
साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ।
विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा र संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ। गीतमा जुनु गौतमको स्वर छ। उनी यो चलचित्रको सह निर्माता समेत हुन। गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रलाई त्यस समय अष्ट्रेलियाको भियानामा प्रिमियर सो गर्नुपरेकाले प्रदर्शनमा ल्याउन सकिएको थिएन।
साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई चलचित्रमा प्रस्तुत गरिएको छ। घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाँकन गरिएको छ। बच्चादेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रमा घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताए।
चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेको विशेष भूमिका छ। घिमिरेका पिताका भूमिकामा किशन सुनार, मातामा उमा गिरीले अभिनय गरेका छन्।