PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, दुई अर्ब ६० करोड लागत अनुमान



यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, दुई अर्ब ६० करोड लागत अनुमान
फोटो : रासस।

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ। सो खाकामा थपघटका लागि सुझाव लिन आज यहाँ अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

सो अवसरमा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्चर्स प्रालिले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो। सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमूना तयार गरेको छ। रंगशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ। भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रंगशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ।

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रंगशाला निर्माण गरिँदै छ। डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ।

छलफल कार्यक्रममा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टसका प्रबन्ध निर्देशक शेरबहादुर केसीले भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी यो प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिए। विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रंगशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डिपिआरको नमूना तयार भएको जनाएको छ। कार्यक्रममा सहभागीले आ–आफ्नो सुझाव दिएका थिए।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महिनाभित्रमा रंगशाला तयार हुने बताए। पछिल्ला दिनमा जिल्लामा भएका घटनाका कारण वातावरण त्यती सहज नभएको भन्दै उनले जिल्लाबासी लागेमा काम सम्पन्न गर्न कठिन नहुने बताए।

परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रंगशाला तयार गर्न दुई अर्ब ६० करोड रुपैयाँ हाराहारी खर्च हुने जनाइएको छ। कट्टेलले रंगशालाका लागि बोलकबोलको रकम सात करोडमध्ये एक करोड रुपैयाँ र नबोलीकनै सोझै दुई करोड रुपैयाँ संकलन भएको जानकारी दिए। डिपिआरका लागि हालसम्म दुई करोड रुपैयाँ भुक्तानी गरेको कूल रकमको टुङ्गो लगाएर भुक्तानी गर्न बाँकी रहेको उनले बताए।

छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताइन्।

सो अवसरमा निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमाकान्त कँडेलले फाउण्डेसनलाई १० लाख एक हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। यसअघि रंगशालाको बार स्थानीयले भत्काएपछि केही महिना काम रोकिएको थियो। हाल रंगशाला निर्माण स्थलमा दुबो र माटो तयार गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell