गएको कार्तिक ९ गते कृति शर्माका भाइ आफ्नै घरबाट हराए। भाइ हराएपछि खोजीका लागि कृतिले फेसबुकमार्फत् त्यसको जानकारी राखिन्। 'देख्नु हुनेले सम्पर्क गर्नुहोला' भन्ने आशयसहित उनले गरेको फेसबुक पोस्टमा उनको भाइको फोटो र पहिचानका लागि थप विवरण थियो। त्यतिमात्र होइन, भाइको खोजी गर्न आह्वान गरिएको सूचना धेरैबीच पुर्याउनका लागि सहयोग गर्न समेत उनले आग्रह गरेकी थिइन्।
उक्त पोस्ट देखेपछि धेरैले सामाजिक सञ्जालहरुमा सेयर गरे।
सुखद् कुरा- घटना भएको भोलिपल्टै कृतिका भाइ भेटिए। उनले भाइ भेटिएको जानकारी पनि फेसबुकबाटै गराइन्। खोजी प्रयासमा साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिइन्।
उनको भाइ भेटिए पनि उनले पोस्ट गरेको ‘भाइ हराएको सूचना’ सामाजिक सञ्जालमा घुम्न भने छाडेन। सम्बन्धित व्यक्ति भेटिएको जानकारी पाइसकेकाहरुले पनि उक्त सूचना आफ्नो प्रोफाइलबाट हटाएनन्। मानिस झुक्किनेक्रम जारी रह्यो र त्यो पोस्ट सेयर भइरह्यो।
कृतिका भाइ कार्तिक १० गते भेटिएका थिए। तर, गायक सन्तोष लामाले आफ्नो ट्वीटरमा उक्त सूचना कार्तिक १५ गते सेयर गरे। किनकि उनलाई हराएको किशोर भेटिएको थाहा थिएन।
सन्तोषका तीन वर्षीय छोरा छन्। छोरा जन्मिएपछि उनलाई यस्ता खबरले चिन्तित बनाउँछ। कसैको सन्तान हराउनुको पीडाको अनुमान गरेरै बालबालिका वा किशोर किशोरी हराएको खबर देख्दा सेयर गरिहाल्छन्।
'यस्तो अवस्थामा आफ्नो एक सेयरले ठूलो सहयोग होला भन्ने सोचेर त्यस्ता पोस्ट सेयर गर्छु,’ सन्तोषले पहिलोपोस्टसँग भने, 'कतिपय अवस्थामा भने हराएको सूचना हुन्छ, भेटिएको जानकारी दिइँदैन। त्यसैले झुक्किन्छ।'
+++
गत वर्ष मंसिर १६ गते जोरपाटीबाट १४ वर्षका दुई किशोर हराए। हराएको दुई दिनपछि उनीहरु भेटिए पनि। स्कूल जाने भनेर उनीहरु घुम्न निस्किएका रहेछन्। आफूसँग भएको पैसा सकिएपछि आफैँ घर फर्किएका थिए।
'उनीहरुलाई त हामीले सम्झायौं। तर महिना दिन पछिसम्म पनि उनीहरु हराएको सूचना सहयोगका लागि एक सेयर भन्दै ट्याग गर्नेहरुलाई सम्झाउन सकेनौं,' हराएका मध्ये एक किशोरका मामा अरुण मगरले बताए। अरुण र उनकी दिदीलाई झण्डै ६ महिनासम्म फोन आइरह्यो। कसैले भन्थे- तपाईंहरुले फोटो राख्नु भएकोजस्तै भाइहरुलाई फलानो ठाउँमा देखेँ। कसैले उनीहरु कलंकीमा काठमाडौं बाहिर जाने गाडी चडेको देखेको बताए। अनि कतिले 'तपाईंका छोराहरु हामीसँग छ। सकुशल चाहिए एक लाख लिएर आउनु' भन्दै मजाकसमेत गरे।
'त्यो अवस्थामा सम्पर्क गर्नुस् भनेर फोन नम्बर राख्यौं। हामीलाई आजसम्म दु:ख दिन्छन्,' अरुणले भने।
भान्जा भेटिए पनि सामाजिक सञ्जालमा उनीहरु हराएको खबर घुमिरहँदा त्यसले नराम्रो असर पर्ला भन्ने चिन्ता पनि थपियो। आप्नैबारे त्यस्ता पोस्टहरु देख्दा उनीहरुमा मानसिक असर गर्ला भनेर अरुणले उनीहरुको नामहरु समेत नलेख्ने सर्तमा कुरा गरिरहेका थिए। तर, उनकै भान्जाको फोटो र बिस्तृत विवरणमा अरुहरु भने महिनौंसम्म लाइक र सेयरको आग्रह गरिरहेका थिए।
'धेरैलाई हटाउन आग्रह गरेर मेसेज गरेँ। हटाए पनि। कतिले चाहिँ धेरै लाइक र सेयर आएकाले नहटाउन ढिपी कसे,' अरुणले सुनाए।
+++
सोसल मिडियामा प्रवाह हुने यस्ता सामग्रीहरु कसैले नजानी त कसैले जानीजानी नै सेयर गरिरहेका हुन्छन् भलै त्यसको उपादेयता सकिएको किन नहोस्। कृतिकाको भाइ खोज्ने आह्वानको पोस्ट सेयर गर्दा सन्तोष लामा झुक्किएका थिए तर, जानीजानी लाइक कमाउनेहरु कम रहेनछन्। अरुणको अनुभवले त्यही देखायो।
सम्बन्धित बालबालिका वा व्यक्ति भेटिएपछि उचित जानकारी दिनुपर्ने तथा त्यस्ता सूचना हटाउनुपर्ने तर्क सन्तोषको छ। केही मानिसले आफ्नो प्रोफाइल धेरैभन्दा धेरैकहाँ पुगोस् भनेर पनि त्यस्ता अपील गरिएको पोस्टहरु सेयर गरेको देखेका छन् सन्तोषले। त्यसलाई 'सस्तो लोकप्रियता'को संज्ञा दिन्छन् उनी। त्यसैले सहयोगी भाव राख्नेले समस्याको समाधानपछि त्यस्ता पोस्ट नहटाउँदा आवश्यक सूचना छायाँमा पर्ने उनको बुझाइ छ।
यसरी बालबालिका तथा किशोर किशोरी हराएको सूचना असान्दर्भिक रुपमा सामाजिक सञ्जालमा घुमिरहनुले सम्बन्धित परिवारलाई नकारात्मक असर पार्ने सम्भावना अधिक हुन्छ। सम्बन्धित व्यक्ति विशेषलाई मात्र नभइ अरु अभिभावकमा पनि त्रास बढाउन यस्ता पोस्ट र सेयरले मद्दत गर्ने मनोविश्लेषक वासु आचार्य बताउँछन्। अभिभावकहरु आफ्ना छोराछोरीलाई लिएर निकै संवेदनशील र भावनात्मक हुने र अन्य बालबालिकाको अवस्थासँग आफ्नो सन्तानलाई दाँज्ने उनको विश्लेषण छ।
'त्यसैले बालबालिका हराएको, उनीहरु खतरा वा समस्यामा परेको खबर सेयर गर्नेमा प्राय अभिभावक वर्ग नै पर्छन्। किनकि उनीहरु त्यस्ता जोखिमलाई लिएर आतंकित हुन्छन्। भोलि आफूलाई पनि त्यस्तै समस्या पर्न सक्ने डरमा रहन्छन्,' उनले भने।
उनले भनेझैं एक सनसनीपूर्ण र अपुष्ट जानकारी पोस्ट गरे राजेन्द्र सिंह ठकुरीले। उनले गत सेप्टेम्बर २२ तारिखमा केही फोटोसहित गरिएको पोस्टमा - भारतबाट केही संकास्पद् मानिस नेपाल भित्रिएका छन्। उनीहरु सन्यासी, भिखारी, व्यापारीकोको भेषमा आउने र बालबालिकाको अपहरण गर्न थालेका छन् भन्दै सबैलाई सतर्क रहन सुझाव दिए।
राजेन्द्रको पोस्ट लाखौं पटक लाइक भयो र हजारौंपटक सेयर।
सेप्टेम्बर २६ मा त उनले खुशी हुँदै नयाँ पोस्ट गरे:
'२२ सेप्टेम्बरका दिन मैले एउटा सूचना सार्वजनिक गरेको थिएँ। जुन छोटोमै समय भित्र १०००० लाइक अनि १८00 कमेन्ट का साथ सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदीबहिनीसामु पुगेको थियो। र, यो खुशीको कुरा थियो। तर, त्यो खबर सर्वत्र छरिएलगत्तै अहिले धमाधम त्यस्ता संकास्पद् व्यक्तिहरुको नेपालमा सोधपुछ अनि खानतलासी भइरहेको खबर आएको छ।'
के उनले गरेको पोस्टका कारण प्रहरीले त्यसरी आइरहेका मानिस समातिरहेको हो त?
नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले उक्त पोस्ट असत्य र भ्रामक भएको जानकारी दिए। उनले अपहरण र बालबालिका हराएको तथ्याङ्कले पनि उक्त खबर गलत भएको पुष्टि गर्ने बताए। भने, 'यसरी सामाजिक सुरक्षामाथि प्रश्न उठाउने, अफवाह फैलाउने एवं आम मानिसमा त्रास फैलाउने खबर फैलाउनेलाई हामी कारवाहीको दायरामा ल्याउने छौं। उनीहरुले आफ्नै पोस्ट प्रष्ट्याउने आधार भए अनुसन्धान गर्छौं।'
+++
पुराना तथा झुटा खबर फैलाउँदा अभिभावकहरु त्रासमा रहने र धेरैपटक यस्ता सूचना देख्दा उनीहरुमा मानसिक असर पर्ने मनोविश्लेषक आचार्य बताउँछन्। यस्ता विषयलाई लिएर अभिभावक मानसिक तनावमा रहनेले, बालबालिकाको हुर्काइ र मानसिक एवं शारीरिक विकासमा पनि हानी गर्ने उनको दाबी छ।
'आजभोलि बालबालिका हराएको र अपहरणमा परेको खबरले आमाबुबा निकै डराएका छन्। जसका कारण आफ्ना छोराछोरीलाई बाहिर खेल्न पठाउने, अतिरिक्त क्रियाकलापमा सहभागी नहुने क्रम बढ्दो छ,' आचार्यले भने, 'घरबाहिर नपठाएपछि उनीहरु घरभित्रै बसेर मोबाइल, कम्प्युटरमा झुम्मिन्छन् जसले उनीहरुको शारीरिक, सिर्जनात्मक विकास त हुँदैन नै, उनीहरुमा मनोवैज्ञानिक समस्याहरु पनि देखिन्छ।'
अभिभावकले झुटा तथा पूराना पोस्टहरुको विश्वसनीयता एवं सान्दर्भिकताका बारेमा बुझेर मात्र सेयर गर्नु पर्ने उनको सुझाव छ। साथै बालबालिकालाई त्यस्ता पोस्टबारे जानकारी नदिइ आफ्नो निगरानीमा सामाजिक क्रियाकलापमा सहभागी गराउनु पर्ने आचार्य बताउँछन्।
'झुटा तथा भ्रामक पोस्टहरुमा त निगरानी गर्ने र हटाउने निकाय आवश्यक देखिएको छ,' उनले भने।
नेपाल प्रहरीको सूचना तथा सञ्चार प्राधिकरण प्रमुख डिआइजी डाक्टर राजिव सुब्बा यस्तै समस्या आउन थालेपछि सोसल साइटहरुले नीतिगत सुधार गरिरहेको बताउँछन्। आम मानिसमा सामाजिक सञ्जाल प्रयोग गर्दा होसियारी अपनाउनुपर्ने उनले बताए। त्यसो भयो भने आतंकित बनाउने तथा भ्रामक सूचना निस्तेज हुनसक्छ। 'सामाजिक सञ्जालले झुटा खबर नियन्त्रणका लागि आवश्यक संयन्त्र बनाउँदैछन्। जस्तै फेसबुकले हेट स्पीच, ट्वीटरले राजनीतिक प्रचार रोक्दैछ,’ उनले भने, ‘त्यसअघि सही हो या गलत भन्ने छुट्ट्याउने, संयमित भएर सूचना लिने र सेयर गर्ने विषय त प्रयोगकर्तामा निर्भर हुने कुरा हो।'