PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा १५ पुल निर्माण थालिँदै



भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा १५ पुल निर्माण थालिँदै
फोटोः रासस

जाजरकोट : भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा १५ पुल निर्माण गरिने भएका छन्। सबै पुलको डिजाइन लागत अनुमानको काम पूरा गरेर यसै आर्थिक वर्षबाट निर्माणको काम हुन लागेको छ।

जाजरकोट खण्डको झुर्मेखोला, नलगाड नदी, खोलेखेत, साप्नेखेत, खमाउरीखोला, त्रात्रगाड, तासुँगाड र तल्लुस्थित भेरी नदीमा पुल निर्माण हुनेछन्। त्यस्तै डोल्पा खण्डमा रिजिगारखोला, उसुमखोला, करवगाडखोला, भेरी नदी खदाङ, खदाङखोला, छलगाडखोला र त्रिपुरासुन्दरी भेरी नदीमा पुल निर्माणका लागि सड़क विभाग पुल महाशाखाले पहल थालेको हो।

गृह जिल्ला जाजरकोट आएका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट खण्डमा पर्ने ८ पुल र डोल्पा खण्डका ७ पुल निर्माण यसै आर्थिक वर्षबाट शुरु हुने बताए। उनले सार्वजनिक खरीद ऐन संशोधन भएका कारण अघिल्लो वर्ष नलगाड नदी र झर्मेखोलामा भएको बोलपत्र आह्वानका साथै रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम रद्द भएकाले यो वर्ष सबै काम हुने बताए। मन्त्री बस्नेतले भने, 'हामी डिजाइन लागतको अनुमान दुई महिनाभित्र पूरा गरेर सबै पुल निर्माणको चरणमा पुगेका छौँ।'

विकास निर्माणमा ठेक्का लिने तर तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीले नै समस्यामा पारेको मन्त्री बस्नेतको भनाइ छ। मूल ठेकेदारले कामको जिम्मेवारी लिएपछि कामको जिम्मा साना निर्माण व्यवसायीलाई दिने अनि साना ठेकेदारबाट काम नहुने मात्र होइन, वर्षौंसम्म झुलाइदिनाले समस्या आएको उनको भनाइ छ। विकास निर्माणका काममा अवरोध नगर्न उनले आग्रह गरे।

दुनैसम्म सडकको ट्र्याक खोल्ने काम पूरा भएकाले दुनैबाट मरिम्ला सडकखण्डको निर्माणका लागि पनि यसै वर्षदेखि काम गर्न छलफल शुरु भएको पूर्वमन्त्री एवं सांसद सत्या पहाडीले बताइन्। भेरी करिडोरमा पुल निर्माणसँगै यो वर्ष बोलपत्र आह्वान कालेगाउँदेखि रिम्ना हुँदै तल्लुसम्म हुने भएकाले बहुवर्षीय ठेक्कामार्फत सडक निर्माणको काम हुने उनको भनाइ छ। यसै आर्थिक वर्षदेखि नै त्रिवेणीदेखि इलसम्मको सडक निर्माणका लागि डिपिआर निर्माणको काम पूरा भएकाले सडक निर्माणकार्य शुरु हुनेछ।

प्रदेश सरकार र संघीय सरकारमार्फत संयुक्त रूपमा बजेट विनियोजन भएकाले पुल बन्न लागेका हुन्। जगदुल्ला हाइड्रोपावर निर्माणका लागि पनि सडक छिटो निर्माण गर्नु अपरिहार्य भएको छ। अहिले जगदुल्ला हाइड्रोपावरको मुआब्जा वितरणको काम शुरु भएको छ। सडकको स्तरोन्नतिको काम नै पहिलो विकासको आधार भएकाले त्यसतर्फ केन्द्रित हुनुपरेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell