PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

'एडोबी प्रिमियर प्रो' मा फिचर्ड स्कन्दको 'मौतका कुवा'को फोटो : फरक गर्ने हुटहुटीले दिलायो सफलता



स्वेच्छा राउत

'एडोबी प्रिमियर प्रो' मा फिचर्ड स्कन्दको 'मौतका कुवा'को फोटो : फरक गर्ने हुटहुटीले दिलायो सफलता

नोभेम्बर १, २०१९। फोटो पत्रकार स्कन्द गौतमलाई गुरु स्वरुप नासिजुको मेसेज आयो - ‘आइ एम प्राउड अफ यू।'

मेसेजसँगै पठाएका थिए भिडियो सम्पादनका लागि चर्चित एप - 'एडोबी प्रिमियर प्रो'को स्क्रिनसट।

स्क्रिनमा एउटा तस्विर देखिन्छ। त्यो तस्विर ‘मौतका कुवा’मा अड्किएको मोटरसाइकलको हो। कुवाको आकार दिएर अड्याइएका काठका फल्याकहरुमा मोटरसाइकल बेजोड कुद्छ।

विशेषगरी मेला तथा पर्वहरुमा यसलाई जादुमय तथा रोचक खेलका रुपमा प्रस्तुत गरिन्छ।

एडोबी प्रिमियर प्रोले प्रयोग गरेको त्यो तस्विर सन् २०१७ को अप्रिलमा भक्तपुरमा भएको मेलाको हो। उक्त काठे कुवामा मोटरसाइकल स्टन्ट देखाइरहेका भारतीय बब्बु शाहलाई कैद गरेका थिए स्कन्दले।

***

गत जुन महिनाको एक साँझ, अचानक एडोबी हेडक्वाटरबाट आएको इमेलले स्कन्दलाई झस्कायो। जब इमेल खोले तब दङ्ग पर्नु पर्ने कारण भेटियो। उनलाई त्यही ‘मृत्युको कुवा’को तस्विर प्रयोगका लागि प्रस्ताव गरिएको रहेछ।

प्रस्ताव थियो - उक्त तस्विर १८ महिनाका लागि एडोबी प्रिमियर प्रोको स्क्रिनमा प्रयोग गरिने। फोटोका लागि कम्पनीले चार हजार अमेरिकी डलर दिने।

‘एक फोटो पत्रकारका लागि त्योभन्दा उत्साहजनक इमेल अरु केहुन सक्छ? सधैं प्रयोग गरिने एडोबीको स्क्रिनमा आफ्नो फोटो! मसँग नाईं भन्नु पर्ने कारण थिएन,’ स्कन्दले सुनाए।

तर, सहमतिका लागि शर्तहरु पढ्दै जाँदा एउटा बुँदामा पुगेर उनी टक्क अडिए। जसमा लेखिएको थियो - ‘तस्विर प्रयोगका लागि त्यसमा देखिएको व्यक्तिको अनुमति लिइनुपर्ने।'

नेपाली पत्रकारिता होस् या अन्य प्रयोजन त्यसरी तस्विरमा कैद व्यक्तिको अनुमति बिरलै लिइन्छ। स्कन्दले सोचेका पनि थिएनन् दुई वर्षअघि लिइएको तस्विरको पात्रसँग अहिले आएर अनुमति लिनुपर्ला भन्ने। फोटो पत्रकारितामा सिकाइको एउटा गजब अनुभव संगाल्दै थिए उनी।

फोटोमा मोटरसाइकल कुदाइरहेका पात्र हुन् बब्लु शाह। उनी भारतीय। पर्व विशेषमा लाग्ने मेलामा उनी नेपाल आउँछन्, स्टन्ट देखाउन। त्यसैगरी भक्तपूरको बिस्केट जात्राको मेलामा देखाएको स्टन्ट गौतमले कैद गरेका थिए।

मेसेन्जर मार्फत् बब्लुलाई विषयको जानकारी गराए। तर, बब्लुले डिजिटल साइनसहित फर्म भरेर पठाउनु सम्भव रहेनछ। स्कन्दले सोही कुरा प्रष्ट पारेर एडोबीलाई इमेल लेखे। तीन दिनसम्म जवाफ आएन।

स्कन्द निराश भएका थिए। तर, चौथो दिन एडोबीले जवाफ फर्कायो- सकारात्मक।

प्रिमियर प्रोको नोभेम्बर संस्करणका लागि तीन महिना अघि किनियो स्कन्दको फोटो। नयाँ स्क्रिन सार्वजनिक हुनुभन्दा एक साताअघि नै स्कन्दलाई नमूना पठाइएको थियो। उनले एडोबीलाई धन्यवाद व्यक्त गर्दै आफ्ना सामाजिक सञ्जालहरुमा स्क्रिनसट पोस्ट गरे।

‘त्यसपछि बधाई दिने र पोस्ट सेयर गर्नेहरु ह्वात्तै बढे। धन्यवाद भन्नमै व्यस्त छु,’ उनी गर्विलो सुनिए।

स्कन्दका लागि एडोबीको यो प्रयोग आफ्नो काम प्रमाणित गर्ने अन्तर्राष्ट्रिय प्ल्याटफर्म भएको बताउँछन्। उनीसँगै खुशी छन् परिवार र साथीभाइ पनि। तर, प्रत्यक्ष भेट नभएका मानिस र सामाजिक सञ्जालमा धेरै युवा आफ्नो उपलब्धीका लागि खुशी भएको देख्दा उनलाई थप उर्जा मिलेको छ।

एडोबीले प्रदान गरेको यस अवसरले आफूमा अझै उत्कृष्ट फोटोहरु खिच्ने हुटहुटी बढाएको बताए। ‘सायद यसरी नै अन्य अवसरहरुको ढोका खुल्दै जाने छन्,’ उनीबाट आत्मविश्वास भरिएको आवाज निस्कियो।

***

सन् २००७/८ मा छोराछोरीलाई विज्ञान वा व्यवस्थापन पढाउनु सामाजिक प्रतिष्ठाको विषय हुन्थ्यो। तर, स्कन्दकी आमाले आफ्नो छोराको रुची कलात्मक विषयमा छ भन्ने बुझेरै मानविकी पढ्न सुझाइन्।

प्लस टुपछि आमाले नै उनलाई एड्भर्टाइजिङ एण्ड ग्राफिक्स डिजाइनिङको कोर्सका लागि भर्ना गरिदिइन्। त्यही कोर्सपछि उनी पूर्ण रुपले फोटोग्राफीमा लागेका हुन्।

आमाकै कारण आफूले सही समयमा आफ्नो रुची पहिल्याउन सकेको बताउँछन् उनी।

सिर्जनशील एवं कलात्मक फोटो स्कन्दको विशेषता हो। फोटो पत्रकारितामा सक्रिय उनी समाचारका लागि मात्र फोटो खिच्दैनन् सन्तुष्टिका लागि पनि खिच्छन्।

‘राम्रो फोटो’का लागि दिनमा दश ठाउँ पुग्न पनि तयार हुन्छन्। अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्समा कार्यरत् छन् उनी।

'दिनमा एउटा राम्रो फोटो त खिच्नै पर्छ भन्ने सोच्छु। कार्यरत् संस्था, पाठकले पनि त्यो अपेक्षा राख्छन् जस्तो लाग्छ,‘ उनले सुनाए।

पाँच वर्षयता उनको दैनिकी प्राय एउटै छ। बिहान उठ्यो, घरमा केही समय बितायो अनि काँधमा फरक क्यामेरा र लेन्सहरु बोकेर कुद्यो। कहिले राजनीतिक गतिविधि त कहिले सांस्कृतिक चाड पर्व विशेष। केही गतिविधि, कार्यक्रम नहुँदा के त? उनी प्रकृति अनि आम मानिसका सामान्य गतिविधिलाई पनि फरक अनि कलात्मक ढङ्गमा कैद गर्न सिपालु छन्।

पहिलोपटक आफूले खिचेको फोटो पत्रिकामा छापिँदाको रमाइलो घटना सम्झन्छन् उनी।

सन् २०१३ को सुरुवातमा पढेकै विषयमा करियर बनाउने हुटहुटीले बिजनेस एडभान्टेज नामक विज्ञापन संस्थासँग जोड्यो। त्यहाँ उनको काम ग्राफिक्स डिजाइनिङको थियो। तर, उनको मन भने त्यहाँ हुने प्रचारात्मक सामाग्रीको फोटो र भिडियो छायाँकनले खिच्यो।

त्यस समय उनीसँग सेभेन डी क्यामेरा र एउटा फिसआइ लेन्स थियो। तर, काममा प्रयोग गर्न पाएका थिएनन्। रहर थियो, अवसर थिएन। एकदिन एजेन्सी सञ्चालक सचिन योगल श्रेष्ठसँग उनले मुखै फोरेर आफ्नो रहरको कुरा सुनाए। सचिनले प्रयासका लागि ढोका खुला गरिदिए।

स्कन्दको काम थियो- कुनै एक ब्रान्डको मोबाइल किन्दा इयरफोन सित्तैमा भन्ने मार्काको विज्ञापनका लागि इयरफोनको फोटो खिच्ने।

कोर्स अन्तर्गत फोटोग्राफीबारे सामान्य केही पढेका त थिए तर न फोटो बुझेका थिए न त क्यामेराको प्रयोग नै। पहिलो प्रयासलाई सानदार बनाउने जोशमा उनले आफूसँग भएको फिसआइ लेन्सको प्रयोग गरे। र, इयरफोनको फोटो खिचे। निकै ‘दामी’ फोटो खिचेँ भन्ने लागेको थियो उनलाई।

तर, जब सचिनले उनको फोटो स्क्रिनमा देखाएर गाली गरे तब बल्ल उनलाई होस भयो। सोचे- मैले किन सामान्य लेन्स प्रयोग गरिँन?

उनको दोस्रोपटकको प्रयास भने सफल रह्यो। पत्रिकामा विज्ञापन छाँपिदा निकै सानो अनि धमिलो प्रिन्टमा आफैले खिचेको इयरफोनको फोटो हेर्दै दङ्ग परे।

यसरी स्कन्दको फोटोग्राफीको सुरुवात गल्तीबाट भयो। उनी भन्छन्, ‘गल्तीहरुबाटै सिकिने रहेछ। म आज पनि धेरै गल्ती गर्छु र त्यति नै सिक्छु पनि। एकपटक गरेको गल्ती नदोहोरियोस् बस त्यति भए पुग्छ।‘

***

सन् २०१३ को अन्तिममा फोटो पत्रकार प्रकाश माथेमासँग कामका लागि अनुरोध गरे। त्यो अनुरोधले जुराइदियो नरेन्द्र श्रेष्ठसँगको भेट। नरेन्द्रले जागिर त होइन, कान्तिपुर पब्लिकेसनमा तीन महिना इन्टर्नसीपको मौका दिलाए। स्कन्दले मौकाको भरपुर फाइदा उठाए।

फलस्वरुप सन् २०१४ को सुरुवातमै द हिमालयन टाइम्सले उनलाई फोटोपत्रकारका रुपमा स्वागत गर्‍यो।

सुरुवाती दिनमा सधैं सुन्नु पर्थ्‍यो - ‘अझै राम्रो गर्नु पर्‍यो भाइ।’ ‘फलानोले जस्तो गर्नु पर्‍यो।’ ‘अझै भएन।'

‘कहिले काही त दिक्क लाग्थ्यो। मेरो प्रयास किन सफल भइरहेको छैन भन्ने कुराले पिरोल्थ्यो,’ ती दिनलाई उनले स्मरण गरे।

त्यही पिरलोले गर्दा राती दुई, तीन बजे नै क्यामेरा बोकेर निस्कन्थे उनी। घण्टौं हिँड्थे। देख्दा रोचक, भिन्न अनि आवश्यक लागेका हर वस्तु या व्यक्तिलाई लेन्समा कैद गरिहाल्थे।

त्यस्तैमा एक बिहान उनी हिँडेरै फर्पिङ पुगे। एउटा स्तुपको फोटो खिच्न घण्टौं प्रयास गरे। घाम उदाएको थिएन। हुस्सुले ढाकेको थियो स्तुप। केही सट लगातार लिएपछि क्यामेरा प्याक गर्ने तरखरमा लागे। अचानक आकाश खुलेर आयो।

हुस्सुमा गजुरमात्र देखिएको स्तुप। पृष्ठभूमिमा हिमाल अनि नीलो आकाश।

उनको लेन्समा कैद भएको त्यो फोटो भोलिपल्ट चर्चाको विषय बन्यो।

‘राजनीतिले तताएको माहोलमा पनि मैले खिचेको त्यो फोटोले पहिलो पेजमा ठाउँ पायो। राष्ट्रिय दैनिकमा त्यसरी स्पेस पाएको पहिलो फोटो भन्ने चर्चा धेरैजनाबाट सुनें,’ स्कन्द सम्झन्छन्।

सन् २०१४ को त्यस तस्विरले फोटो पत्रकारितामा बामे सर्दै गरेका स्कन्दलाई पुराना पत्रकार तथा फोटो पत्रकारमाँझ परिचित गरायो। उनले खिचेको तस्विरहरु त त्यसअघि पनि छापिएका थिए तर त्यस तस्विरले पहिलोपटक उनलाई बधाई र तारिफ दिलायो।

त्यस्ता प्रतिक्रियाले काममा थप उर्जा दिने उनको अनुभव छ। पत्रिकामा सबैले फोटो याद गर्दैनन्। फोटो याद गर्ने सबैलाई फोटो पत्रकार याद गर्दैनन्। पत्रिकामा निकै कमले आफ्नो कामबारे जानकारी राख्ने बताउँछन् उनी। त्यसैले आफ्नो फोटोहरुका लागि सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय वेबसाइटहरु उत्कृष्ट प्ल्याटफर्म भएको उनको बुझाइ छ।

बुझाइ प्रष्ट्याउन उनी उदाहरण दिन्छन्।

सन् २०१८ , जुलाइ २६ मा गोविन्द केसी १५ औं अनसन तोड्ने क्रममा थिए। कसैले फोन गरेर भन्यो- फोटो खिच्न जाउ। सुवास नेम्वाङले जुस पिलाउने तयारी गर्दैछन्।

गौशालाबाट शिक्षण अस्पताल पुग्दा खुट्टा त्यहाँ राख्ने ठाउँ थिएन। भिडको पछिल्लो भागमा उभिएर टेली लेन्सले केही सट लिए।

सुवासचन्द्र नेम्वाङ बोल्दै गर्दा गोविन्द केसी मुस्कुराएको फोटो। केही बेरमै सामाजिक सञ्जालमा भाइरल भयो।

त्यस्तै प्रभाव पारेको थियो क्रिस्चियानो रोनाल्डोले सेयर गरेको एक फोटोले पनि।

२०७२ सालको भूकम्पपछि स्कन्दले केही समय एसओएसका लागि काम गरेका थिए। बिपतमा परेका बालबालिकाको फोटो खिच्ने उनको जिम्मेवारी। उनले भूकम्प गएको पहिलो दिन नै खिचेको एउटा तस्विरमा एक आमाले आफ्ना दुई सन्तानलाई ओढ्नेले ढपक्क ढाकेर राखेको देखिन्छ।

उक्त तस्विर रोनाल्डोले आफ्नो सम्पूर्ण सञ्जालमार्फत् सेयर गरे। बालबालिकाका लागि सहयोग आह्वान सहित। त्यसपछि स्कन्दले पाएको प्रतिक्रिया र सन्देशहरु अप्रत्याशित रह्यो। सामाजिक सञ्जालमा उनलाई पच्छ्याउनेको सङ्ख्या ह्वात्तै बढ्यो।

'मेहेनत र दु:ख गरेको काममा तारिफ पाउँदा सामान्य लाग्छ। सामान्य फोटोमा पनि तारिफ पाउँदा सोच्छु - यस्तो कुराले आफैँलाई फुर्काउनु हुँदैन,’ उनी थप्छन्, 'पहिले पहिले त आफूले जे खिचे पनि खत्रा लाग्थ्यो नि। अहिले थाहा पाएँ ती सबै भ्रम रहेछन्।‘

स्कन्दका कलात्मक तस्विरहरुले अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचान पाएका छन्। सन् २०१७ मा नेशनल जियोग्राफीको उत्कृष्ट १० फोटोमध्ये एक स्कन्दको पनि थियो। माधव नारायणमा भक्तजनहरु लामवद्ध तस्विर जसमा एक बालक च्यापिएको र जाडोले काँप्दै गरेको अवस्थामा।

यसरी आफ्नो कामको मूल्याङ्कन हुनुलाई एकपछि अर्को खुड्किलो उक्लनुको संज्ञा दिन्छन् उनी। भन्छन्- 'अझै माथि पुग्नु छ। हरेक खुड्किलोबाट देखिने फरक दृश्यहरु कैद गर्नुछ।'

***

स्कन्द अहिले लाखौंको क्यामेरा फोटो खिचेरै किन्न सक्ने भए। उनी ती दिन सम्झन्छन् जब क्यामेरा किन्नका लागि उनी र आमा मिलेर बुबालाई निकै फकाउनु परेको थियो।

सुरुवाती दिनमा फोटोग्राफीमा करियर बन्छ भन्नेमा विश्वस्त थिएनन्, बुबा। आजकाल हरेक बिहान सुरुमा पत्रिका स्कन्दका बुबाले नै पल्ट्याउँछन्। उनी पत्रिकाको फ्रन्ट पेजमा छोराले खिचेको तस्विर खोज्छन्। दङ्ग पर्दै चिच्याउँछन् - 'आज पनि तेरै फोटो छापिएछ केटो।'

आमा थप्छिन्- 'खोइ खोइ हेरुँ।'

हरेक बिहान बुबा आमाको गर्विलो अनुहार हेर्दा स्कन्द सोच्छन्- 'अब आज के खिच्ने होला?'

‘आखिर भोलिको बिहान आजभन्दा सुन्दर त बनाउनै पर्‍यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell