- मुकुन्द घिमिरे र हेम रोकाहा -
गाउँघरका खाली सडक र बाँझो खेतबारी कुनै समय क्रिकेटर इन्दु वर्माका लागि क्रिकेट मैदान थियो। अनि, खेलाडीहरु थिए भाइ र भाइका साथी। त्यतिबेला क्रिकेट खेल्दा उनलाई खुब रमाइलो लाग्थ्यो। तर, न उनमा मेडल जित्ने चाहना बनिसकेको थियो न त क्रिकेटर बन्ने सपना नै। रमाइलैका लागि मात्रै खेल्थिन् उनी।
पाँच कक्षा पढ्दाको कुरा हो, स्कुलको ग्राउण्डमा केटाहरुले क्रिकेट खेलिरहेको देखेपछि उनलाई पनि खेलुँखेलुँ लाग्यो। र, साथीहरुलाई उक्साउँदै भनिन्, ‘जाउँ हामी पनि केटाहरुसँग क्रिकेट खेल्न।’
‘स्कर्ट लगाएर कसरी क्रिकेट खेल्ने?,’ उनका साथीहरुले तत्काल जवाफ फर्काइहाले।
तर, स्कर्टले उनलाई खेल्न कहाँ रोक्थ्यो र? उनी गइन् क्रिकेट खेल्न। तर, उनले ब्याटिङ गर्न भने पाइनन्। केटाहरुले दिएनन्। बलिङ र फिल्डिङ मात्रै हात लाग्यो। बलिङ र फिल्डिङमात्रै गर्दा पनि उनका शैली शिक्षक उमेश श्रेष्ठको नजरमा पर्यो।
उनले भने, ‘तिम्रो खेल राम्रो रहेछ। अब हामीले स्कुलबाट लेडिज क्रिकेट निकाल्नुपर्छ।’
नभन्दै स्कुलमै क्रिकेट प्रशिक्षक ल्याउने कुरा चलिहाल्यो।
'त्यतिखेर क्रिकेट खेल्न पाउँदा धेरै खुशी लागेको थियो,' इन्दुले लामो सास फेर्दै सम्झिइन्।
जन्म बाग्लुङ, घर बुटवल।
त्यसपछिका दिनमा उनको क्रिकेटमा सहभागिता बढ्दै गयो। क्रिकेट खेल्ने केटी साथीहरु धेरै नभएकाले उनी केटाहरुसँगै खेल्थिन्। तर, उनको यो चालचलन उनको समाजका केही मानिसलाई सह्य भएन। छरछिमेकमा उनलाई निरुत्साहित गर्ने आवाजहरु त्यतिकै सुनिन्थे।
‘केटी भएर केटाहरुसँग पनि खेल्ने?’
‘केटीहरु एउटा लिमिटमा बस्नुपर्छ।’
‘छोरीमान्छे भएर यसरी केटाहरुसँग खेल्न जानु हुँदैन।’
‘छोरीले त घरका काममा ध्यान दिने हो।’
यस्ता चर्चा त इन्दुले कति सुनिन् कति। तर, हतोत्साही भइनन्।
'म केही गरेर देखाउँछु भन्ने भावना उनमा आउँथ्यो,' त्यतिखेरको अवस्था सम्झिइन्न्छि उनले, 'क्रिकेटमा लाग्न परिवारको पनि निकै साथ र सपोर्ट थियो।' परिवारकै हौसलाले उनलाई क्रिकेटमा टिकाइरह्यो, समाजमा जेसुकै टीकाटिप्पणी चलिरहे पनि।
त्यसपछिका दिनमा उनी फाट्टफुट्ट स्कुलस्तरीय प्रतियोगितामा सहभागी हुन थालिन्। भैरहवामा भएको स्कुलस्तरीय खेलमा उनको स्कुल प्रथम भयो। त्यहाँबाट उनलाई अण्डर १६ खेल्न नेपालगन्ज लैजाने कुरा चल्यो। नेपालगन्जको प्रतियोगितामा उनले राम्रो प्रदर्शन गरे पनि उनको टिम भने दोस्रो भयो। त्यहाँबाट उनको क्रिकेट यात्रा काठमाडौंको लागि तय भयो। उनले त्यसअघि काठमाडौँ देखेकी पनि थिइनन्। काठमाडौं कसरी क्रिकेट खेल्छन् होला भन्ने उनमा कौतुहता जागेको थियो।
काठमाडौं आएपछि थाहा भयो, गाउँघरमा खेलेको भन्दा फरक हुने रहेछ यहाँको खेल। गाउँघरतिर टेनिस बलले खेल्दा खेल्दै काठमाडौंमा साह्रो ड्युज बल। सुरुमा त उनलाई निकै गाह्रो भयो।
‘खुट्टामा प्याड लगाएर कुद्न सकिँदैन थियो। कुद्न त के हिँड्न पनि आउँदैन थियो,' उनले सम्झिइन्।
उनलाई काठमाडौं ल्याएका थिए प्रशिक्षक बसन्त शाहीले। उनैले इन्दुलाई स्कुल तहबाट मेन स्ट्रिममा ल्याएका हुन्।
कक्षा ७ मा पढ्दै गर्दा सन् २०१० मा सिंगापुरमा भएको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेकी हुन् उनले। त्यतिबेलाको अरु धेरै कुरा याद नभए पनि एक्स्ट्रामा बस्दा पानी बोकेर मैदानमा दौडिएको पलहरु उनलाई अझै याद छ।
उनको अनुभवमा पहिलेको तुलनामा अहिले महिला क्रिकेटको अवस्था धेरै राम्रो भएको छ। जसको एउटा गतिलो उदाहरण केही हप्ता अघि सकिएको वुमेन्स प्रिमियर लिग (डब्लुसिएल) हो। अबका दिनमा महिला क्रिकेटमा पनि केही सम्भावना देखिएको छ भन्ने लागेको छ, उनलाई।
‘पहिला बहिनीहरुले क्रिकेट खेल्छु भन्दा हामी आफैँले नखेल क्रिकेटमा केही पनि छैन भन्ने अवस्था थियो। बसेर पढ्ने सल्लाह मात्रै दिन्थ्यौँ। अब बहिनीहरुलाई क्रिकेटमा पनि केही छ, क्रिकेट खेले हुन्छ भन्न सजिलो भएको छ,’ उनले बढेको आत्मविश्वाससहित सुनाइन्।
डब्लुसिएलको पहिलो सिजनमा इन्दुले चितवन राइनोजको कप्तानको जिम्मेवारी सम्हालिन्। उनको टिमले लिग जित्यो, त्यो पनि विना कुनै हार। टिम 'वेल ब्यालेन्स्ड' भएकाले लिग विजेता बनेको बुझाइ छ उनको।
‘राम्रो टिम पाएँ मैले। त्यसमाथि पनि सबैले व्यक्तिगत रुपमा राम्रो खेल्नुभयो। टिम स्पिरिट पनि बलियो थियो। सबै खेलाडी पोजिटिभ थियौँ,' उनले भनिन्, 'सिनियर जुनियर सबैबीच समान व्यवहार थियो। सबैले सबैको कुरा सुनेको अवस्था थियो।’
यस्ता लिगहरुले उत्साहित बनाएको उनले बताइन्। लिगले महिला क्रिकेटको भविष्यमा पनि आशा पलाएको छ।
‘यतिकै लयमा क्रिकेट जान पर्यो। फेन्चाइज लिगहरु वर्षवर्षमा हुन पर्यो। त्यसरी नै क्रिकेटको प्रगति हुन्छ। यत्तिकै लिगहरु भइरह्यो भने धेरै परिवर्तन आउनेछ। खेलमा टिमहरुबीच हारजित त होला तर यस्ता खाले प्रतियोगिताले समग्र महिला क्रिकेटको विकास हुन्छ,’ उनले भनिन्।
उनको खेल देखेपछि समाजमा उनलाई हेर्ने दृष्टिकोण फेरिएको छ। पहिले आँखा तर्नेहरु अहिले उनीसँग आएर बोल्न थालेको छन्।
‘मानिसहरुको प्रतिकृयामा आकाश पातालकै फरक छ। पहिले पहिले नबोल्ने छिमेकीहरु पनि अहिले आएर बोल्ने गरेका छन्,’ उनले अनुभव सुनाइन्।
