PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बढ्दैछ 'भेपिङ'का कारण फोक्सोमा हुने समस्या : अमेरिकामा ३३ जनाको मृत्यु, १५ सय जना बिरामी



बढ्दैछ 'भेपिङ'का कारण फोक्सोमा हुने समस्या : अमेरिकामा ३३ जनाको मृत्यु, १५ सय जना बिरामी
फोटो : TechCrunch/Getty Image ।

पछिल्लो समय 'भेपिङ' गर्ने मानिसहरुमा फोक्सोको समस्या बढ्दै गएको छ। अहिलेसम्म अमेरिकामा ३३ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा पहिलो पटक टेनेसी र मोन्टाना राज्यमा भेपिङका कारण मृत्यु भएको रिपोर्ट आएको थियो। त्यसपछि मिनेसोटा र इन्डियानामा थप दुईजनाको मृत्यु भएको खबर आएको थियो।

मिनेसोटा राज्यका स्वास्थ्य अधिकारीहरुका अनुसार त्यहाँ मृत्यु भएका दुई जना ५० वर्षभन्दा बढी उमेर भएका मानिस थिए। मृत्यु भएकामध्ये एक जनाले लिएको भेपमा 'टिएचसी' (गाँजामा हुने तत्व) राखेर सेवन गरेको पाइएको छ। अर्को व्यक्तिको गम्भीर आन्तरिक समस्या हुँदाहुँदै पनि भेपमा निकोटिन तथा अन्य नाम नखुलेका पदार्थ राखेर सेवन गरेको पाइएको थियो।

मोन्टाना राज्यमा लामो समयदेखि भेपिङ गर्दै आएका एक टिनएजरको मृत्यु भएको थियो। टेनेसी र इन्डियाना राज्यमा मृत्यु भएकाहरुको बारेमा विस्तृत जानकारी आएको छैन।

पछिल्लो समय युटामा करिब ३० वर्ष उमेरका एक व्यक्तिको भेपमा टिएचसी राखेर सेवन गर्दा घरमै मृत्यु भएको पाइएको थियो। न्युयोर्कमा एक १७ वर्षीय पुरुषको र जर्जिया राज्यमा निकोटिनसहितको भेपिङ गर्ने एक व्यक्तिको मृत्यु भएको थियो।

सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)का अनुसार अमेरिकामा भेपिङका कारण फोक्सोसम्बन्धी समस्या हुने मानिसहरुको संख्या गत अक्टोबर १७ सम्ममा १ हजार ४ सय ७९ जना पुगेको छ। त्यसको एक हप्ताअघि मात्रै सो संख्या १ हजार २ सय ९९ थियो।

सिडिसीले भनेको छ, 'सो प्रकोप देखिनुमा टिएचसीले महत्वपूर्ण भूमिका खेलेको छ।'

भेपिङ गर्नेमध्ये ७८ प्रतिशत मानिसहरुले टिएचसीको सेवन गर्ने गरेको सिडिसीले बताएको छ। टिएचसी गाँजामा हुने प्रमुख तत्व हो जसको सेवनले लट्ठ पार्ने गर्दछ। यसमा यकिन जानकारी नआइसकेकाले थप अध्ययन आवश्यक रहेको उसले बताएको छ।

सिडिसीले हाल पनि भेपिङको असरबारे आफ्नो अध्ययन जारी राखेको छ। अबको करिब केही महिनामा यसको यकिन जानकारी आउने बताइएको छ। सिडिसी अमेरिकाकी मुख्य उप निर्देशक डा एन सुचतले भनिन्, 'यसको अन्य धेरै र एकभन्दा बढी मुख्य कारणहरु हुन सक्छन्।'

स्वास्थ्य समस्या निम्तिएपछि अमेरिकाका सुपरमार्केटहरुले इ-सिगरेटको बिक्री बन्द गर्ने बताएका छन्। गत सेप्टेम्बर ३० मा टेक्सासको एचइबी सुपरमार्केटले भेप तथा इ-सिगरेटको बिक्री बन्द गरेको बताएको थियो। विश्वकै सबैभन्दा ठूलो खुद्रा बिक्रेता वालमार्टले पनि स्टोरमा स्टक सकिएपछि इ-सिगरेटको बिक्री बन्द गर्ने बताएको थियो।

अमेरिकाका ४९ राज्यमा १ हजार ४ सय ७९ व्यक्तिमा भेपिङका कारण स्वास्थ्य समस्या देखिएको हो। जसमा २४ राज्यमा ३३ जनाको मृत्यु भएको छ। सिडिसीका अनुसार मृत्यु हुनेमा १७ देखि ७५ वर्ष उमेर समूहका मानिसहरु रहेका छन्।

'यी सबै केसमा कुन ब्रान्डका इ-सिगरेटले समस्या देखिएको हो भन्ने खुलेको छैन,' सिडिसीकी मुख्य उप निर्देशक सुचतले भनिन्।

हालसम्म संकलन गरिएका तथ्यांकमा भेपिङ गर्नेमध्ये झन्डै तीन चौथाइ पुरुषहरुमा स्वास्थ्य समस्या देखिएको छ। जसमा आधाजति २५ वर्षमुनिका छन्। स्वास्थ्य समस्या देखिएका मानिसहरुमा खोकी लाग्ने, सास बढ्ने, छाति दुख्ने, वाकवाकी लाग्ने/हुने, पखाला लाग्ने, ज्वरो आउने तथा पेट दुख्ने लक्षण देखिएको सुचतले बताइन्। बिरामी भएकाहरुले एकभन्दा बढी ब्रान्डको प्रयोग गरेको हुन सक्ने र केही बिरामी गम्भीर रहेकाले उनीहरुले जानकारी दिने अवस्थामा नरहेको उनले बताइन्।

भेपिङले स्वास्थ्य समस्या निम्त्याइरहेको अवस्थामा पनि मिडियाहरुले भने यसको विज्ञापन रोकेका छैनन्। जसमा सिएनएन, सिबिएस, वार्नर मिडिया तथा भायाकम मुख्य रहेका छन्। सिएनएनले यसअघि नै इ-सिगरेटको विज्ञापन प्रसारण नगर्ने बताएको थियो। मासाचुसेट्स राज्यले भने इ-सिगरेटमा अस्थायी रुपमा प्रतिबन्ध लगाइसकेको छ। न्युयोर्क, रोड आइल्यान्ड तथा वासिङटन लगायतका राज्यहरुले सबै प्रकारका स्वादयुक्त इ-सिगरेटमा अस्थायी प्रतिबन्ध लगाएका छन्। युटाले पनि इ-सिगरेटमा आंशिक प्रतिबन्ध लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell