PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कुकुरहरुको कानको टुप्पोमा 'भि' आकार देख्नु भएको छ? कसले र किन बनाइरहेछन् यस्तो?

कुकुरहरुको कानको टुप्पोमा 'भि' आकार देख्नु भएको छ? कसले र किन बनाइरहेछन् यस्तो?

स्वेच्छा राउत/पहिलोपोस्ट


हरेक बिहान सात बजे काठमाडौं महानगरपालिकाको टेकु कार्यालयबाट दुईवटा सेतो गाडी निस्कन्छ। निख्खार सेतो गाडीमा गाढा निलो रङले लेखिएको छ - मनु मित्र।

यहाँबाट निस्किएका दुवै गाडी महानगर भित्रकै कुनै टोलमा पुगेर रोकिन्छन्। गाडीबाट नीलो पाइन्ट, नीलै टिसर्ट लगाएका मानिसहरु निस्कन्छन्, दुवै गाडीबाट दुईदुई जना गरी चार। वडा कार्यालय परिसरमा भेला पारिएका सडकमा भेटिने कुकुरहरु गाडीमा राख्छन् र फेरि फर्किन्छन् - जहाँबाट बिहान निस्किएका थिए।

टेकु पुगेपछि उनीसँगै ल्याइएका कुकुरहरुलाई रेबिजको सुई लगाइन्छ। अनि बन्ध्याकरण पनि। काठमाडौं महानगरपालिकाको यस्तो कामलाई नाम दिइएको छ - सामुदायिक कुकुर व्यवस्थापन कार्यक्रम। तीन वर्ष भयो हरेक दिन यसैगरी काम हुने गर्छ।

***

पशु संरक्षण र व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको संस्था द जेन गुडअलले सन् २०१६ मा एउटा सर्वेक्षण गर्‍यो जसले काठमाडौं महानगरपालिका भित्र मात्र २२ हजार 'सामुदायिक कुकुर' रहेको देखायो। सडकमा छाडिएका ती कुकुरहरुको सङ्ख्या बढ्दै गएमा सरुवा रोग बढ्ने, वातावरणमा असर पर्ने, दुर्घटना बढ्ने लगायत चुनौतीहरु पनि थपिँदै जाने देखिए।

कुकुरहरुकै कारण निम्तिनसक्ने भयावह अवस्थालाई मध्यनजर गर्दै संस्थाले काठमाडौंका विभिन्न ठाउँहरुमा शिविर तथा सार्वजनिक कार्यक्रमहरु आयोजना गर्‍यो। मानिसलाई कुकुर व्यवस्थापन र उचित रेखदेखका पाठ पढाउनु भन्दा ती विषयसँग सम्बन्धित समस्याहरु सुन्नुलाई मुख्य उद्देश्य बनाएर।

संस्थाले विभिन्न ठाउँमा पुगेर स्थानीयलाई सोधे- 'यसरी कुकुर बढ्नुको कारण के होला? कसरी व्यवस्थापन गर्न सकिन्छ?

सबैको औंला सोझियो एनजिओतर्फ नै। भने - 'पैसा लिन्छन् तर व्यवस्थापनको काम गर्दैनन्।'

पशु संरक्षण, व्यवस्थापन र पशु अधिकारकै लागि वर्षौदेखि काम गर्दै आएका द जेन गुडअलका निर्देशक मनोज गौतमका लागि त्यो जवाफ भने नौलो थिएन। उनी आफैँले पनि महसुस गर्दै आएका थिए, त्यो।

मनोज

'हामी एनजिओकर्मीले प्वाल परेको डुंगाबाट पानी निकालिरह्‍यौं तर प्वाल कहाँ परेको छ भनेर पहिल्याउने र टाल्ने पहल गरेनौं। हाम्रो काम गर्ने तरिका ठीक बाटोमा थिएन। आम मानिसले प्रश्न गर्नु स्वभाविक थियो,' मनोजले सुनाए, 'हामी तरिका फेर्न तयार थियौं।'

तर, मनोज र उनको टोलीले मात्र तरिका फेर्दा समस्याको समाधान सम्भव थिएन। समुदाय र स्थानीय निकाय पनि उत्तिकै जिम्मेवार थिए। दुवै पक्षलाई त्यसको वोध गराउने चुनौतीसहित कुकुर व्यवस्थापनको अर्को ढाँचा तयार गरे।

***

द जेन गुडअल २०७३ सालको सुरुवातमै काठमाडौं महानगरपालिमा एउटा प्रस्ताव लिएर गयो - शहरका सामुदायिक कुकुर व्यवस्थापनका लागि मिलेर काम गर्ने। र, त्यसमा समुदायका मानिसहरुलाई पनि प्रत्यक्ष सहभागी बनाउने।

संस्थाको योजना मुलत: ती कुकुरको बन्द्याकरणमा केन्द्रित थियो। सर्वेक्षणमा देखिएका २२ हजार कुकुरको क्रमवद्ध बन्द्याकरण। पहिलो वर्ष सम्पूर्ण खर्च संस्थाले व्यहोर्ने, दोस्रो वर्ष संस्था र महानगरले आधाआधा र तेस्रो वर्ष २० प्रतिशत् खर्च संस्थाले र बाँकी ८० प्रतिशत् महानगरले व्यहोर्ने।

केही दिनको नियमित छलफल र अध्ययनपछि महानगरपालिका प्रमुख राजी भए सहकार्यमा। यो वृहत परियोजनाको नाम रह्यो-महानगर सामुदायिक कुकुर व्यवस्थापन, मनु मित्र। मनु अर्थात् मान्छे र मित्र अर्थात् साथी - मानिसका साथी।

जेन गुडअलले आवश्यक जनशक्तिको व्यवस्थापन गर्‍यो। बन्द्याकरणका लागि क्लिनिक खोल्ने ठाउँ महानगररले उपलब्ध गरायो। अनि २०७३ असोजबाटै काम सुरु भयो। काम थाल्न महानगर भित्रका ३५ वटा वडाहरुलाई ८ क्षेत्रमा विभाजन गरियो। हरेक क्षेत्रमा पाँचदेखि सातवटा वडा समावेश भए। महानगर तयार हुनु समुदायका मानिस तयार हुनु थिएन। त्यसैले महानगरकै समन्वयमा हरेक वडामा ११ जनाको समिति गठन गर्ने, ती समितिले समुदाय र मनु मित्रका सदस्यहरुबीच सहजिकरण गर्न थाले।

सुरुवात वडा नम्बर २० बाट भयो। ठूलो अनि नेपाल भाषीको बाहुल्यता रहेको वडा। मनु मित्रको टोलीलाई लागेको थियो- परियोजनाबारे बुझाउन गाह्रो हुन्छ। तर, त्यसो भएन। कुकुर उठाउनुपूर्व वडा कार्यालयको सहकार्यमा गठित समितिले नेवारी बाजा गाजासहित कार्यक्रम आयोजना गर्‍यो। मनु मित्रबारे जानकारी दिइयो। कुकुर लिन आउने टोलीलाई सहयोगका लागि आग्रहसहित पर्चा बाडियो।

सहयोग- चोक र टोलहरुमा डुलि हिँड्ने कुकुर 'ए काले', 'ए सेते' भनेर बोलाइदिने, नजिक राखिदिने, कुकुर गाडीमा हाल्न सहयोग गर्ने आदिआदि।

पहिले कुकुरलाई छाडा नछोड्नुस्, नकुट्नुस्, जथाभावी दिसा, पिसाब गर्न नदिनुस् भन्दा जाइलाग्नेहरु पनि सहयोगका लागि अघि सरेपछि शिविर उपलब्धीपूर्ण रह्यो।

'स्थानीयबासीको सहभागिता साँच्चै उत्साहजनक रह्यो। कुरा बुझाउन सकियो भने गाह्रो काम होइन भन्ने महसुस गर्‍यौं,' मनु मित्रको समुदाय व्यवस्थापक वसन्त गौतमले भने।

वसन्त

सोही अनुरुप एकपछि अर्को क्षेत्र र वडामा काम भयो। पहिले वडा कार्यालयमा स्थानीयसहितको समिति गठन। त्यसपछि मनु मित्रबारे जानकारीमुलक शिविर र कुकुर बन्द्याकरण। नियमित काम गर्दैजाँदा हालसम्म २७ वडाका कुकुरहरुको बन्द्याकरण भइसकेको छ। र, हरेक ६ महिनामा कामको प्रभाव र कुकुरको सङ्ख्याको सर्वेक्षण हुँदै आएको छ। बाँकी पाँच वडाको काम आगामी ४ महिनाभित्र सक्ने लक्ष्य राखेको छ मनु मित्रले।

कसरी हुन्छ काम?

हरेक साता आइतबारदेखि बिहीबारसम्म दुईवटा गाडी तोकिएको क्षेत्रमा कुकुर बोक्न पुग्छ। दुवै गाडीमा दुई/दुईजना पशु कल्याण अधिकारी हुन्छन्। उनीहरु निर्देशित क्षेत्रमा पुग्छन्। त्यहाँ सहयोगका लागि तयार हुन्छन् वडाको समिति सदस्य र स्वयम् सेवकहरु। सबै मिलेर वरपर खुला छाडिएका, सडकमा बस्ने, जे भेट्यो त्यही खाने कुकुरहरु बोलाउँदै गाडीमा हाल्छन्।

बिहान ९ बजेसम्म कुकुर जम्मा गरिन्छ। प्रत्येक गाडीमा कम्तिमा बीसवटा कुकुर राखिन्छ र टेकुस्थित मनु मित्रको क्लिनिकमा पुर्‍याइन्छ। त्यहाँ पुराएको तीनदेखि चार घण्टासम्म प्रत्येक कुकुरलाई होल्डिङ प्यानलमा राखिन्‍छ। मनु मित्रका भेट्नरी सर्जन विकास श्रेष्ठका अनुसार होल्डिङ प्यानलमा राख्नुको कारण कुकुरहरुको शारीरिक, मानसिक अवस्था सामान्य बनाउनु हो। 'पहिलोपटक गाडी चड्दा कामिरहेका हुन्छन्, र्‍याल सर्वाधिक बग्छ, प्रेसर पनि बढेको हुन्छ। त्यो सबै कम गर्न होल्ड गर्ने हो,' श्रेष्ठले जानकारी दिए।

विकास

त्यसपछि कुकुरहरुको तौल मापन गरिन्छ। तौल अनुरुप लठ्याउने औषधी दिएपछि एकएक गर्दै तयारी कक्षमा राखिन्छ। त्यहाँ पशु कल्याण अधिकारीले एन्टी बायोटिक र पेन किलर दिन्छन्। त्यहाँ ल्याइएका हरेक कुकुरलाई रेबिजको भ्याक्सिन लगाइन्छ। र, अपरेसनका लागि तयार कुकुर पहिचानका लागि कानको टुप्पो 'भि' सेपमा काटिन्छ। त्यसपछि बन्द्याकरण हुन्छ।

मनु मित्रमा सर्जरीका लागि तीन डाक्टर छन्। डाक्टर प्रवीण थापाको नेतृत्वमा विकास श्रेष्ठ र श्रृजन थापा। उनीहरुले पालैपालो दैनिक ४० देखि ५० वटासम्म कुकुरहरुको बन्द्याकरण गर्दै आएका छन्।

बन्द्याकरण पछि कुकुर राम्ररी नउठेसम्म पल्स, हार्ट बिट र प्रेसर जाँच्ने काम हुन्छ। शल्यक्रियाको करिब ४५ मिनेटदेखि १ घण्टामा उठ्न सक्ने हुन्छन् कुकुरहरु। शल्यक्रिया गरेको रात सबै कुकुरलाई क्लिनिकमै राखिन्छ। भोलिपल्ट बिहान खाना ख्वाइन्छ। र, कुकुर मनु मित्रको गाडीमा राखेर लगिन्छ जहाँबाट उठाइएको हो, त्यही। वडाका कुकुर व्यवस्थापन समिति सदस्य वा स्वयम् सेवकको जिम्मा लगाइन्छ। कुनै कुकुरको टाँका फुस्केको, अस्वस्थ देखिएको, रगत बगेको खण्डमा पुन: मनु मित्रमा खबर गरिन्छ र आवश्यक उपचार गरिन्छ।

सर्जरी हुन नसक्ने शारीरिक, मानसिक अवस्थामा रहेका कुकुरहरुलाई क्लिनिकमै राखिएको हुन्छ। केही दिनको निरीक्षण र आवश्यक उपचार पछिमात्र बन्द्याकरण गराइन्छ। सम्भव नभएको खण्डमा भने शल्यक्रिया गरिँदैन।

***

सुरुवाती दिनमा मनु मित्रको एउटामात्र गाडी थियो। हाल नगरपालिकाले अर्को एउटा गाडी थपेको छ। जसका कारण पहिले दैनिक २० देखि २५ वटा मात्र कुकुरको बन्द्याकरण हुन्थ्यो भने हाल दैनिक पचासको सङ्ख्यामा भइरहेको छ। र, कामको गति पनि बढेको छ। समुदाय व्यवस्थापक वसन्त गौतमका अनुसार अब बिरामी भएका, बुढो भएका र बन्द्याकरण गरिसकेका कुकुर बाहेक बाँकी १४ हजार छन्। तीनको बन्द्याकरण पछि परियोजनाको पहिलो चरण सकिन्छ।

त्यसपछि के?

'महानगरसँगको सल्लाह सहमति अनुरुप काम अघि बढ्छ। केही समय हामीले नै निरन्तरता दिने या परियोजना र ढाँचा उहाँहरुलाई हस्तान्तरण गर्ने त्‍यसपछि थाहा हुन्छ। यसको मतलव महानगरको काम हामीले गरिरहन्छौं भन्ने होइन। हाम्रो ढाँचामा काम गर्न सक्ने, समुदायसँग सम्बन्ध बनाइ राख्न सक्ने र जिम्मेवारी वोध गर्न सक्ने जनशक्ति उत्पादन गर्न मिल्यो,' मनोज भन्छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मनु मित्र योजनालाई लिएर सकारात्मक छन्। उनले केही समयअघि राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कामपाले मनु मित्रको प्रगति विवरण पेश गरेको थियो। कुनै पनि परियोजना गैर सरकारी संस्थाहरुको जिम्मामा नदिएको भक्तपुर उप- महानगरपालिकाले कुकुरको सङ्ख्या वृद्धि नियन्त्रणका लागि कुनै संस्थासँग समन्वयन गर्ने बतायो।

मनोज भन्छन्, 'एकातिर सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण भइरहेको छ र अर्कोतिर कामको प्रभाव देखिइरहेको छ। हामी केही हदमा सफल भएका छौं। महानगर सकारात्मक भएको खण्डमा यो योजनालाई वरपरका नगरपालिकामा बिस्तार गर्न चाहन्छौं। तर, नगरपालिकाकै जिम्मेवारीमा। किनकि नगरपालिका सधैंको जिम्मेवार निकाय हो। हामीसँग त भोलि फन्ड नहुन पनि सक्छ अथवा एनजिओ नै नरहन पनि सक्छ।'

***

आजकाल बन्द्याकरण पूर्ण भइसकेका ठाउँमा कानको टुप्पो 'भि' आकारमा नकाटिएको कुकुर देखिए मनु मित्र समूहलाई फोन आउँछ। काम सकिएको क्षेत्रमा भेटिएका त्यस्ता कुकुरको बन्द्याकरण भने शुक्रबार हुन्छ। काम सुरु नै नभएका वडाका वडा अध्यक्षदेखि सदस्यहरु फोन गर्छन् र भन्छन्, 'हाम्रोतिर कहिले हो पालो?'

कानमा हेर्नुस् : भी आकार

कतै मानसिक सन्तुलन गुमाएको, अस्वस्थ, दुर्घटनामा परेको कुकुरहरु देखिए मनु मित्रलाई बोलाउनु पर्छ भन्ने बुझाइ पनि स्थापित भएको छ। मनु मित्र समूहले काम गरिसकेको क्षेत्रमा सडकमा छाडिएका बाहेक घर भित्र पनि रहने र बाहिर पनि डुल्ने कुकुरहरुलाई सीमित क्षेत्रमा दिसा पिसाब गराउने चेत बढेको छ। कुकुरलाई शारीरिक यातना दिनु हुन्न भन्ने संदेश प्रवाह भएको छ। र, बन्द्याकरण गराउँदाका सकारात्‍मक प्रभावबारे कुरा हुन थालेको छ। सुरुमा कुकुरको लागि यत्रो पैसा खर्च गर्ने? भन्नेहरु अहिले तारिफ गर्छन्।

मनु मित्र समूहले महानगरपालिकासँग मिलेर घरपालुवा कुकुरहरुको दर्ता, बन्द्याकरण र रेबिजको सुईं अनिवार्य गराउनु पर्ने नीति पनि बनाइरहेको छ।

कुकर लैजान साथ दिनेहरु बढेका छन् अहिले।
गाडीमा कुकुरको सवारी
अनि यहाँ चाहिँ कुकुरको अवस्थाको अनुगमन। यसपछि मात्र थप प्रकृया अगाडि बढ्छ।
लठ्याइएको हालतमा कुकुरहरु।
कुकुरको बन्द्याकरण गरिँदै।
जारी छ उपचार।
तगडा भएपछि फेरि गाडीबाटै पुरानै ठाउँतिर लगिँदै कुकुरहरु।
अब चाहिँ आफ्नै टोलमा पुगे कुकुर।
गाडीबाट बाहिरिँदै कुकुर।


ट्रेन्डिङ पोस्ट

Ncell