PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपाल भाषामा पद्मरत्न तुलाधरको राजनीतिक गाथा



नेपाल भाषामा पद्मरत्न तुलाधरको राजनीतिक गाथा

काठमाडौँ: वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको देहवसान भएको एक वर्ष पूरा भयो। सोही अवसरमा उनको राजनीतिक र सामाजिक जीवन गाथा समेटिएको पुस्तक सार्वजनिक भएको छ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार सुरेश किरण मानन्धरद्वारा लिखित पुस्तक 'पद्मरत्न तुलाधर' सार्वजनिक भएको हो।

जनकवि दुर्गालाल श्रेष्ठ र तुलाधरकी श्रीमती निलशोभा तुलाधरले किताब बिमोचन गरे। 

७७ वर्षको उमेरमा गत वर्ष पद्मरत्नको निधन भएको थियो। 

सशस्त्र द्वन्दको बेला सरकार र माओवादीबीच भएको वार्तामा दुईपटक मध्यस्थता गरेका तुलाधरको राजनीतिक यात्राबारे किताबमा उल्लेख भएको लेखक मानन्धरले बताए। यस्तै, तुलाधरले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा मान्यता दिन सुरु गरेको न्हूदँ आन्दोलन, जनजाति आन्दोलन, मानव अधिकारको क्षेत्रमा गरेको कामको बारेमा उल्लेख भएको छ।

तुलाधर जीवित छँदा नै उनको राजनीतिक यात्राको बारेमा जनतालाई सुचिकृत गराउनुपर्छ भनेर उनीसँग नै प्रत्‍यक्ष रुपमा कुराकानी गरिएको थियो। तुलाधरको जंकुको अवसरमा किताब प्रकाशन गर्ने उद्देश्यका साथ सुरु भएको सो कार्यले हालमात्रै पूर्णता पाएको हो।

पञ्चायतकालमा २०४३ सालमा 'जनपक्षीय' उम्मेदवारका रुपमा सूर्य चिह्न लिई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर 'विद्रोह' गरेर चर्चामा आएका थिए।

यस्तै कयौं कथाहरु समेटिएको तुलाधरको जीवनी हाललाई नेपालभाषामा मात्रै प्रकाशित भएको हो। विस्तारै नेपाली र अंग्रेजी भाषामा समेत प्रकाशित गर्ने योजना रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा नेवा: अगुवा मल्ल के सुन्दरले यो किताबलाई उत्पीडित वर्गको आन्दोलनको कथा समेटिएको गीताको संज्ञा दिए। भने, 'पद्मरत्न व्यक्ति मात्रै थिएनन्, उनी एउटा विचार हुन्। जुन अमर रहिरहेनछ। हामीले बाटो बिराएको बेलामा यही गीता हेरेर मूल्यांकन गर्ने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell