PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पुरानै शैलीमा बन्दै काष्ठमण्डप, पुनर्निर्माणका लागि काठको अभाव



पुरानै शैलीमा बन्दै काष्ठमण्डप, पुनर्निर्माणका लागि काठको अभाव

काठमाडौं: २०७२ सालमा भूकम्पका कारण ध्वस्त भएको काष्ठमण्डपको पुनर्निर्माणको काम भइरहेको छ।

२०७५ साल बैशाख महिनाबाट सुरु भएको काष्ठमण्डप पुनर्निर्माणको कामको बारेमा जानकारी दिने उद्देश्यले मंगलवार सार्वजनिक बहस आयोजना गरियो। काष्ठमण्डप पुनर्निमाण समितिले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष प्रदेश नम्बर ३ का सांसद राजेश शाक्यले हालसम्म काष्ठमण्डप पुनर्निर्माणको कामका बारेमा बताउनुका साथै आर्थिक विवरण पेश गरेका थिए।

उनले हालसम्म काष्ठमण्डप पुनर्निर्माणमा ३ करोड ३६ लाख ८० हजार ६ सय ८२ रुपैया खर्च भएको बताए। काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भइरहेको काष्ठमण्डपका लागि महानगरले पहिलोचरणमा ५ करोड रुपैया सहयोग गरेको थियो। आउने दिनमा महानगरले काष्ठमण्डप पुनर्निर्माण सम्पन्न गर्न थप रकम प्रदान गर्नेमा शाक्यले विश्वास व्यक्त गरे।

शाक्यले पुनर्निर्माणका क्रममा संकलन गरिएका पुरातात्विक वस्तुहरुका बारेमा विभिन्न रिपोर्टहरु बनाइएको जानकारी दिए। समितिले पछि सबै तथ्यांकहरु समेटेर काष्ठमण्डप पुनर्निर्माणका बारेमा किताब प्रकाशन गर्ने तयारी समेत गरिरहेको छ। 

काष्ठमण्डप पुनर्निर्माण समिति अन्तर्गत विज्ञ समितिका सदस्य प्रा डा सुदर्शनराज तिवारीले मौलिक तरिका र पुरानै शैलीमा काष्ठमण्डप पुनर्निर्माण भइरहेको बताउँदै भने,' काष्ठमण्डप पुनर्निर्माणका क्रममा पाँचौं शताब्दीका साथै सातौं र दशौं शताब्दीका काठ समेत प्रयोग भएका छन्। अरु स्थानमा स्टिलको प्रयोग गरेर काम भइरहेको छ। तर यहाँ हामीले बाँसको खट बनाएर काम गरिरहेका छौं।'

भूकम्पपछि बेलायतको डुरहम विश्वविद्यालयका अनुसन्धानकर्ताहरुसँगको सहकार्यमा काष्ठमण्डप उत्खन्न गरिएको बताउँदै उनले उत्खन्नका क्रममा ११–१२ औं  शताब्दीमा बनेको भनिएको काष्ठमण्डप सातौं शताब्दीमै बनेको निष्कर्ष निस्किदा आफूहरु उत्साहित भएको बताए। उनका अनुसार काष्ठमण्डपको जग त त्यो भन्दा पुरानो रहेको अनुसन्धानबाट देखिएको थियो र त्यो जगलाई भूकम्पले पनि खासै असर गरेको छैन। 

पुराना काठसँगै नयाँ काठहरुको प्रयोग गरी पुनर्निर्माणको काम भइरहेको उनले जानकारी दिए। 

सांसद शाक्यले काष्ठमण्डप पुनर्निर्माणमा आर्थिक अभाव नभएको बताउँदै काठको अभावका कारण समस्या रहेको बताए। भने,'प्रदेश २ बाट काठ ल्याउने सहमति भएको थियो। तर संघीयता सँगै त्यसमा धेरै राजनीतिक समस्या आए। प्रदेश २ ले काठ दिनै मानेन। पछि राजपाका नेताहरुसँग कुरा गरेर बल्ल काठहरु काठमाडौं ल्याउन सफल भयौं।'

काठको अभावमा काम रोक्न नसकिने भन्दै उनले अब अरु प्रदेशबाट समेत काठहरु ल्याउनेबारे समितिले प्रयास गरिरहेको बताए। पुनर्निर्माणका लागि हालसम्म  ४ हजार ३८ क्यु फिट काठ आइपुगेको र अझै १२ हजार क्यु फिट भन्दा बढी काठको आवश्यक्ता रहेको बताइएको छ। अहिलेसम्म बनेको संरचनाका लागि करिब ४०० वटा रुखको काठ प्रयोग भएको कार्यक्रममा बताइएको थियो। त्यसैले काठ उपलब्ध गराउने प्रक्रियालाई सहज बनाउन केन्द्र सरकारलाई आग्रह गरिएको शाक्यले बताए। 

कार्यक्रमा बोल्दै हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीले माटोले बनेको संरचना भन्दैमा पुराना सम्पदाहरुलाई कमजोर ठान्न नहुने भन्दै ती प्रविधिहरुलाई गलत भन्न नहुने बताइन्। उनले काष्ठमण्डपको ऐतिहासिक पक्षका बारेमा जानकारी दिएकी थिइन्।

कार्यक्रममा सहभागी व्यक्तिहरुले काष्ठमण्डप निर्माणमा स्थानीयलाई सहभागी गराउन, पुराना काठ,इट्टाको हिसाव राख्नुका साथै नयाँ प्रयोग भएका काठहरुक बारेमा डकुमेन्टेसन गर्न, काष्ठमण्डपमा हुने अमूर्त सम्पदाहरुको संरक्षणमा ध्यान दिन र भविष्यमा काष्ठमण्डपको प्रयोगको बारेमा जिज्ञासा राखेका थिए।

सम्बन्धित समाचार: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell