
- राजु आचार्य -
सबैभन्दा बढी मालिक भक्त र इमानदार पहरेदारको रूपमा कुकुरको चर्चा विश्वभरि हुने गरेको छ। सँगसँगै कुकुर शब्द हेपाहा र उपेक्षित शब्दको रूपमा पनि प्रयोग गरिन्छ। नेपाली समाजमा गाली गर्ने बेलामा यो शब्दको प्रयोग अत्यधिक हुने गर्छ। घरको सुरक्षा, गोठको सुरक्षा, मानिसको एकान्तको साथी, वन्यजन्तुको सिकार आदिमा यिनीहरूको प्रयोग हुने गरेको छ।
यस्ता सहयोगी कुकुरहरू मानिसले जङ्गली अवस्थाबाट पाल्न सुरु गरेका थिए। करिब ११ देखि १६ हजार वर्ष अघि सिकार प्रयोजनको लागि मानिसले कुकुरलाई घरमा पालना थालेको अनुमान गरिएको छ। यिनको पुर्खा ब्वाँसोलाई मानिन्छ। यहि नै पहिलो वन्यजन्तु थियो जसलाई मानिसले पहिलोपटक पाल्न थालेका थिए। हजारौँ वर्षदेखि हाम्रो सुख-दुखमा साथ दिने कुकुरलाई अरूले के गर्छन् कुन्नि तर हामी कम्तीमा वर्षमा एक पटक यिनको पूजा गरेर यिनको गुण तिर्ने प्रयास गर्छौँ।
यमपञ्चकको दोस्रो दिन यिनको पूजा गरिन्छ। कुकुरलाई यमदूतको प्रतीक मानिन्छ। यिनको पूजा गर्दा यमराज पनि खुसी हुन्छन् र मरेपछि नर्क जानु पर्दैन भन्ने विश्वास गरिन्छ। संसार भरी ३४० प्रकारका हाइब्रिड कुकुरहरू विकास तथा पहिचान गरिएको छ।
कुकुरको काम के के?
• युद्धमा यिनको प्रयोग बिछ्याइएको बम र बारुद पत्ता लगाउन गरिन्छl यस्तो काममा यिनको प्रयोग ९८% सफल भएको पाइएको छ।
• बिरामी, तनावमा रहेका मानिसको उपचारमा समेत ‘डग थेरापी’ भनेर यिनको प्रयोग गरिन्छ। मानिसको नजिक बसेर मानिसको उपचारमा मनोवैज्ञानिक रूपमा कुकुरले सहयोग गर्छन्। यसका लागि विशेष कुकुरका प्रजातिहरू आवश्यक हुन्छन्। • गोठहरुमा रहेका भेडा, बाख्रा, गाईबस्तुलाई चराउने, आफूखुसी कतै जना नदिने, हिंस्रक वन्यजन्तुबाट जोगाउने गर्छ। नेपालका पनि हिमाली भेगमा ‘भोटे कुकुर’ले यो काम गर्दछन्l यिनको प्रयोग वन्यजन्तुको सिकारमा पनि गरिन्छ।
• कुकुरहरू नाटक, चलचित्र, अन्य अभिनयमा समेत प्रयोग गरिन्छ।
• यिनको सुँघ्ने क्षमता असाध्यै राम्रो हुन्छ। भूकम्प वा त्यस्तै बिपतमा परेको बेलामा पुरिएका मनिसहरुको अवस्था पत्ता लगाउन यिनको प्रयोग गरिन्छ। अपराधीहरू पत्ता लगाउन पनि यिनको प्रयोग गरिन्छ। नेपाल प्रहरीले पनि आफ्नो अनुसन्धानको लागि कुकुरको प्रयोग गर्ने गरेको छ।