PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अस्पतालमा आक्रमण गर्नेमाथि कारवाही गर्न चिकित्सक संघको माग, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी



अस्पतालमा आक्रमण गर्नेमाथि कारवाही गर्न चिकित्सक संघको माग, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी

चितवन : नेपाल चिकित्सक संघ चितवन शाखाले चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आरोप लगाउनेलाई कारवाही गर्न माग गरेको छ। संघले जिल्ला प्रशासन कार्यालय चितवनमा आज ज्ञापनपत्र बुझाउँदै दोषीलाई कानूनी कारवाहीको माग गरेको हो।

संघका अध्यक्ष डा प्रकाश खतिवडाले हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा आइतवार चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक माथि लगाइएको आरोपका कारण काम गर्न नसक्ने जनाइएको छ। संघले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६८ तथा नियमावली २०६९ अनुसार दोषीलाई कारवाही गर्नुपर्नेसहित विभिन्न छ बुँदे माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा चितवन मेडिकल कलेजका चिकित्सक, विद्यार्थी माथि भएको सांघातिक आक्रमणमा संलग्नलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिनुपर्ने, अस्पतालमा भएको क्षतिपूर्तिका सम्बन्धमा व्यक्ति वा समूहबाट भराइनुपर्ने, स्वास्थ्य संस्थालाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने लगायतका रहेका छन्। संघले राखेका माग २४ घण्टाभित्र पूरा नभए जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा कृष्ण पौडेल र डा अनिलविक्रम कार्कीले गुण्डागर्दी शैलीमा भएको यस घटनाका दोसीलाई कारवाही गर्न माग गरे। अराजक भीडका कारण स्वस्थ्य क्षेत्रको बद्नाम भएको भन्दै यस्तो कार्य नरोकिए देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्न संघ बाध्य हुने उनीहरुको भनाइ थियो।

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालले चिकित्सकले प्रयत्न गर्दागर्दै पनि मध्यबिन्दु नगरपालिका वडा नम्बर ९ कि ३२ वर्षीया आशा ज्ञवालीको निधन भएको जानकारी दिए। बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरिएको थियो। सो क्रममा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

संघको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले शान्ति सुरक्षाको मत्वपूर्ण क्षेत्र स्वास्थ्य संस्था बनेको बताए। स्वास्थ्य संस्थामा अराजकतावाद मौलाउँदै गएको बताउँदै उनले यस्ता घटनालाई प्रशासनले सुक्ष्म रुपमा हेर्दै आएको भन्दै निर्धक्कताका साथ काम गर्न आग्रह गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell