PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

क्यानडामा हुन लागेको 'सिने स्टार अवार्ड २०२०' का लागि फिल्म दर्ता आह्वान 



क्यानडामा हुन लागेको 'सिने स्टार अवार्ड २०२०' का लागि फिल्म दर्ता आह्वान 

काठमाडौं : क्यानडामा हुन लागेको पहिलो 'सिने स्टार अवार्ड २०२०' को लागि फिल्म दर्ता आह्वान गरिएको छ। आगामी जनवरीको अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागि फिल्म दर्ता प्रक्रिया सुरु भएको हो।

आयोजक संस्थाले दिएको जानकारी अनुसार वर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरुले यही कात्तिक मसान्तभित्र दर्ता प्रक्रियामा सहभागी हुन सक्नेछन्। 'भ्रमण वर्ष २०२०' लाई लक्षित गरि आयोजना गर्न लागिएको उक्त अवार्डको लागि दर्ता प्रक्रियामा सहभागी हुने फिल्महरुबाट निर्णायक समूहले उत्कृष्ट तीन मनोनयन तय गर्ने आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टका प्रतीक बुढाथोकीले जानकारी दिए।

जनवरी ३१ तारिखमा हुने अवार्डको लागि मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी निर्णायक समूहमा सदस्य छन्। निर्णायक समूहले अवार्डको लागि सहभागी हुने फिल्महरुबाट विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गर्नेछन्। अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह-अभिनेता, सह-अभिनेत्री प्रतिस्पर्धी विधा समावेश छन्। मनोनयन सूची भने मंसिर दोश्रो साता सार्वजनिक हुने आयोजकले बताएको छ।

प्रतिस्पर्धी विधासँगै नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र निर्णायक समूहको तर्फबाट जुरी अवार्डसमेत प्रदान गरिनेछ। हिल्सा इन्टरटेनमेन्ट प्रालि नेपालको मुख्य आयोजनामा हुने अवार्ड जिटिए लायन्स क्लब टोरन्टो क्यानडा र सिने मल्टिभिजन क्यानडाको सहकार्यमा हुँदैछ। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ।

पर्यटन वर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने र सरकारले पर्यटन वर्ष मनाइरहँदा विदेशी भूमिमा आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियानमा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ। दैनिक १ लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्यमध्येको एक ‘नायग्रा फल्समा नेपाली फिल्म र नेपाली पहिचानलाई पुर्‍याउने प्रतिबद्धता पनि आयोजकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell