PahiloPost

Nov 13, 2019 | २७ कात्तिक २०७६

बयानका लागि सांसद आलम अदालतमा



बयानका लागि सांसद आलम अदालतमा

काठमाडौं : रौतहटको राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई बयानको लागि अदालतमा उपस्थित गराइएको छ। प्रहरीले आलमलाई मंगलवार अदालत रौतहटमा उपस्थित गराएको हो।

सोमवार मात्र जिल्ला सरकारी वकिल कार्यालयले आलम विरुद्ध अदालतमा मुद्धा दायर गरेको थियो।

वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको छ। अन्य १० जना भने फरार रहेको उल्लेख गरिएको छ। जन्मकैद सहितको माग दावि गर्दै अदालतमा मुद्धा दायर भएको छ।

अब अदालतमा बयान र थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले पक्राउ परेका सांसद आलम साधारण तारेखमा, धरौटीमा वा पूर्पक्षको लागि जेल चलान गर्ने निर्णय गर्छ।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको अभियोगपत्रमा प्रहरीकै मिलेमतोमा घटना भएको उल्लेख गरिएको छ। प्रहरीकै संरक्षणमा घटनाको सबुत मेटाउने काम भएको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ। १२ वर्षअघिको घटनामा जिल्लामा भएका केही प्रहरीले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेको संलग्नता भएको इंकित गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए। एसपी न्यौपानेको मृत्यु भइसकेको छ। उनी टिकापुरको घटनामा मारिएका थिए।

आलम रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत हुन्।



बयानका लागि सांसद आलम अदालतमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell