
काठमाडौं: नेपालको ‘ध्वाँसे चितुवा’ सम्बन्धी प्रस्तावना 'प्रोटेक्ट द क्लाउडेड लियोपार्ड' विश्वकै पहिलो बनेको छ। कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि गरिएको परियोजना मतदानबाट उत्कृष्टमा पर्न सफल भएको हो।
पब्लिक भोटिङमा यो समुहमा कुल खसेको १८८७२ मतमध्ये ८३४२ (४४ %) मत प्राप्त गरेको एसोसिएसनले जनाएको छ।
उत्कृष्ट परेसँगै ‘प्रकृतिका साथीहरू’ संस्थाले करिब ३७ लाख बराबरको अनुदान पाउने भएको छ। त्यो रकम कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि खर्च गरिने र उक्त प्रोजेक्ट विशेष गरी सिक्लेस, ताङतीङ लगायतका गाउँहरुमा सञ्चालित हुने जनाइएको छ।
‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का विज्ञ समूहले मूल्याङ्कन गरेर ‘पहाड तथा वन’ समूह अन्तर्गत यस प्रस्तावनालाई उत्कृष्ट ५ भित्र पारेको थियो।
सो प्रोजेक्टको नेतृत्व नेपालबाट अनुसन्धान र संरक्षण क्षेत्रमा स्थापित यादव घिमिरे र राजु आचार्यले गरिरहेका छन्।
तर वन विनाश, डढेलो, चोरी सिकारी , अवैध व्यापार यी प्रजाति संरक्षणका लागि चुनौतीका रूपमा देखिएकाले यो प्रस्तावना तयार पारेको प्रकृतिका साथीहरुले जनाएको छ।
यो परियोजना सँगै अर्को समुहबाट साना स्तनधारी संरक्षण तथा अनुसन्धान फोउन्डेसनले नेपालको "चन्द्रागिरी देखि चम्पादेवी ट्रेल सफा गरौं" अभियान पनि पहिलो बन्दै अनुदान प्राप्त गर्न सफल भएको छ।