PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रमुख नियुक्तिको विरोधमा त्रिवि जनप्रशासन विभागमा तालाबन्दी 



प्रमुख नियुक्तिको विरोधमा त्रिवि जनप्रशासन विभागमा तालाबन्दी 

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले अनुचित ढंगले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विभागमा तालाबन्दी गरेको छ।

विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै संघको जनप्रशासन क्याम्पस इकाई आन्दोलित भएको हो। त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीन महिने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ। यो नियुक्तिसँगै विद्यार्थीहरु आन्दोलित भएका हुन्।

वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुई वटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनु पर्ने मागसहित तालाबन्दी गरिएको संघको इकाई अध्यक्ष सुदीप श्रेष्ठले जनाएका छन्।

माग पुरा नभए थप आन्दोलनका कार्यक्रम अगाडि बढाइने श्रेष्ठले जानकारी गराए। तालाबन्दीमा स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट तारताम थापाको टोली पनि संलग्न छ।

प्राध्यापकहरु पनि नियुक्तिप्रति असन्तुष्ट छन्। उनीहरुले त्रिविमा नयाँ पदाधिकारी नियुक्तिको केही दिनअघि गरिएको नियुक्ति गलत मनसायबाट गरिएको भन्दै आक्रोश पोखिरहेको एक प्राध्यापकले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell