PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'मार्लबोरो म्यान'को निधन, जसले वास्तविक जीवनमा कहिल्यै तानेनन् चुरोट



'मार्लबोरो म्यान'को निधन, जसले वास्तविक जीवनमा कहिल्यै तानेनन् चुरोट
सन् १९९७ मा क्यालिफोर्नियास्थित एक बोर्डमा राखिएको मार्लबोरोको विज्ञापन। फाइल फोटो : Getty Image

'मार्लबोरो म्यान'को नामले चिनिने रोबर्ट नोरिसको ९० वर्षको उमेरमा आइतवार निधन भएको छ। नोरिस 'मार्लबोरो' ब्राण्डको चुरोटको प्रचारमा देखिएपछि चर्चामा आएका थिए।

उनको शनिवार कोलोराडो स्प्रिङको आफ्नै फार्म हाउसमा निधन भएको हो। उनको दुई छोरी, दुई छोरा, १३ जना नाति/नातिना र १९ पनाति/पनातिना छन्।

उनी 'मार्लबोरो म्यानको' रुपमा १२ वर्षसम्म विभिन्न म्यागाजिन तथा बिलबोर्डहरुमा छाएका थिए। उनी मार्लबोरोको बिज्ञापनमा 'काउबोइ ह्याट'मा देखिएका हुन्थे भने ओठमा या हातमा चुरोट च्यापेका हुन्थे।

उनी एक दशकभन्दा बढि समय चुरोटको विज्ञापनमा देखिएतापनि उनले वास्तविक जीवनमा भने कहिल्यै पनि चुरोट तानेनन्। पछि आफ्ना सन्तानका लागि खराव उदाहरण दिँदैछु कि भन्ने लागेपछि उनले चुरोटको विज्ञापनमा देखिन पनि छाडे।

अमेरिकाको इलिनोइस राज्यस्थित सिकागो शहरमा जन्मिएपनि उनलाई सानैदेखि 'काउबोइ बन्न' निकै रहर लाग्थ्यो। उनले १८ वर्षको उमेरमै घोडा पाल्न शुरु गरिसकेका थिए। १९५० मा उनी फार्म हाउस बनाउनकै लागि कोलोराडोमा बस्न थाले। जहाँ उनको ६३ हजार एकर (३७ हजार ६४५ विघा) जमिन छ।

त्यतिबेला मार्लबोरो ब्राण्डको चुरोट विशेषगरी महिलाहरुमा केन्द्रित थियो। कम्पनीले पुरुषहरुमाझ पनि कसरी बिक्री गर्न सकिन्छ भनेर सोधखोज गरिरहेका बेला सिकागो एडभर्टाइजर लियो बर्नेटले 'मार्लबोरो म्यान'को अवधारणा ल्याएका थिए। जसमा उत्तम स्थानमा मार्लबोरो चुरोट पिइरहेका काउबोईको कन्सेप्टलाई अघि सारिएको थियो।

विज्ञापनका लागि पहिले त प्रोफेसनल मोडलको प्रयोग गरिएको थियो तर पछि बर्नेटले साच्चिकै काउबोईलाई प्रयोग गर्ने क्रममा नोरिसलाई लिइएको थियो। नोरिसका छोरा बोबीले केकेटिभीलाई बताए अनुसार अभिनेता जोन वाएनसँगको उनको फोटो पत्रिकामा देखेपछि उनलाई मार्लबोरोको विज्ञापनको लागि अफर गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell