
काठमाडौं: उपनिर्वाचनका लागि उम्मेद्वारीविरुद्ध दाबीविरोध गर्नका लागि निर्वाचन आयोगले समय तोकेको थियो आज। तर, तोकिएको समयसीमा सकिँदा पनि कसैको पनि दाबीविरोध परेन। प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यका लागि बिहीवार परेको उम्मेदवारीमा कसैको पनि दाबी बिरोध नआएको निर्वाचन आयोगले विज्ञप्तिमार्फत जनाएको छ।
२०७४ सालको निर्वाचनपछि रिक्त रहेका प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २, प्रदेशसभातर्फ भक्तपुर १ को (क), बाग्लुङ २ को (ख), दाङ ३ को (ख) मा बिहीबार उम्मेद्वारी दर्ता भएको थियो।
आज उम्मेदवारको विरोधमा उजुरी दिन पाउने निर्वाचन कार्यतालिका थियो। निर्वाचन अधिकृतको कार्यालयमा कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। मंसिर १४ गते ४ पदका लागि हुने निर्वाचनका लागि कुल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारको अन्तिम नामावली भने कात्तिक आइतवारमात्र सार्वजनिक हुनेछ।