
काठमाडौं : बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा अदालतमा जारी थुनछेक बहस सकिएको छ।
महराका तर्कबाट आज वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारीले बहस गरेका थिए। आइतवार सरकारी वकिलका तर्फबाट सहन्यायाधीवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए।
महराविरुद्ध गत बिहीवार जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको थियो। अबको केही समयमा नै अदालतले महरालाई साधारण तारिकमा छोड्ने, धरौटीमा रिहा गर्ने वा पूर्पक्षको लागि जेल चलान गर्नेमध्ये एउटा निर्णय सुनाउने छ।
महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।