
पाँचथर : पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन्।
हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताएकी छिन्। ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसँग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको उनले बताइन्। कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउँदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाइन्।
पूजा भागेर अहिले माइतीको शरणमा पुगेकी छिन्। गत भदौ ३१ गते राति कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्घात कुटपिटसमेत गरेको पूजाको भनाइ छ। सोही रात आफूमाथि भएको जघन्य अपराधविरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उनको भनाइ छ। तर, पीडकहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पीडितको गुनासो छ।
प्रहरीले निकै समय गुज्रेपछि जाहेरीबिना कारबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी दिए पनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको पीडित पूजाको दुःखेसो छ। उक्त घटनापछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए। कान्तप्रसादले धामीको काम गर्ने गरेको जनाइएको छ।
कान्तप्रसादले ‘मेरो छोरो खान लागिस्, घटेर मर्न लाग्यो’ भन्दै यातना दिएको पीडित पूजाको दुःखेसो छ। सासूबाटसमेत बोक्सीकै लाञ्छना पाउँदै लामो समयदेखि मानसिक यातना पाएको उनले पीडा पोखिन्। बाबुआमाकै कुरा सुन्ने गरेका श्रीमान् तेजप्रसादबाट पनि आफू अपहेलित भएको पूजाले सुनाइन्। फरार आरोपितहरुको खोजी भइरहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए। रासस