
मम्बई : बलिउड अभिनेत्री प्रियंका चोपडा ससानो कुराले पनि चर्चा र विवादमा तानिन्छिन्। यो पटक पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेको एउटा तस्विरको कारण उनी फेरी विवादमा फसेकी छिन्।
इन्स्टाग्राममा मास्क लगाएको तस्विर सार्वजनिक गरेसँगै चोपडा ट्रोलको शिकार भएकी छिन्। अहिले उनी अभिनित फिल्म 'द ह्वाइट टाइगर' को दिल्लीमा सुटिङ भइरहेको छ। सुटिङको दौरान दिल्लीमा बढ्दो प्रदुषणको कारण उनले मास्क लगाएकी थिइन्। जसको कारण उनी ट्रोलको शिकार भइन्।
उनले इन्स्टामा तस्विर पोष्ट गर्दै क्याप्सनमा लेखेकी छिन् 'द ह्वाइट टाइगरको सुटिङको दिन। अहिले यहाँ प्रदुषणले गर्दा सुटिङ गर्न निकै कठिन छ। हाम्रो साथमा एयर प्युरिफायर र मास्क छ। साथै घरबार बिहिनहरुको लागि पनि प्रार्थना गर्दछु।'
सार्वजनिक तस्विरमा उनका फ्यानहरुले विभिन्न प्रकारका कमेन्टहरु गरेका छन्। एक सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन् 'चुरोट पिउने मान्छेले पनि मास्क लगाउँछ।'
त्यस्तै अर्का युजर लेख्छन्, 'धुम्रपान गर्दा हैरानी नहुने अनि प्रदुषणको कारण चाहिँ हैरानी।'
यस अघि पनि उनी फिल्म 'द स्काइ इज पिंक'को सुटिङको दौरान पनि ट्रोलको शिकार भएकी थिइन्। द ह्वाइट टाइगरमा प्रियंकासँगै अभिनेता राजकुमार रावको पनि मुख्य भूमिका रहेको छ।