्मा लगाउथ्यो।
शिशिरको परिवारले हरेकपटक लगेर रिह्याबमा राखिदिन्थ्यो।
पुनर्स्थापना केन्द्रबाट फर्कदा जोश हुन्थ्यो। घर पुग्दा सुरु हुने मानसिक तनावले उनलाई सडकमै पुर्याउथ्यो।
***
२०६९ सालतिर शिशिर ग्याङ तितर बितर भइसकेको थियो। कसैलाई लागू औषधले मार्यो, कतिलाई ग्याङ फाइटले। कोही रिह्याबबाट फर्किएपछि नशामा फर्किएनन्। कोही विदेशिए।
नाङ्गो पाइताला। मैला लुगा। दुब्लाएर सुकेको शरीर। शिशिर एक सामुदायिक स्कूलको पिंढीमा बस्थे। चिनेको मान्छे देख्दा मागेर खान्थे, त्यही सुत्थे। त्यही अवस्थामा उनको भेट भयो काठमाडौंबाट लागू औषधविरुद्ध सचेतना कार्यक्रम लिएर धरान पुगेकी अभियान्तासँग। काठमाडौंमा महिला लागू औषध प्रयोगकर्ताका लागि पुनर्स्थापना केन्द्र संचालन गर्दै आएकी रहिछिन् उनले।
कसैले उनलाई शिशिरसम्म पुर्यायो।
'उहाँलाई भेट्दा वर्षौपछि आफूलाई सुन्ने मान्छे भेटेकोजस्तो लाग्यो। सबैकुरा सुनाएँ, मेरो लैङ्गिकताको बारेमा पनि। अचम्म त के भयो भने उहाँले मलाई काठमाडौं ल्याउने हुनुभयो। महिलाहरुका लागि खोलिएको पुनर्स्थापना केन्द्रमा राख्ने हुनुभयो।'
धरानबाट हराए शिशिर। थाहा छैन परिवारले उनलाई खोज्यो खोजेन। उनी भने आफैँलाई खोज्न थाले।
यहाँको पुनर्स्थापना केन्द्रमा धेरै दिदी बहिनीहरु थिए। ती उनलाई आफ्ना मान्छेजस्तो लाग्यो। त्यहाँ घुलमिल हुन समय लागेन। न त नशाबाट बाहिरिन नै।
'आफू भएर बाँच्न पाउनुजस्तो खुशी केहीमा पनि नहुँदो रहेछ। त्यो केन्द्रले मेरो पुनर्स्थापना होइन पुनर्जन्म गराइ दियो।'
सेतो टिसर्ट, कालो स्कर्ट र हिल। अनुहारमा मेकअप, नक्कली परेला, सिउँदो काटेर कोरिएको कपाल। महिला पुनर्स्थापना केन्द्रको रिसेप्सनको कुर्सीमा पहिलोपटक बस्दा शिशिरको पुनर्जन्म भयो। र भइन् रीहाना।
संस्थामा आएको तीन महिनामा उनको यात्रा मोडियो।
थोरै लाज, थोरै डर र धेरै स्वतन्त्रताको आड लिएर निस्किएको त्यस दिन उनलाई लाग्यो- अब जहाँ पनि पुग्न सक्छु, जे पनि गर्न सक्छु।
आत्मविश्वास बढ्यो। आफ्नो संस्थाको प्रतिनिधि बनेर कार्यक्रमहरुमा जान थालिन्। हक, अधिकार र समानताका लागि बोल्न थालिन्।
भृकुटीमण्डपमा दिदी रीनासँग भएको भेट त्यस्तै कार्यक्रमले जुराएको थियो। दिदीले उनको उपस्थितिलाई नजरअन्दाज गर्दा रीहानाले महसुस गरिन्- 'आफू परिवर्तन भए पनि समाज परिवर्तन भएको छैन। दिदीलाई मसँग बोल्न त्यही समाजले छेक्यो।'
उनले समयसँगैको परिवर्तन कुरिन्। वर्षौ बित्यो तर समाज बद्लिएन। लैङ्गिक अल्पसङ्ख्यकहरुको लडाई अझै पनि समाजसँगकै भएको बताउँछिन् उनी।
'बस्न, हाँस्न, बोल्न, हिड्न सोच्नुपर्छ। हाम्रो भावनाको त परको कुरा नैसर्गिक अधिकारको समेत सम्मान हुँदैन,' उनले भनिन्।
उनलाई अघि बढ्न बिरामी सोचहरुले किन रोक्थ्यो र? लैङ्गिक अल्पसङ्ख्यकका लागि पुनर्स्थापना र उपचार केन्द्र स्थापनाका लागि प्रयासरत् छिन्। ताकि अस्तित्वको अभावमा आफूलेजस्तै कुलतको बाटो रोज्ने कसैले पटकपटक पुरुष वा महिला रिह्याब सेन्टरबाट अपमानको पोको लिएर फर्कन नपरोस्।
तीन वर्षयता 'कोलिसन अफ ड्रग युजर्स इन नेपाल'मा आवद्ध छिन् उनी। त्यहीँ रहेर नेपाली एलजिबिटिआई समुदायको प्रतिनिधित्व गर्छिन्।
***
एकपछि अर्को कार्यक्रममा कान्छी दिदी रीनासँग भेट हुन थाल्यो। कुराकानी पनि। एउटै शहरमा बस्ने भएपछि सुख, दु:खका कुरा पनि साटे।
तर, आमा र जेठी दिदीसँग भने पूरा सात वर्ष सम्पर्क भएन।
उनी धरान जान्छिन्, पारलिङ्गी अधिकार र लागू औषधविरुद्धको कार्यक्रमहरु लिएर। तर, घर जाँदिनन्। किनकि आमा भन्छिन्- घर आउँदा छोरा भएर आइदे।
पहिले आमाको यस्तो कुरा सुन्दा रिसाउने उनी अहिले भन्छिन्, 'उहाँ सही हो। आफूले जन्माउँदा छोरा थिएँ अहिले कसरी छोरी स्वीकार्नु?'
तर, उनले आमाको ठाउँमा बसेर हेर्न मिल्दैन किनकि उनी आफूजस्ता धेरैको नेतृत्व सम्हाल्ने ठाउँमा छिन्।
चार महिना अघिको कुरा हो, फोनको घण्टी बज्यो। स्क्रिनमा नौलो नम्बर थियो। फोन उठाउँदा कानमा ठोक्किएको आवाजले उनी अचम्ममा परिन्।
'हेलो'को जवाफमा ‘मलाई भेट्न आउँदैनस्?’ भन्ने त्यो आवाज जेठी दिदी ऋतुको थियो।
उनी कान्छी दिदीको कोठातर्फ हान्निइन्। त्यो भेटमा थोरै लाज धेरै खुशी महसुस गरे दुवैले। वर्षौअघि रीहाना पारलिङ्गी भएको बताउँदा ऋतुले भनेकी थिइन्- ‘तँ त बहुलाए छस्।’
सात वर्षपछिको पहिलो भेटमा भाइलाई महिलाको स्वरुपमा देखिन्। हाँस्दै भनिन्, ‘तँ त साँच्चिकै बहुलाए छस्।’
यसपटक दिदीको बोलीमा आक्रोश थिएन।
त्यो भेटपछि उनको मनमा आशा पलाएको छ- दिदी धरान फर्किएर आमालाई सम्झाउँछिन्।
कुनै दिन आमाको आवाज उनको कानमा ठोक्किनेछ- मलाई भेट्न आउँदैनस्?