PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

नेपालको तीन महिने बसाईपछि 'मिस्टर बिन'का छोरा गोर्खा सेनामा आवद्ध



नेपालको तीन महिने बसाईपछि 'मिस्टर बिन'का छोरा गोर्खा सेनामा आवद्ध
फोटो: dailymail.co.uk

'मिस्टर बिन' उपनामबाट चिनिने रोवन एटकिन्सनका छोरा लेफ्टिनेन्ट बेन एटकिन्सन ब्रिटिश गोर्खा आर्मीमा सामेल भएका छन्। बेलायती सेना अन्तर्गत रहेको यस विशेष सुरक्षा दस्तामा सामेल हुन बेनले नेपालमा करिब ३ महिना बिताएका थिए। त्यस क्रममा उनले ब्रिटिश गोर्खामा भर्ती हुन आवश्यक प्रशिक्षण लिनुका साथै स्थानीय भाषा र संस्कृतिबारे बुझेका थिए।

रोवन एटकिन्सन र मेकअप आर्टिस्ट सुनेट्रा शास्त्रीको छोरा बेन बुवा जस्तै देखिन्छन्।

ब्रिटिश गोर्खा युनिटमा सहभागी हुँदा बेनलाई रातो टीका लगाइ स्वागत गरिएको तस्विर सार्वजनिक भएको छ।

गोर्खा ब्रिगेड एसोसिएसनका अनुसार बेनप्रति स्थानीय युवतीहरु निकै आकर्षित भएका थिए। नेपाली भाषामा पकड जमाउन प्रयासरत बेनले नेपाली गीतहरुमा मज्जाले नृत्य गर्ने गरेको बताइएको छ। विशेषगरी नेपथ्यको 'उठ्यो बस्यो' गीतमा राम्रो नृत्यु गर्ने गरेको द सनले जनाएको छ।

बेनले गत वर्ष फ्रान्सका राष्ट्रपति इम्यानयूल माक्रोन र तत्कालिन बेलायती प्रधानमन्त्री थेरेसा मे सहभागी कार्यक्रममा गार्ड अफ अनर प्रदान गर्ने युनिटमा थिए।

गोर्खा सैनिकको इतिहास करिब २०० वर्ष पुरानो रहेको छ। सन् १८१४ मा ब्रिटिस इस्ट इन्डिया कम्पनीले नेपालमाथि आक्रमण गर्दा पराजित हुन पुगेको थियो। कम्पनीका धेरै सैनिक घाइते भएका थिए। पछि दुई राष्ट्रबीच शान्ति सम्झौता भयो ब्रिटिस इस्ट इन्डिया कम्पनीमा 'गोर्खा  ब्रिग्रेड' को स्थान भयो।

भारतको विभाजनसँग सन् १९४७ मा नेपाल, बेलायत र भारतबीच अर्को सम्झौता भयो जस अन्तर्गत ४ वटा  गोर्खा  रेजिमेन्टहरु बेलायतमा स्थान्तरण गरिएको थियो।

करिब दुई लाख सैनिकबाट शुरु भएको गोर्खा सैनिकमा हाल भने करिब ३ हजार ५०० सैनिकमात्र रहेका छन्।

प्रत्येक वर्ष करिब २८ हजार व्यक्तिले  गोर्खा सैनिकमा भर्ती हुन निवेदन दिन्छन्। त्यसमध्ये प्रत्येक वर्ष करिब दुई सय जनामात्रै छनौट हुने गरेका छन्।

हाल  गोर्खा  सैनिकहरु विश्वभर संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति सेनामा कार्यरत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell