सन् १९७१ मार्च ७ तारिख। बंगलादेशको ढाकास्थित रेसकोर्स मैदानमा मानिसहरूको भीड लागेको थियो। झन्डै दश लाख मानिस हातमा बाँसको भाटा लिएर क्रमबद्ध उभिएका थिए। ती भाटा प्रतिद्वन्दीमाथि प्रहार गर्न भने थिएन। बरु प्रतिरोधको प्रतीक थियो।
स्वतन्त्रताको पक्षमा निरन्तर नारा गुन्जिरहेको थियो। भीड लखेट्न पाकिस्तानी सेनाको हेलिकप्टर आकाशमा फन्को मारिरहेको थियो।
त्यस दिन भीडले मात्र होइन रेडियो पाकिस्तानको ढाका स्टेसनले पनि सरकारको आदेश अवज्ञा गर्यो। र, भीडमाझ ठाडो शीर लिएर आत्मविश्वासका साथ स्वतन्त्रताको नारा भट्ट्याएका शेख मुजीबुर रहमानको भाषण प्रसारण गर्यो। सरकारको आदेशमा परिचालित सेना समेत लाचार साबित भयो।
मुजीबुरको आवाज रेडियोमार्फत गुन्जियो। उनले भाषण गरिरहेका थिएनन्। बरु, पाकिस्तानी सैनिक शासनविरुद्ध चुनौती दिइरहेका थिए। जुन भाषण पछिसम्म उपमहाद्वीपमा दिइएको भाषणमध्ये प्रभावकारी कहलियो।
घटना भएको केही दिनपछि समस्याको समाधान खोज्न पाकिस्तानी तत्कालीन राष्ट्रपति याहया खाँ ढाका पुगे। तर उनी पूर्वी पाकिस्तानी जनताको स्वतन्त्रताको माग पूरा गर्ने पक्षमा छैनन् भन्ने संकेत पहिले नै दिइसकेका थिए।
दोस्रो पटकको भेट राष्ट्रपति याहयाको भवनमा भयो। जहाँ पुग्दा मुजीबुर बंगलादेशको झन्डा फहराउँदै पुगेका थिए। भलै बंगाली राज्यको नेताको कुर्सीमा आसिन भइसकेका थिएनन्। किनकि सम्झौता हुन सकेन।
सोही वर्ष मार्च २५ मा अचानक राष्ट्रपति खाँ सैनिक लिएर पाकिस्तान फर्किएको खबर फैलियो। सोही दिन राती बाहिर एकाएक गोली, बम र बारुदको आवाज आइरहेको थियो। ठीक त्यही पाकिस्तानी हमलाको बीचमा मुजीबुरले बंगलादेश स्वतन्त्र राज्य घोषणा गरेको बीबीसी हिन्दीको रिपोर्टमा जनाइएको छ।
उनी डगमगाएका थिएनन्। उनले वायरलेसमार्फत सन्देश प्रवाह गर्दै भने,’बंगलादेशी जनता जो जहाँ हुनुहुन्छ त्यहीँबाट पाकिस्तानी सेनाको प्रतिरोध गर्नुहोस्। अबको लडाईँ तबसम्म जारी रहन्छ जबसम्म एकएक पाकिस्तानी हाम्रो धर्तीबाट निकालिँदैनन्।’
रातको करिब एक बजे पाकिस्तानी सेनाको एक दल मुजीबुरको घरमा छिर्यो। गेटबाटै सैनिकहरू आक्रामक प्रस्तुत भए। मुजीबुरका एक सुरक्षाकर्मीको गोली लागी हत्या भएपछि उनले आत्मसमर्पण गरे। उनलाई ९ महिना बाह्य खबर बञ्चित गरी मियावाली जेलमा राखियो।
वर्ष १९७१ कै डिसेम्बर ६ देखि भारत-पाकिस्तान द्वन्द्व समाप्त नभएसम्ममा अर्थात् १६ डिसेम्बरभित्र एक सैनिक ट्राइब्यूनलले उनको हत्याको घोषणा गरेको थियो।
त्यही बीच पाकिस्तानको सत्ता जुल्फिकर अली भुट्टोको हातमा पर्यो। उनको निर्देशनमा मुजीबुरलाई जेलबाट निकालेर गेस्ट हाउसमा लगियो। बीबीसी हिन्दीले कुलदीप नैयरलाई उद्धृत गर्दै लेखेको छ, 'एक दिन मुजीबुरलाई भेट्न भुट्टो गेस्ट हाउसमै पुगे। उनले आफू राष्ट्रपति भएको सुनाउँदा बेखबर रहेका मुजीबुर छक्क परे। भुट्टोले विदेशी मामला, रक्षा र सञ्चार विभाग पाकिस्तान र बंगलादेश मिलेर चलाउने प्रस्ताव राखे।'
मुजीबुरले भनेका थिए- ‘म अहिले जेलमा छु। आफ्ना मान्छेहरुसँग सल्लाह नगरी बचन दिन सम्भव छैन।’
सन् १९७२, जनवरी ७। मुजीबुर जेलमुक्त भए। उनी सिधै लण्डन उड्ने तयारीमा थिए। त्यस समय राष्ट्रपति भुट्टो स्वयम् मुजीबुरलाई छाड्न चकलाला एयरपोर्ट गएका समेत थिए।
ठीक दुई दिनपछि मुजीबुर फर्किए। फर्कँदा उनी केही घण्टाका लागि दिल्लीमा रोकिए। त्यहाँ उनको भेट तत्कालीन राष्ट्रपति गिरी, प्रधानमन्त्रीसहित पुरै मन्त्रिमण्डलसँग भयो। त्यहाँ उनले एक जनसभामा मन्तव्य दिए जसमा स्वाधीनताको लडाईँका लागि साथ दिएकोमा भारतीयलाई धन्यवाद व्यक्त गरे।
उनी बंगलादेश फर्कँदा लाखौँ मानिसको भीड स्वागतका लागि खडा थियो। नौ महिनाको जेल जीवनले उनको हाउभाउ, शारीरिक अवस्था केही नाजुक बनाएको थियो। जब आफ्ना जनता र अँगालो फैलाएर आएका प्रधानमन्त्री ताजउद्दिन अहमद देखे तब आँसु थाम्न सकेनन्।
पाकिस्तानविरुद्ध सशस्त्र संग्रामको अगुवाइपछि उनी बंगलादेशको प्रथम राष्ट्रपति बने। सत्ता सम्हाले र युद्धका कारण ध्वस्त भएको देशको पुनर्निर्माण गरे।
त्यस समय शेख मुजीबुर रहमान बंगलादेशको प्रमुख धर्म निरपेक्ष राजनीतिक दल ‘बंगलादेश अवामी लिग’मा आबद्ध थिए।
उनले प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए। बंगाली राज्यका लागि उनी सधै कुशल नेता ठहरिए। यसरी ‘राष्ट्रपिता’ कहलिए। मुजीबुरलाई ‘बंगबन्धु’को पदवी समेत दिइएको थियो।
समय सधै एउटै रहँदैन। १९७५ को सुरुवातदेखि नै भ्रष्टाचार मौलायो। झै–झगडा सुरु भयो। सोही वर्ष १५ अगस्टको एक बिहान सेनाले मुजीबुरको धनमंडीस्थित आवासमा हमला घोषणा गर्यो। घोषणा केही बेरमै यथार्थ बन्यो। राष्ट्रपतिको आवास केही बेरमै चिहान सरह बन्यो। सुरुमै भर्याङ ओर्लिरहेका मुजीबुर मारिए। त्यसपछि बेगम मुजीबलाई मारियो। त्यसपछि जेठा छोरा जमाल, दुई बुहारी र कान्छा छोरा १० वर्षीय रसेल पनि मारिए।
बीबीसीले जनाए अनुसार उनको लासलाई घिसारेर ट्रकमा हालिएको थियो। यसरी एक स्वतन्त्र राज्यका लागि लड्ने योद्धाको अन्त्य भयो।
स्वाधीनताको सुखानुभूति धेरै समय गर्न नपाइ दु:खद् अन्त्य भोगेका मुजिबुरको तस्बिर बुधबारदेखि नेपाली मिडियामा देखिएको छ। तर, निकै कमको आँखामा पर्ने गरी। यति कम उनको काम र त्यागको मुल्याङ्कन भयो।
तर कसरी छाएको छ नेपाली मिडियामा?
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद हाल नेपालमा छन्। मंगलबार नेपाल आएका उनको राजनैतिक व्यक्तित्वहरूसँगको भेटघाटसँगै भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रागिरि भ्रमणको कार्यक्रम तय भएको छ।
कार्यक्रम अन्तर्गत उनले बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटवार्ता गरे।
नेपाली राजनीतिज्ञहरूसँगको भेटका तस्बिरहरू सार्वजनिक भए। जसमा हमिदको आसन पछाडि एक तस्बिर देखियो।
बाक्लो जुङ्गा। गोलो फ्रेमवाला ढ्याब्रे चस्मा। कालो कोट। बिल्कुल श्यामश्वेत।
औपचारिक भेटवार्ताका क्रममा आसनको ठिक माथि त्यसरी तस्बिर सजाएको विरलै देखिन्छ। तर, बंगलादेशका राष्ट्रपतिको उपस्थितिमा बंगबन्धु शेख मुजीबुरको उक्त तस्बिर देखियो।
नेपाली पक्षले अतिथि खुसी पार्न हो या बङ्गलादेश पक्षले आफ्नो राष्ट्रपिता सम्झनामा उक्त तस्बिर राख्यो। जसमा बंगाली राज्य स्थापनामा प्रमुख योगदान पुर्याउने व्यक्तिप्रतिको सम्मान झल्कन्छ।
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले बंगलादेशी पक्षले नै आफ्ना राष्ट्रपिताको सम्मानमा उक्त तस्बिर आफैं राखेको बताए। अधिकारीले भने, 'हाम्रा जति पनि राजनीतिज्ञ राष्ट्रपति हमिद बसेको होटलमा भेटका लागि जानुभएको छ त्यहाँको व्यवस्थापन उहाँहरुले नै गर्नुभएको हो। मुजीवलाई उहाँहरुले राष्ट्रपिता मान्नुहुन्छ। फोटो उहाँहरुले नै राख्नुभएको हो।'