उनी क्रिकेट खेल्नका लागि विभिन्न देशहरुको भ्रमण गरिसकेकी छिन्। उनको अनुभवमा नेपाली महिला टिम चीन, हङकङ, मलेसियाभन्दा धेरै माथि छ। तर, थाइल्यान्डका खेलाडीहरु धेरै अनुभवी भएकाले उनीहरु नेपालभन्दा बलिया देखिएको उनको बुझाइ छ।
‘हामी जहिले पनि थाइल्यान्डसँग हार्छौँ किनकी उनीहरु धेरै अनुभवी छन्। उनीहरु धेरै खेल खेल्छन्। हाम्रो टिम पनि खराब नै त छैन, राम्रो छ। हामी खेल्दा खेल्दै प्रेसरमा आउँछौँ, उनीहरु प्रेसरमा नआइ मज्जाले खुलेर खेल्दा उनीहरुको खेल राम्रो हुन्छ,’ उनले आफ्नो र थाइल्यान्डका खेलाडीको समीक्षा सुनाइन्।
जस्तो राम्रो खेलाडी पनि प्रेसरमा आएपछि उसले राम्रो प्रदर्शन गर्न नसक्ने बुझेकी छिन् उनले।
‘हाम्रो गेम कम भएको कारण हामी पछि छौँ। हामीमा मासमा बोल्ने कन्फिडेन्स त छैन। आत्मविश्वास बढाउने खालका कार्यक्रमहरु पनि सञ्चालन हुन जरुरी छन्,’ उनले भनिन्।
क्रिकेट क्षेत्रमा पहिलेको भन्दा अवस्था परिवर्तन भएकाले अभिभावकले क्रिकेट खेल्न चाहना राख्ने बच्चालाई रोक्न नहुने उनको धारणा छ। उनी चाहन्छिन्, साना बालबालिकाले म क्रिकेट खेल्छु भन्छ भने परिवारले उसलाई बाटो देवस्। खेलसँगै पढाई पनि निकै महत्वपूर्ण भएकाले खेल पढाइलाई सन्तुलनमा राख्नुपर्ने नयाँ खेलाडीलाई उनको सुझाव छ।
‘खेल र पढाईलाई सँगसगै लैजान सके राम्रो। पढाइका कारणले खेल र खेलका कारणले पढाई बिग्रनसक्ने सम्भावना हुन्छ। त्यसैले यसको लय मिलाउन सक्न पर्छ,’ उनले सुझाइन्।
पहिले क्रिकेटका किटहरु सबै उनीहरु आफैँले किन्न पर्थ्यो। जसको लागि घरबाट पैसा मगाउँदा साथीहरुका अभिभावकले 'भयो अब खेल्न पर्दैन घर आइज' भन्ने सुन्नु पर्थ्यो। अहिले चाहिँ किटहरु विभिन्न निकायबाट दिने गरेका छन्। उनी हाल एपिएफमा आबद्ध छिन्। एपिएफमा महिला क्रिकेटको लागि राम्रो वातावरण छ।
क्रिकेटका अनुभवमा यू १९ खेल्दा ह्याट्रिक ल्याएर भुटानलाई ५ रनले जित्दा तथा थाइल्याण्डविरुद्ध आफूले अविजित ४१ रन ल्याएर प्लेअर अफ द म्याच हुँदाको क्षण उनको लागि अविष्मरणीय क्षण हो।
नेपाली क्रिकेटरमा उनले पूर्वकप्तान पारस खड्का र सोमपाल कामी उनलाई मनपर्ने क्रिकेटर हुन्। उनलाई पारसको कप्तानी र ब्याटिङ निकै मन पर्छ। सोमपालको बलिङ पनि उनी निकै मन पराउँछिन्। अबको उनको चाहना बिग ब्यास जस्ता ठूला लिग खेल्ने छ। त्यसै अनुसार उनले आफूलाई अब्बल बनाउँदै लगेकी पनि छिन्।
‘बिग ब्यास जस्तो ठूला लिग खेल्न मन छ। त्यसका लागि निकै मेहेनेत गर्नुपर्छ। तर म तयार छु,’ उनले आत्मविश्वास व्यक्त गरिन्।