PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

उपनिर्वाचनका लागि कात्तिक ८ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने



उपनिर्वाचनका लागि कात्तिक ८ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक ८ गतेबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरोकारवाला निकाय एवम् व्यक्तिले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता, २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ कात्तिक ८ गते शुक्रबारबाट लागू हुनेछ।

त्यस्तै आयोगले नीतिगत निर्णय गरी थप प्रावधानहरू उपनिर्वाचनका लागि लागू गर्न र आवश्यक नदेखिएका निर्वाचन आचार संहिता, २०७२ का दफाहरू दफा ५ खण्ड (ख) को १(क), दफा ५ खण्ड १(ख) को ३(क) हाललाई स्थगन गर्ने निर्णय समेत गरेको छ।

यस्तो छ आचार संहिता लागू हुने विषय, अवधि र क्षेत्र :

१. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हकमा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने जिल्ला, प्रदेश सभा सदस्यको निर्वाचन हुने जिल्ला र स्थानीय तह सदस्यको निर्वाचन हुने स्थानीय तहमा मिति २०७६।७।८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म प्रचार प्रसारमा संलग्न नहुने, नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सृजना, विज्ञापन, सुविधा बृद्धि र पुरस्कार दिन नहुने, सरुवा, बढुवा गर्न वा काज खटाउन नहुने, तटस्थ र निष्षक्ष रहनु पर्ने, विदेश भ्रमणमा जान नहुने र निर्वाचन सम्बन्धी जिम्मेवारी दिन नहुने सम्बन्धी विषयहरू लागू गरिएको छ।

२. राजनीतिक दलको हकमा मिति २०७६।७।८ गतेबाट निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म सामान्य आचरण र विषयगत आचरणका विषयहरू लागू गरिएको छ।

३. उम्मेद्वारको हकमा निर्वाचनको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म सामान्य आचरण र विषयगत आचरण अन्तर्गत जुलस, आमसभा, र्‍याली, बैठक, भेला गर्दा पालना गर्नुपर्ने आचरण, सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, प्रचार-प्रसारमा सञ्चार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण, निर्वाचन खर्च सम्बन्धी आचरण, मौन अवधिमा पालना गर्नुपर्ने आचरण, मतदानको दिन पालना गर्नुपर्ने आचरण र अन्य आचरण सम्बन्धी विषयहरू लागू गरिएको छ।

४. आम सञ्चारका माध्यम निजी तथा गैर सरकारी संस्था तथा पर्यवेक्षकका हकमा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरेको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म आमसञ्चारका माध्यमले पालना गर्नुपर्ने आचरण, निजी तथा गैरसरकारी संस्थाले पालना गर्नुपर्ने आचरण र पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण सम्बन्धी विषयहरू लागू गरिएको छ।

५. कर्मचारी सम्बन्धी आचरणका सम्बन्धमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यको उपनिर्वाचन हुने जिल्लामा र स्थानीय तहको उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहका कर्मचारीको सम्बन्धमा मात्र लागू हुनेछ।

तर लोक सेवा आयोग, न्याय सेवा आयोग, शिक्षा सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा नेपाली सेनाद्वारा नियमित रूपमा हुने पदपूर्ति सम्बन्धी कारवाही गर्न वाधा पर्ने छैन। प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्य उपनिर्वाचन हुने स्थानीय तहको हकमा मात्र लागू हुनेछ। 

६. निर्वाचन प्रचार प्रसारको सम्बन्धमा प्रचार प्रसारको क्रममा मोटर तथा सवारी साधनको प्रयोग गरी र्‍याली गर्न पाइने छैन।

उल्लेखित उपनिर्वाचनमा आचार संहिता कार्यान्वयन तथा अनुगमन गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ मा व्यवस्था भए अनुसार प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्य उपनिर्वाचन केन्द्रीय आचार संहिता समितिले अनुगमन तथा कार्यान्वयन गर्नेछ।

आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्नको लागि आचारसंहिताले मद्दत गर्ने अपेक्षा राखिएको बताएको छ।

मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell