PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उपराष्ट्रपति पुनसँग राष्ट्रपति हमिदले भने, 'नेपालको जलविद्युतबाट बंगलादेशले पनि लाभ लिन चाहन्छ'



उपराष्ट्रपति पुनसँग राष्ट्रपति हमिदले भने, 'नेपालको जलविद्युतबाट बंगलादेशले पनि लाभ लिन चाहन्छ'
फोटो : उपराष्ट्रपतिको कार्यालय।

काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शिष्टाचार भेट गरेका छन्। नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदसँग उपराष्ट्रपति पुनले बुधवार दिउँसो शिष्टाचार भेट गरेका हुन्।

नागपोखरीस्थित होटेल मेरियटमा भएको भेटमा दुईपक्षीय आपसी सम्बन्ध, सहयोग र सहकार्यका विविध आयममा छलफल भएको थियो।

भेटमा बंगलादेशका राष्ट्रपति हमिदले नेपालको भ्रमण गर्न पाउँदा अत्यन्त हर्षित रहेको बताए। सन् २०७१ मा बंगलादेश स्वतन्त्र भएपछि बंगलादेशलाई राष्ट्रको मान्यता दिने नेपाल सातौँ राष्ट्र भएको स्मरण गर्दै उनले नेपाललाई धन्यवाद दिए।

दुई देशबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउँदै राष्ट्रपति हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपालको राष्ट्रिय आकांक्षामा बंगलादेशको सधै साथ, सहयोग र सहकार्य हुने बताए। उनले बंगलादेश र नेपाल सधै साथ साथमै रहेको बताए।

राष्ट्रपति हमिदले नेपालको जलविद्युत क्षेत्रबाट बंगलादेशले पनि लाभ लिन खोजिरहेको बताए। उनले नेपालका थुप्रै विद्यार्थीहरुले बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेको बताउँदै बंगलादेशले छात्रावृत्ति प्रदान गर्दै आइरहेको स्मरण गरे।

भेटमा राष्ट्रपति हमिदले उपराष्ट्रपति पुनलाई बंगलादेश भ्रमणको लागि निमन्त्रणा समेत गरेका थिए। उनले बंगलादेशले नेपालसँग रेलवे, सडक, हवाई र जलमार्गमार्फत सञ्जाल विस्तार गर्न चाहिरहेको बताए।

बंगलादेशका राष्ट्रपति हमिदसँगको भेटमा उपराष्ट्रपति पुनले सन् २०७२ मा कायम भएको दुई देशबीचको दौत्य सम्बन्ध अहिले प्रगाढ भएको र जनस्तरसम्म फैलिएको बताए। उनले निकटमित्र राष्ट्रहरुको रुपमा आगामी दिनमा दुई देशबीचको सहयोग अझै सुदृढ् गर्दै जानुपर्ने बताए।

उपराष्ट्रपति पुनले बंगलादेशले हासिल गरेको आर्थिक वृद्धि र विकासप्रति खुशी व्यक्त गरे। उनले राष्ट्रपति हमिदले बंगलादेशको स्वतन्त्रताका लागि गरेको महान् संघर्षको स्मरण गर्दै तत्पश्चातको सक्रिया राजनीतिक भूमिकाको प्रशंसा गरे।

उपराष्ट्रपति पुनले भौगोलिक रुपमा निकट रहेका दुई मुलुक संस्कृति, परम्परा तथा मूल्यहरुमा समेत समानता रहेको बताए। उपराष्ट्रपति पुनले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर विकास र समृद्धिका लागि आफ्नो प्रयास जारी राखेको बताए। 

उनले नेपालको उर्जा क्षेत्र समृद्धिको आधार भएको र यसबाट बंगलादेश पनि लाभाम्वित हुन सक्ने बताए। नेपाल र बंगलादेश सडक, रेल, हवाई तथा जलमार्गबाट जोडिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले गंगा नदिमार्फत नेपालका कोशी र गण्डकीलाई बंगलादेशको जमुना/पद्या नदिहरुसँग जलमार्ग विकासमार्फत जोड्न सकिने बताए। उनले सिंहावाद-रोहनपुर रेलमार्ग तथा सइदपुर-विराटनगर-भद्रपुर हवाई मार्गको सञ्जाल बनाउन सकिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell