Mar 29, 2024 | १६ चैत्र २०८०

लक्ष्मीको बास नभएको देवकोटाको घर : 'नगद'कै किचलोमा एक वर्षसम्म केही भएन काम

कुञ्जरमणि भट्टराई/पहिलोपोस्ट

मैतिदेवी मन्दिरबाट मैतिदेवी चोक जानेतर्फ। पचास मिटर जति अघि हिँडेपछि दायाँतर्फ जोडिन्छ शास्त्रीमार्ग। त्यो मार्गलाई सिधा पच्छ्याउँदा पुगिन्छ ताल्चा लगाइए गेटको कम्पाउन्डसम्म।

कम्पाउन्डका पर्खालमा घाँस पलाएका छन्। खिया लागेको टिनको गेट। गेटमा झुन्डिएको ताला। कम्पाउन्ड भित्र पाको इट्टामा काँचो माटोले बनेको पुरानो तीन तले घर। घर पनि गेटमा झुण्डाइएको ताला जस्तै, थोत्रिएको।

२०७२ सालको भूकम्पले समेत बचाएको घरको तला उक्लने भर्‍याङ भने भाँचिएको छ। घरको छानोमा पनि झार उम्रिएको छ। पिंढी र आँगनमा मिल्काइएका काठहरु पनि सायद पहिले खाट थिए, कुर्सी थिए, पिर्का वा किताबका र्‍याक पनि।

मैतिदेवी मन्दिरदेखि चोकसम्मको झिलिमिलि बत्तीहरु सामाजिक सञ्जालदेखि मिडियासम्म छाइरहँदा मन्दिर नजिकैको यो भने घर उजाड लाग्छ। यहाँ बत्ती बल्दैन। फूलको मालाले श्रृङ्गारिँदैन पनि।

मान्छे भएको घरमा जिवन्तता छाउँछ सायद्। त्यसैले तिहारसँगै शहरका घरहरु धपक्क बलेजस्तो देखिन्छन्। तर, यस घरमा भने मानिसविहीन भएको वर्षौं भयो। त्यसैले यहाँ तिहारको झिलमिल र फूलको माला सजिन्न।

बाहिरबाट सग्लो देखिने यस घरमा ‘लक्ष्मीले बास गर्दिनन्’।

भित्रभित्रै धमिराले बास गरेका छ घरमा। यो घरलाई संग्रहालय बनाउने घोषणा समेत गरेको थियो सरकारले, ठीक एक वर्षअघि। महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति र सम्मानमा उनको घरलाई संग्रहालय बनाउने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

सरकारको घोषणालाई धेरैले गज्जब भने। तत्कालै मिडियादेखि सामाजिक सञ्जालमा खबरले एक किसिमको उत्साह पैदा गराइ दियो। सबैभन्दा बढी उत्साहित थिए, देवकोटाको परिवार। नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाले पुर्‍याएको योगदानको बल्ल सम्मान हुने भयो भन्दै खुशी छाएको थियो उनीहरुको परिवारमा।

तर, सरकारका अन्य थुप्रै घोषणाजस्तै बोलीमै सीमित रह्यो देवकोटाको घरलाई संग्रहालय बनाउने योजना पनि। घरको अवस्था उस्तै जीर्ण छ यतिखेर।

पशुपति महागुठी अन्तर्गत पर्छ, देवकोटा निवास। प्रधामन्त्री केपी शर्मा ओलीले देवकोटाको जग्गाको उचित मूल्यांकन गरी प्रज्ञा प्रतिष्ठानको मातहतमा ल्याउन निर्देशन नदिएका होइनन्। तर, सरकारी कामको प्रतिछायाँले यहाँ किन छाड्थ्यो र! प्रधानमन्त्रीको निर्देशन अनुसार काम अघि बढाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति पनि गठन भयो। समितिमा देवकोटाका परिवार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, मालपोत कार्यालय, नापी र गुठी कार्यालयका प्रतिनिधि सदस्य रहे।

तर, घरलाई संग्राहलयको योजना जग्गाकै किचलोमा पुगेर अड्कियो।

आखिर किन त?

यो घर रहेको जग्गा हालसम्म पनि देवकोटा परिवारकै सदस्यको नाममा छ। महाकवि देवकोटाले उक्त घर आफ्नी साइली छोरी मीरा देवकोटाका नाममा पास गरिदिएका थिए। अविवाहित मीराको मृत्यु भइसकेको छ।

सरकारले देवकोटा निवासलाई संग्रहालय बनाउने घोषणा गरेपछि उक्त घर जग्गा मीराका भाइहरुको नाममा पास गरिएको छ।

१२ आना जग्गामा रहेको घर र कम्पाउन्डको मूल्य समितिले ५ करोड तोक्यो। तर, देवकोटा परिवारले ६ करोडको माग गर्‍यो।

साथै, उक्त जग्गा गुठीको नाममा हुनुले पनि थप समस्या सिर्जना गरेको छ। गुठीको जग्गा भएकाले तीन भागको एक भाग मात्र देवकोटा परिवारको हुने र बाँकी दुई भाग गुठीलाई प्रदान गरिने प्रस्ताव गरिएको छ। तर, उक्त प्रस्ताव आफूहरुलाई स्वीकार्य र चित्त बुझ्दो नभएको बताउँछिन् देवकोटाकी माइली छोरी अम्बिका शर्मा रिमाल।

देवकोटाको घरको रेखदेख अम्बिकाले नै गर्दै आएकी छिन्।

देवकोटाकी माहिली छोरी अम्बिका।

’प्रधानमन्त्रीले जग्गाको मूल्यांकन गरी देवकोटाको परिवारको चित्त बुझ्ने गरी योजना अघि बढाउने वचन दिनु थियो तर त्यस्तो भएन। गुठी त सरकारकै हो। सरकारले लिने भएपछि गुठीलाई दुई तिहाइ किन दिनुपर्ने?’, पहिलोपोस्टसँग उनले भनिन्, 'यस विषयमा पूरा जानकारी प्रधानमन्त्रीसँग पुगेको जस्तो लाग्दैन। बीचमै कतै अल्मलिएको होला।'

देवकोटाको सम्मानमा सरकारले संग्रहालय बनाउने घोषणा गर्नु आफ्नो परिवारका लागि गर्वको विषय भएको बताउँछिन् उनी। ‘तर यसरी सरकारको प्रतिवद्धता र हामी कसैको अवमूल्यन हुनु हुँदैन,’ उनले थपिन्।

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती भने अढाई करोड देवकोटा परिवारलाई दिने विषयमा सहमति भइसकेको बताए। उनले भने, 'देवकोटाको परिवारलाई आधा अर्थात् अढाइ करोड दिने र देवकोटाले जस्तै भोगाधिकार प्रज्ञाले लिने एक खालको सहमति भएको छ। केही प्राविधिक कुरा भने मिलेको छैन।'

देवकोटाको घर गुठी जग्गामा भएकाले मुआब्जा विवादका कारण केही ढिला सुस्ती भएको उप्रेतीको तर्क छ। देवकोटाका जेठा छोरा पद्मप्रसाद अमेरिका र कान्छा छोरा दीपक अष्ट्रेलियमा बस्दै आएका छन्। जग्गा नामसारीका लागि उनीहरु नेपाल आउनुपर्ने भएको बताउँछन् उनी।

त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्ययान मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने देवकोटाको जग्गाको भोगाधिकार प्रज्ञामा ल्याउनका लागि अर्थ मन्त्रालयमा बजेट माग गरेको जानकारी दिए। उनले भने, ‘देवकोटाको परिवारलाई दिइने अढाई करोड रकम विनियोजनका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको छु। मन्त्रालयबाट रकम आएपछि प्रकिया अघि बढ्छ।'

जग्गा प्रतिष्ठानको नाममा आएपछि मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई बजेट विनियोजनका लागि पत्राचार गर्नेछ। प्रतिष्ठानका कुलपति उप्रेतीले जग्गा प्रतिष्ठानको मातहतमा आएको एक वर्षभित्र नै संग्राहलय बनाउने दाबी गरे।

उनले भने, ‘प्रतिष्ठानको मातहत आएर अर्थ मन्त्रालयबाट बजेट दिएको एक वर्षमा संग्रहालय बनाइसक्छु। देवकोटासँगै अन्य साहित्यकारको नाममा पनि संग्रहालय निर्माणमा हाम्रो जोड रहनेछ।‘

कस्तो बन्छ त संग्राहलय ?

एक वर्षअघि नै घोषणा भएको योजना भएपनि देवकोटा निवासमा कस्तो संग्रहालय भन्ने बारे कुनै पनि खाका तयार भएको छैन। जसको मुख्य कारण जग्गा विवादलाई नै मान्छन् उप्रेती।

‘यस्तै बन्ने भन्ने खाका नभए पनि घरको बाहिरी आकृति अहिले जस्तो छ त्यस्तै राख्ने र भित्र चाहिँ आधुनिक तौरको बनाउने योजना छ’, उप्रेतीले भने।

प्रधानमन्त्रीले घोषणा गर्दा उनको यो घरमा रेट्रोफिटिङ गरेर पहिलेकै स्वरुपमा बनाउन भनेका थिए। तर, घरको जग नै बलियो नभएका कारण घरलाई भत्काएर पुन: बनाउनुपर्ने उप्रेतीको तर्क छ। संग्राहलय बनेपछि त्यसको व्यवस्थापन प्रतिष्ठानले नै गर्नेछ। संग्राहलयको लागि कति खर्च लाग्ने यकिन भने भइसकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell