PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकाको 'हुकुम' नमान्ने बोलिभियन नेता एभो मोरालेस राजनीतिक शरण लिन पुगे मेक्सिको



अमेरिकाको 'हुकुम' नमान्ने बोलिभियन नेता एभो मोरालेस राजनीतिक शरण लिन पुगे मेक्सिको
File photo: Martin Alipaz/EPA-EFE

बोलिभियाका निवर्तमान राष्ट्रपति एभो मोरालेस मेक्सिकोमा राजनीतिक शरण लिन पुगेका छन्।  अमेरिकालाई टक्कर दिएर सत्तामा पुगेका राष्ट्रपति मोरालेसमाथि निर्वाचनमा धाँधली भएको आरोप लागेपछि उनले सोमबार राजीनामा दिएका थिए।

ट्वीट गर्दै उनले बोलिभिया छोड्दा आफू निकै दु:खी भएको भन्दै आफू थप शक्ति र उर्जाका साथ फर्कने बताएका छन्।

कोका (कोकेन) खेती गर्ने किसानको पक्षमा बोल्दै राष्ट्रपति बनेका मोरालेसको अमेरिकासँग तिक्ततापर्ण सम्बन्ध रहँदै आएको थियो। अमेरिकाले कोकाको खेती उन्मुलन गर्न दबाब दिएता पनि उनले कोकाको खेतीलाई कानूनी मान्यता दिएका थिए। उनले २००८ मा अमेरिकी राजदूत फिलिप गोल्डबर्गलाई देशनिकाला गर्ने आदेश दिएका थिए। उनले कुनैपनि किसिमको अमेरिकी हुकुम मान्नबाट अस्वीकार गरेका थिए।

सन् २००६ मा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएका उनी विभेद र शोषणको अन्तय गर्ने नाराका साथ सत्तामा टिक्दै आएका थिए। तर यसपटक राष्ट्रपति निर्वाचनपछि आन्दोलन चर्किँदै गर्दा उनले सोमवार राजीनामा दिएका हुन्। उनलाई सेना प्रमुखले समेत राजीनामा दिन सुझाव दिएको बताइएको छ।

प्रदर्शनका क्रममा प्रहरीसँग भएको भिडन्तमा मोरालेसका समर्थकहरु घाइते भएका थिए।  सेनाले समेत प्रहरी र विपक्षीको साथ दिएपछि मोरालेस राजीनामा दिन बाध्य भएको अनुमान गरिएको छ।

हाललाई सिनेटका उपप्रमुखले अर्को निर्वाचन नभएसम्म आफूले अन्तरिम राष्ट्रपतिको रुपमा काम गर्ने घोषणा गरेकी छिन्।

यता, मेक्सिको, भेनेजुएला र क्युबाले भने अमेरिकाको चाहना अनुरुप बोलिभिया सेनाले 'कू' गरेको आरोप लगाएका छन्। उनीहरुले मोरालेसलाई नै राष्ट्रपतिका रुपमा समर्थन गर्ने घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बामपन्थी नेताको अवैध सत्ताबाट बहिर्गमनसँगै बोलिभियामा लोकतन्त्रको उदय भएको प्रतिक्रिया दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell