PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

हङकङ आन्दोलन : सुरक्षा चुनौती भएको भन्दै बिहिवार हङकङका सबै विद्यालय बन्द



हङकङ आन्दोलन : सुरक्षा चुनौती भएको भन्दै बिहिवार हङकङका सबै विद्यालय बन्द
Photo: AFP/Dale De La Rey

हङकङका विद्यालयहरु बिहिवार बन्द गरिने भएका छन्। सरकार विरुद्ध भइरहेको आन्दोलनमा यातायात र सुरक्षाका चुनौती उत्पन्न भएको भन्दै हङकङको शिक्षा विभागले सो निर्णय गरेको हो।  

चार महिनादेखि भइरहेको आन्दोलनमा विद्यालयको पढाइ प्रभावित भएको भन्दै विभागले आन्दोलन रोक्न प्रदर्शनकारीहरुलाई आग्रह समेत गरेको छ। 

सरकारसँगै चीन विरोधी प्रदर्शन चर्किँदै गर्दा हङकङभर सार्वजनिक यातायात र हवाई क्षेत्र प्रभावित हुँदै आएको छ। प्रहरी र प्रदशर्नकारीबीच दिनहुँ झडप भइरहँदा विद्यालय र सपिङ मलहरु बन्‍द हुँदै आएका छन्। केही दिन अघि प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि आन्दोलन थप उग्र बन्दै गएको छ।

करिब ६ महिना अघि हङकङ सरकारले संसदमा सुपुदर्गी विधेयक प्रस्तुत गरेको थियो। त्यसयता हङकङमा दिनहुँ प्रदर्शन भइरहेको छ। विधेयक विरुद्धको आन्दोलन उग्र बन्दै गएपछि सरकारले विधेयक फिर्ता लिए पनि प्रदर्शनकारीहरुले आन्दोलन रोकेका छैनन्।

प्रदर्शनकारीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने, प्रदर्शनका क्रममा भएको दमनबारे निष्पक्ष छानविन हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।

विधेयक विरुद्ध सुरु भएको आन्दोलनमा अहिले आएर चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ।

प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले एक राष्ट्र दुई प्रणाली नीतिमाथि संकट उत्पन्न भए कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ। हाल प्रदर्शनरत पक्षलाई 'आतंकवाद' सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell