PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

जुम्रा नियन्त्रण गर्ने पाँच तरिका



जुम्रा नियन्त्रण गर्ने पाँच तरिका
फोटो : liceclinicsoftexas.com ।

कपालमा जुम्रा पर्ने समस्या बालबालिकादेखि बूढापाकासम्म देखिन सक्छ। तर यो समस्या विशेषगरी बालबालिकाहरुमा बढी देखिने गर्छ। जुम्रा परेपछि कपाल चिलाउने समस्या देखिन्छ। नियमित रुपमा कपाल सफा नगर्दा जुम्रा पर्न सक्छ। जुम्राको फुललाई 'लिखा' भन्ने गरिन्छ। जुम्रा सामान्यतयाः देखिँदैन तर लिखा भने कपालमा सजिलै देख्न सकिन्छ।

जुम्रा नियन्त्रण गर्न मानिसहरुले खासै ध्यान दिएको पाइँदैन। यदि समयमा नै ध्यान दिएमा यसको नियन्त्रण सजिलै गर्न सकिन्छ।

तत्काल कदम चाल्ने

मानिसहरुले जुम्रा पर्दाको सुरुवाती चरणमा नै यसको इन्फेस्टेसनको उपचारमा ध्यान नदिने गरेको बताउँछन्, क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल एन्टोमोलोजी सेन्टरका डिरेक्टर इयान बर्गेस।

द हेयर-फोर्स नामक कम्पनीका मालिक डी राइटका अनुसार कपालमा लिखा देखिन थालेलगत्तै नियन्त्रण गर्न कदम चाल्नु पर्छ। उनले भने, 'बच्चाको कपालमा लिखा देखिनेबित्तिकै कपाल कोर्न शुरु गरिहाल्नु पर्छ। जुम्रा पर्ने बेलासम्म कुर्नु हुँदैन।'

सही तरिका अपनाउने

जुम्रा नियन्त्रणको लागि बजारमा पाइने सबै प्रकारका काँइयो प्रभावकारी नहुने बर्गेसले बताए। त्यसको लागि सानो 'ग्याप' भएका काँइयोको प्रयोग गर्नुपर्ने उनको सुझाव छ।

उनी भन्छन्, 'जुम्रा नियन्त्रण तत्काल पाँच दश मिनेटमा हुन सक्दैन। कपालको लम्बाई र बाक्लोपनाको आधारमा नियमित २० देखि ३० मिनेट लगाएर कपाल कोर्नुपर्छ। हामीलाई केही जुम्रा निकालेपछि सकियो भन्न लाग्छ तर वास्तवमा अझै बाँकी रहेका पनि हुन सक्छन्।'

राम्रोसँग कपाल कोर्ने

जुम्रा 'मुभमेन्ट सेन्सिटिभ' अर्थात कपाल छोएपछि लुक्ने प्रवृत्तिका हुन्छन्। कपाललाई खण्ड खण्ड पारेर कोरेमा कुनै खण्ड छुट्ने सम्भावना कम हुन्छ। कपाल यदि लट्टा परेको छ भने पहिला त्यसलाई फुकाउने र कन्डिसनरको प्रयोग गर्न सकिने राइटको सुझाव छ। उनी भन्छन्, 'कपालमा तेल (लुब्रिकेन्ट)को प्रयोग गर्न सकिन्छ। र कपाल कोर्दा बिस्तारै कोर्नुपर्छ।'

केमिकल पेस्टिसाइड्सको प्रयोग नगर्ने

जुम्रा नियन्त्रणमा केमिकल पेस्टिसाइड्सको प्रयोग उपयुक्त नहुने बर्गेसले बताए। धेरै फर्मासिस्ट तथा डाक्टरहरुले केमिकलको प्रयोगमा जोड दिने भए पनि यसको प्रयोग प्रभावकारी नहुने उनले बताए।

लामो समय जुम्राको जाँच गरिरहने

जुम्रा एक पटक परेपछि फेरि पनि देखिन सक्छ। किनकी यसको फुल राम्रोसँग नहटिसकेको पनि हुन सक्छ। त्यसकारण पनि जुम्रा नियन्त्रण भएको केही समयसम्म पनि ध्यान दिइरहनु पर्ने बर्सेले बताए।

उनी भन्छन्, 'हामीले अध्ययन गरेका १ हजार ८९५ जनामध्ये केही मानिसमा जुम्रा नियन्त्रण गरेको हप्ता दिनपछि फेरि देखिएको थियो। लामो भनको १३ दिन पछि पुनः देखिएको थियो।'

जुम्रा नियन्त्रण भइसकेपछि पनि कम्तिमा एक देखि दुई हप्तासम्म कपाल नियमित कोरिरहने तथा सफा गर्नुपर्ने उनले बताए। जुम्रा नियन्त्रणमा सिलिकन भएको स्याम्पु प्रयोग गर्न सकिने उनी बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell