![राजस्व चुहावट अभियोगमा तीन भारतीयविरुद्ध ११ करोडको मुद्दा](https://pahilopost.com/assets/upload/contentthumb/KTM-District-Court.jpg)
काठमाडौं : नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन भारतीय नागरिकमाथि राजस्व चुहावटमा मुद्दा दायर गरेको छ। भारतीय नागरिक केशव बंशलसहित तीन जनामाथि मुद्दा दायर गरिएको हो। विभागले ११ करोड बिगो दाबीसहित मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
विभागले बंशलसहित हस्पी केयर इन्टरनेशनलका रामसुन्दर रायभर र श्याम ट्रेडर्सका राकेश पाण्डेयलाई पनि विपक्षी बनाएको छ।
बस्तु तथा सेवा खरिद नै नगरी नक्कली बिजकमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट कसुरमा विभागले मुद्दा दायर गरेको हो।
बंशलले राजस्व चुहावट गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारीसाधन नेपाली नागरिकहरूको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको विभागले जनाएको छ।
विभागले मूल्य अभिवृद्धि करतर्फ तीन करोड १२ लाख १९ हजार ९५९ रुपैयाँ र आयकरतर्फ आठ करोड सात लाख ६४ हजार २०५ रुपैयाँ राजस्व चुहावट भएको दाबी गरेको छ। दुवै गरी विभागले ११ करोड १९ लाख ८४ हजार १६४ रुपैयाँ बिगो कायम गरेको छ।
विभागको दाबी अनुसार ठहर भएका आरोपितलाई बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजाय हुनेछ।