PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'घामड शेरे'को 'ट्रोल'मा हाम्रो समर्थन छैन : निर्माण टिम



'घामड शेरे'को 'ट्रोल'मा हाम्रो समर्थन छैन : निर्माण टिम

काठमाडौं : हेमराज बिसी निर्देशित फिल्म 'घामड शेरे' प्रदर्शनको तयारीमा रहेको छ। प्रर्दशन मिति नजिकिएसँगै फिल्मको प्रचारप्रसार तीब्र भइरहेको छ।

केही दिनअघि सामाजिक सञ्जालमा फिल्मको नामसँग कांग्रेस सभापति शेरबहादुर देउवालाई जोडेर थुप्रै ट्रोलहरु बने। जसको कारण फिल्म निर्माण टिम विवादमा तानिएको थियो।

विवादमा फसेसँगै बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण टिमले सामाजिक सञ्जालमा छाएका ट्रोलहरुमा आफ्नो कुनै सम्लग्न र समर्थन नरहेको स्पष्टिकरण दिएको छ। प्रेस विज्ञप्ति जारी गर्दै ट्रोलको कारण राजनितिक व्यतित्वमा पर्न गएको असर र असुविधाको लागि निर्माण टिमले माफी मागेका छन्।

'हाम्रो चलचित्रको नामलाई राजनितिक क्षेत्रका अग्रज व्यक्तित्वको नामसँग जोडेर गरिएका सामाजिक सञ्जालका ट्रोलहरुमा हाम्रो कुनै समर्थन छैन। घामड शेरे प्रमुख पात्रको रुपमा रहेको शेरे नाम गरेको पात्रको यस चलचित्र भित्रको चरित्र व्यवहार र कार्यशैली समेत राजनीतिक प्रकृतिको छैन,' प्रेस विज्ञप्तिमा उल्लेख छ। 

साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा यस्तो किसिमको ट्रोलहरु नगर्न समेत प्रेस विज्ञप्तिमा भनिएको छ।

त्यसो त फिल्म घामड शेरेको प्रदर्शन मिति स्थगित भएदेखि नै निर्माण पक्षले विवाद झेलिरहेको थियो। कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउने भनिएको घामड शेरेलाई क्युएफएक्सले कम शो दिएपछि निर्माण पक्षले फिल्मको प्रदर्शन मिति सार्दै कात्तिक २२ गतेमा पुर्‍याएको थियो।

केही दिन अघि फिल्मको पोष्टरसँगै कांग्रेस सभापति शेरबहादुर देउवाको तस्विर सेयर गर्दा कलाकार तथा निर्देशक आशिफ शाहको पनि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। आलोचना भएपछि शाहले उक्त पोष्ट हटाउँदै माफी मागेका थिए।

हेमराज बिसी निर्देशित घामड शेरेमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, सुष्मा निरौला, लोकेन्द्र लेखकलगायतका कलाकारहरुले अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell