PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

स्मृति, अफ्ठ्यारो र उज्यालो : त्यसैले त सन्दुक रुइत



स्वेच्छा राउत

स्मृति, अफ्ठ्यारो र उज्यालो : त्यसैले त सन्दुक रुइत

चौरीको लस्कर पछिपछि लामबद्ध मानिसहरू। कुनैकुनै थुम्कामा पग्लिनसकेका हिउँका थुप्रा। गुराँस ढकमक्कै भएकाले जंगल खासै डरलाग्दो देखिएको थिएन।

तर, बाटो?

ढुङ्गा ताछेर पैतालामात्र अड्याउन बनाइएका खुड्किलाहरू अनि भिर। कतै अल्झिने डर त कतै चिप्लने।

अन्धकार हुँदा पनि परपरसम्म कुनै बस्तीको नामोनिशान छैन। त्यही अनकन्टार बाटाकै बीचमा गुफाको बास। ऊनको बाक्लो मण्डीलाई पनि छेड्ने सिरेटो। ओलाङ्चुङगोलाबाट पहिलोपटक बुवाको पछिपछि लागेर गाडी भएको ठाउँसम्म पुगेको थियो सात वर्षको 'फुच्चे'। पन्ध्र दिन लामो पैदल र त्यसपछि गाडीको यात्रा पूरा गरी मानिसको भिड र बजार भएको अनौठो ठाउँमा पुग्यो ऊ। त्यही बाटाले उसलाई डोर्‍यायो जन्मथलोदेखि भारतसम्म।

त्यतिखेरको यात्राको धुमिल यादमात्र बाँकी छन् अब त्यो 'फुच्चे' अर्थात् चर्चित डाक्टर सन्दुक रुइतसँग।

अहिले रुइत ६४ वर्ष लागिसके। ५७ वर्षअघि हिँडेको बाटाको सम्झना धमिलिनु स्वभाविक हो। तर, ती दिन अनि त्यो यात्रा सम्झँदै गर्दा उनका आँखामा एक प्रकारको ऊर्जा झल्कन्छ। भिरको बाटोबारे सुनाउँदा भय अनि गुराँसको रङ्ग सम्झँदा प्रफुल्लित देखिन्छन् उनी। यात्राको ठूलो पाटो बिर्सनुको विस्मात भन्दा बढी सम्झनामा आउने गोधुली दृश्यहरू मूल्यवान लाग्छन् उनलाई।

त्यस यात्रामा रुइतले दुई चीजको शक्ति महसुस गरे- बुबा सोनाम वाङ्ग्यालको काँध । र, आफ्ना आँखा। त्यसैले त आज पनि त्यो कहाली लाग्दो यात्रा र ती बाटाको सम्झनालाई उनी आफ्नो दृष्टि राम्रो हुनाको प्रमाण मान्छन्।

आफ्नै दृष्टिप्रति यतिविघ्न कृतज्ञ रुइत आज दृष्टिको पर्याय बनेका छन्। उनले एक लाख ३० हजारभन्दा बढी मानिसको गुमेको दृष्टि फर्काए। ती लाखौं मानिसका आँखामा ज्योति जित्न अनवरत संघर्ष गरे। संघर्षका अध्यायहरू निरन्तर फेरिए। तर, उनी थाकेनन्। ताप्लेजुङको हिमाली गाउँ ओलाङ्चुगोलाबाट सुरु भएको संघर्षका अझै थुप्रै अध्याय बाँकी छन्, किनभने रुइतका सपना सीमित छैनन्।

+++

गाउँ छाडेर पहिलोपटक दार्जीलिङस्थित सेन्ट रोबर्ट्स स्कुल पुग्दा रुइतलाई लागेको थियो - नयाँ दुनियाँमा पुगेँ। यो ठाउँ मेरो होइन। यहाँका मानिस मैले बुझ्ने भाषा बोल्दैनन्। यिनीहरूले मलाई बुझ्दैनन्।

तर, छोराको भविष्यलाई लिएर हजार सपना देखेका उनका बुवाले सायद बुझेका थिए- भाषा समस्या होइन। केही समयमै छोराले बुझ्नेछ। पढाइको नियम थाहा पाउनेछ। मानिसहरू चिन्नेछ, अनि आफ्ना सपनाहरू पनि।

फरक वर्ग र समुदाय, केही समय रुइत र उनका साथीबीच बाधक बन्यो। उनले साथीहरूलाई र साथीहरूले उनलाई बुझेनन्। फरक जातका भएकाले साथीहरू गिज्याउँथे। उनीहरूकै बोलीचालीको भाषामा गाली पनि गर्थे। वचन फर्काउन नसक्ने रुइतलाई त्यस्तो अवस्थामा भने परिवारको सम्झनाले सताउँथ्यो। घरको याद झलझली आउँथ्यो। जुन बाटो आएका थिए, फर्किने पनि त्यही हो भन्ने थाहा थियो उनलाई। त्यसैले घर फर्कने सम्झँदा तिनै अप्ठ्यारा बाटाको तस्बिर ताजा हुन्थे।

तर, बुवाको अड्कलले गति लिन समय लिएन। रुइतले भाषा बुझ्दै गए। अक्षर चिने। र, त्यससँगै उनलाई आफ्ना सपना र उद्देश्य प्रष्ट लाग्न थाले। उनलाई लाग्यो - मेहनत धेरै गर्नुपर्छ।

'साथीहरूको हेपाइ र गिज्याइका कारण मैले सानैमा निकै महत्वपूर्ण कुरा बुझेँ। थाहा पाएँ - म मेरा सहपाठीभन्दा कमजोर पृष्ठभूमिबाट आएको हुँ। त्यसैले मैले अलिकति बढी मिहिनेत गर्नुपर्छ। नत्र, उनीहरूको बराबरी गर्न सक्दिनँ। सफल हुन सक्दिन,’ उनले पुराना कुरा सुनाए।

उनको 'अलिकति बढी मिहिनेत'को अर्थ थियो - आधा निद्रा माया मार्नु। आरामका लागि बज्ने होस्टलको घण्टीले उनलाई कोठासम्म पुर्‍याउँदैन थियो। न त कुनै छुट्टी घाम ताप्ने फुर्सद लिएर आउँथ्यो। उनलाई थाहा थियो- ‘अरुले भन्दा मैले बढी मेहनत गर्नुपर्छ।’

१३ वर्ष पुग्दा कक्षा ६ को पढाइ सकेर नेपाल फर्किए सन्दुक रुइत। भारत-पाकिस्तान युद्धका कारण दार्जिलिङको जनजीवन सामान्य रहेन। उनी पढ्ने स्कुल पनि बन्द भयो। कक्षा सात देखिको पढाइ सिद्धार्थ वनस्थलीबाट सुरु भयो। नयाँ स्कुलमा उनका लागि भाषा समस्या बनेन। अक्षरहरू पनि परिचित नै थिए। तर, सहपाठीको भिडमा सन्दुकको जात उनको उछितो काढिने विषय बन्यो। उनीहरूका लागि सन्दुक बिरानो ठाउँबाट आएका ‘भोटे’ थिए। सहनशील सन्दुकलाई यस्ता दुर्वचन आउने क्रम जारी रह्यो।

तर, ती सहपाठीले सायदै कहिल्यै सोचेका थिए - हरेक दुर्व्यवहार सहने, लजालु स्वभाव, नम्र बोली अनि चिम्सा आँखा भएको त्यही भोटे कुनै दिन संसारकै नामी डाक्टर बन्छ।

डाक्टर बन्ने लक्ष्यसम्म भने उनले स्कुल पढ्दापढ्दै सहनु परेको बज्रपातले निम्त्याएको थियो।

सन् १९७०। एसएलसी परीक्षा नजिकिँदो थियो। उनीसँग सबैभन्दा निकट मान्छे अर्थात् उनकी कान्छी बहिनी याङ्ला क्षयरोगले सिकिस्त भइन्। ठूलो अस्पताल पुर्‍याउन र महँगा औषधी खुवाउन पैसा थिएन। ऋण लिएरै अस्पताल पुर्‍याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो।

आफन्त सोच्थे - सन्दुकले धेरै पढेको छ। उसैले बहिनीलाई ठीक पार्छ।

तर, सन्दुक त बहिनीको त्यो अवस्थामा उनीसँगै गाउँमा बसूँ या एसएलसी परीक्षा दिन काठमाडौं फर्कूँ भन्ने दोधारमा अल्झिएका थिए।

त्यही अन्योलबीच मृत्युशैय्यामा छट्पटाइरहेकी बहिनीले भनिन्- ‘दाइ धेरै पढ्नु। उपचार नपाउने मजस्ताका लागि धेरै गर्नुपर्छ। जाँच दिन जानु।’

रोगले थला परेकी बहिनीलाई छोड्न सकेका थिएनन् उनी। परीक्षा छाड्न दिने पक्षमा बहिनी थिइनन्। जित बहिनीकै ढिपीको भयो ।

सन्दुकले घर छाडे, याङ्लाले धर्ती छाडिन्। समयमा उपचार गराउन नसक्नुको पीडाले सन्दुकलाई भने जीवनभर गाँजिरह्यो।

‘प्यारो मान्छे गुमाउनुको पीडाले घोच्थ्यो। त्योभन्दा बढी सताउँथ्यो उसको मृत्युको कारणले। याङ्ला बितेपछि मलाई सधैं लाग्यो - अभावका कारण कसैले उपचार गराउन सक्दैनन् भने म तिनीहरूका लागि काम गर्छु। डाक्टर बनेर,' उनले आफ्नो लक्ष्य तय गरे।

सन्दुकले सोही वर्ष एसएलसी पास गरे, प्रथम श्रेणीमा।

त्रिचन्द्र क्याम्पसबाट आइएस्सी पूरा गरेपछि कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाए। र, एमबीबीएस पढ्न लखनउस्थित किङ जर्जेज मेडिकल युनिभर्सिटी पुगे।

चिकित्साशास्त्रको अध्ययनको ८ सिटका लागि उनले डेढ सय विद्यार्थीसँग प्रतिस्पर्धा गरेका थिए। त्यो मेहनतले अर्जेको उपलब्धि सफल बनाउन हरसम्भव कसरत गरे। उपलब्धि - उनी डाक्टर बने। नेपाल फर्किएर वीर अस्पतालमा जनरल फिजिसियनका रूपमा काम थाले।

यतिखेर भने सन्दुकको सपनाले पखेटा हाल्यो। छोरा पढेर सफल व्यापारी बन्छ भन्ने सोचेका बुवाआमा पनि सन्दुकको डाक्टरी पेशासँग खुशी थिए। तर, दिलदिमागमा कतै भने सन्दुक आफैँ मनोवाद गर्थे - ‘अब के त?’

जवाफ दिलायो जिन्दगीको पहिलो आँखा शिविरले। जहाँबाट उनको जीवनले नयाँ मोड लियो।

+++

सन् १९७८।

नेत्र चिकित्सक नवीनचन्द्र राईको टोली आँखा शिविरका लागि पश्चिम नेपाल जाने भयो। टोलीमा सन्दुक रुइत पनि अटाए।

शिविरमा करिब तीन सय बिरामी उपचारका लागि आए। तीमध्ये एकसाथ आएका एकै परिवारका चार बिरामीको जीवनमा त्यो शिविरले गराएको परिवर्तन देख्दा रुइत आफैँ दङ्ग परे।

बर्दिया शिविरको पहिलो दिन एकै परिवारका तीन दाजुभाइ र एक बहिनी आइपुगेका थिए। एक अर्काको हात, कुम र लुगा समातेर हिँडेका उनीहरू कोही पनि आँखा देख्दैन थिए। त्यस्तो दर्दनाक अवस्थाको मुकदर्शक बन्नु पर्दा रुइतको मन अमिलो भयो।

‘ती दाजुभाइ सबैले लगाएका इस्टकोट र ढाकाटोपी अझै सम्झन्छु। उनीहरू कसरी एक अर्कालाई डोर्‍याउँछन् भन्ने ध्यान दिएर हेर्दै थिएँ म। उनीहरू भिडमा हराए,’ रुइतले सुनाए।

भोलिपल्ट उनले देखेको दृश्य भने अविश्वसनीय रह्यो। त्यस परिवारका चारैजनाको आँखामा बाँधिएको पट्टी डाक्टरहरूले पालैपालो फुकाले। त्यहाँ जादु भयो। सबैले दृष्टि पाए। एक अर्काको 'ह्वाइट केन' बनेका उनीहरू खुशीले उफ्रँदै एकअर्कालाई चुमे।

कुन थुम्का छिचोलेर आएका थिए होलान् ती? उकालो ओरालो कसरी गरे होलान्? कति ठोक्किए होलान्? तर, फर्किँदा उनीहरू दृष्टि लिएर फर्किए। उनीहरूको यात्रा सहज भयो, जीवन सहज भयो।

‘त्यो दृश्यले मलाई धेरै दिनसम्म घच्घच्यायो। छोटो समयमा सम्पन्न हुने यो चिकित्साविधिले मानिसको जीवनमा कति ठूलो फरक पार्दो रहेछ भन्ने महसुस गरायो,' रुइतले भने, 'त्यसपछि म त्यस्तै परिवर्तनको हिस्सा हुने योजना बुन्न थालेँ। आँखाको उपचार यात्रा त्यहीँबाट सुरु भयो।'

रुइतले ‘अब के?’ भन्ने प्रश्नको जवाफ पाइसकेका थिए। उनी पुन: भारत फर्किए, विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको छात्रवृत्तिमा। त्यहाँ उनले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट नेत्र चिकित्साको डिग्री लिए र सन् १९८० मा नेपाल फर्किए।

नेपाल आँखा अस्पतालमा नेत्र चिकित्सक बनेर छिरेको केही समयमै रुइतको कामले गति लियो। उनको कार्यकुशलता र लगनशीलताको चर्चा हुन थाल्यो। अस्पतालमा रुइतको संघर्ष मोतीविन्दुको शल्यक्रिया विधि परिमार्जन गर्नका लागि थियो। उनी चाहन्थे - मोतीविन्दुको शल्यक्रिया सुरक्षित बनोस्। बिरामीहरूले दृष्टि पुन: पाउन्। मोटो सिसा भएको गह्रौं चश्मा लगाउन नपरोस्। शल्यक्रियामा इन्ट्राअकुलर लेन्सको प्रयोग होस्।

तर, उनको भिडन्त चलिरह्यो निराशावादी निकायसँग। पेशागत लडाइ रोकिने छाँटकाँट थिएन ।

यसैबीच उनी प्रेममा परे। काठमाडौंकी नेवार परिवारकी नन्दासँग। जात, धर्म अनि वर्गका कारण उनीहरूको प्रेम स्वीकार्य थिएन दुवैका परिवारलाई। तर, प्रेममा परेका सन्दुक र नन्दाले भने साझा सपना देख्न थालिसकेका थिए। उनीहरू एकअर्काको प्रेम र उद्देश्यमा विश्वस्त थिए। आँखा अस्पतालमा काम सुरु गरेको करिव सात वर्षपछि उनीहरूले विवाह गरे।

विवाहपछि केही समय नेदरल्यान्ड्स र अस्ट्रेलियामा बिताए। त्यहाँ रहँदा उनीहरू आर्थिक अभावको चरम उत्कर्षमा थिए। तर, त्यहाँ पाएका अवसर र दामी कामहरूले उनलाई आकर्षित गरेन। बरु खाली समय स्थानीय अस्पतालमा पुग्थे। इन्ट्राअकुलर लेन्स राख्ने शल्यक्रियाको अभ्यास गरिरहन्थे।

अभावमा पनि दुईबीचको सम्बन्ध धर्मराएन। बरु, नन्दाले नै उनलाई नेपाल फर्कन सुझाव दिइन्।

नेपाल फर्कँदा केही थान सपना र एउटा निश्चित योजना थियो- दृष्टिविहीनको अवस्था, आफ्नो क्षमता र प्रविधिले भ्याएसम्म कसैलाई आँखाको ज्योतिबाट बञ्चित नराख्ने। मोतीविन्दुको आधुनिक शल्यक्रियाका लागि प्रयत्न गर्ने उद्देश्य। अनि अभावले थलथलिएकाको उपचारका लागि गाउँगाउँ पुग्ने।

‘त्यस समय विदेश गएकाहरू सुटकेसभरि पैसा लिएर आउँथे। म र मेरी श्रीमती टाट पल्टिएर फर्कियौँ। तर, हामीसँग एकदम बलियो सोच र योजना भने थियो,’ रुइतले नेपाल फर्किँदाको क्षण सुनाए।

+++

नेपाल फर्किएर नेपाल आँखा अस्पतालमै पुन: काम सुरु गरे। उनले मोतीविन्दुको शल्यक्रियामा पुरानो ढर्राको विधि परिमार्जन गर्न र सुरक्षित तथा भरपर्दो बनाउन मेहनत गरे।

त्यसपछिको योजना थियो- मोतीविन्दुको आधुनिक शल्यक्रिया प्रणाली विकास र इन्ट्राकुलर लेन्सको प्रयोग। यसबारे उनले अस्पताल र सम्बन्धित निकायलाई बुझाउन खोजे। तर, उल्टै खेदिए। उनको योजनामा विश्वास गर्ने कोही भएनन्। कहिले लेन्सको मूल्यलाई बहाना बनाइयो त कहिले आधुनिक विधिलाई नेपालको परिवेशमा अव्यवहारिक घोषणा गरियो। रुइतकै विरोध भयो।

तर, रुइतले कामै गरेर धेरैको मन जितेका थिए। उनको लगनशीलताले विदेशी नेत्र चिकित्सकहरूको ध्यानाकर्षण गरिसकेको थियो। उनको कामबाट प्रभावितहरूसँग उनले लेन्स अनुदान मागेरै काम चलाए र अलिकति पनि आफ्नो अठोटबाट डगमगाएनन्। संघर्षको यही क्षणमा साथ दिने अस्ट्रेलियाली साथी फ्रेड हलोजको नाम लिन उनी भ्याइहाल्छन्।

नेपाल आँखा अस्पतालमा रहेर मोतिविन्दुको आधुनिक शल्यक्रियाका लागि हिँडेको बाटो निकै असजिलो थियो। ओलाङ्चुङगोबाट दार्जिलिङ पुग्दाको बाटोभन्दा पनि धेरै कठिन। त्यहाँ एकएक पाइला सतर्क भएर हिँडे। र, यस्तो विन्दुमा पुगे जहाँबाट पर आँखा अस्पताल छाडेर निस्कनुको विकल्प भेटेनन्। उनलाई विरोधीको दलदलमा रुमलिनु थिएन। त्यहाँबाट निस्किएर हजारौं दृष्टिविहीन आँखामा प्रकाश फर्काउनु थियो। त्यस्ता हजार स्पर्श महसुस गर्नु थियो - जसले उनलाई आफ्नो कर्मप्रति गर्व महसुस गराउन्।

+++

नेपाल आँखा अस्पतालबाट निस्किएर नयाँ बाटो हिँड्न नयाँ टोली नै तयार पारे उनले। टोलीका सबैले रुइतको सपनामा विश्वास गरे। सपना चाहिँ उही - मोतीविन्दुको अत्याधुनिक शल्यक्रिया विधि बिस्तार। ५०/६० जना राखेर सर्वसुलभ उपचार गर्ने। अनि ट्रेनिङ सेन्टर खोल्ने।

आवश्यक रकम थिएन। नेत्र चिकित्सा क्षेत्रका वरिष्ठ डाक्टरहरू रुइतको पक्षमा थिएनन्। भौतिक अप्ठ्याराहरू पनि उस्तै।

लक्ष्य प्राप्तिका लागि भोग्नुपर्ने चुनौती रुइत र टोलीलाई स्वीकार्य थियो। आर्थिक अभावभन्दा बलियो थियो अठोट। समस्यासँगै थियो सम्भावना।

चुनौतीकै बीच सन् १९९१ मा एउटा कार्यालय स्थापना गरे उनले। सुरुआती दिनमा त शिविरहरू मार्फत् बिरामीको सेवा गरे। बिस्तारै टोलीको प्रष्ट उद्देश्य र लगनशीलताबाट प्रभावित विदेशी दातादेखि स्वदेशी उद्योगी, संस्था, बौद्ध धर्म गुरु र व्यक्ति विशेषले आर्थिक, भौतिक, नैतिक सहयोग गरे। सबैको साथ अनि सहयोगले एउटा सामूहिक सपना, अथक प्रयास र मिहेनतलाई मूर्तरुप दियो। सन् १९९४ मा तिलगंगा खडा भयो। यहाँ हाल दैनिक हजारौंले सर्वसुलभ मूल्यमा आँखाको परीक्षण र उपचार गराउँछन्। महँगो कहलिएको इन्ट्राअकुलर लेन्स यहीँ उत्पादन हुन्छ जसका लागि पहिले सन्दुक विकसित मुलुकका दाताहरूको मुख ताक्थे।

‘पहिले शिविरमा लैजानकै लागि हजारौं लेन्स आवश्यक पर्थे। त्यतिखेर एउटा लेन्सको दुईदेखि पाँच हजार रुपैयाँसम्म पर्थ्यो। विदेशबाट कोही नेपाल आउन लागेको थाहा पाउँदा लेन्स मगाउँथेँ। भन्थें - एक सुटकेस आँखा ल्याइदिनुस् न,’ अभावै अभावका बीचमा चलेको अभियानबारे बताउँदा उनी गर्विलो सुनिन्छन्, 'अहिले त हामीकहाँ दुई सयभन्दा कम मूल्यमा उपलब्ध छ इन्ट्राअकुलर लेन्स। भुटान, पाकिस्तान, थाइल्यान्ड, बङ्गलादेशले हामीकहाँबाट लेन्स लैजान्छन्।'

तिलगंगामार्फत् व्यवस्थित सेवा दिनसक्ने भएपछि रुइत र उनको टोलीले देशबाहिर मोतीविन्दुबारे अध्ययन गर्‍यो- आवश्यक ठाउँमा सेवा पुर्‍याउन सक्ने आत्मविश्वाससहित। मोतीविन्दुको सफल शल्यक्रियालाई विश्वव्यापी अभियानका रुपमा अगाडि बढाए उनले। अभियान अन्तर्गत उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, लेबनन लगायतका देशमा शल्यक्रिया गर्न पुगे।

उनीहरूको कामको मूल्याङ्कन गर्दै तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आफ्नो सहकार्य केन्द्रको मान्यतासमेत दिएको छ।

हाल नेत्र चिकित्साको क्षेत्रमा दक्षिण एसियाली मुलुकमध्ये नेपालको अवस्था सुखद् छ। सन् २००० देखि नै नेपाल मोतीविन्दुको शल्यक्रियामा सबैभन्दा अगाडि छ।

+++

एउटा तहको प्राप्ति र सफलताले रुइतलाई दिलाएको सन्तुष्टि उनको बोली र व्यवहारमा झल्किन्छ। उनी नम्रतामा विश्वास राख्छन्। नम्र बोली र उदार सोचले सम्बन्धहरू प्रगाढ बनेको उनले देखेका छन्। प्राय अस्पताल या कुनै विकट गाउँका शिविरमा समय बिताउने उनी बिरामीसँगको सम्बन्ध पनि त्यस्तै सुमधुर बनाउन उनीहरूसँग घुलमिल हुन्छन्। उनीहरूको कुममा आफ्नो हत्केला राखेर शल्यक्रियाको प्रक्रिया बुझाउँछन्। उनीहरूलाई सहज महसुस गराउने कोसिस गर्छन्। भन्छन्, 'मेरो जिन्दगीको ठूलो पाटो हो बिरामीसँगको सम्बन्ध। मेडिकलमात्र होइन, सामाजिक सम्बन्ध हो यो। त्यसैले उनीहरू सँगको अन्तर्क्रिया महत्वपूर्ण लाग्छ।‘

फलस्वरूप निकै सुन्दर हृदय भएका मानिसहरू उनीसँग जिन्दगीमा जोडिन्छन्। लामो समय अन्धकारमै बिताएकाहरू जब आँखा देख्न थाल्छन्, तिनले दिने प्रतिक्रियाले आल्हादित हुन्छन् रुइत। ‘तनाव बढ्दा आँखा चिम्म गरेर यस्तै केही बिरामीको बारेमा सोच्छु। सकारात्मक भाव जाग्छ। अर्को काम गर्ने जोश दिन्छ,’ उनले सुनाए।

शल्यक्रिया सधैं सफल हुँदैन। पाँच सय जनाको मोतीविन्दु शल्यक्रिया गर्दा एउटा असफल हुने डाक्टर रुइतको अनुभव छ। ‘हामीले त प्रेडिक्ट गरिसकेका हुन्छौं तर त्यो अवस्थामा देखिने बिरामीको भावभङ्गीले निकै पीडा दिन्छ। धेरै दिनसम्म तरङ्गित पार्छ,' उनले भने।

सामाजिक, आर्थिक अनि भौगोलिक हिसाबमा निकै तलबाट जिन्दगी हेर्दै आए डाक्टर रुइतले। त्यसैले अहिले कुन ठाउँमा के छ र त्यहाँ आफू कसरी प्रस्तुत हुने बुझेका छन्- सुगम काठमाडौंदेखि आफ्नो जन्मभूमि ताप्लेजुङसम्मै। हिमाली भेगदेखि तराईका फाँट, देशदेखि विदेश- सबैतिर सेवा बिस्तारमा खटिएका छन्। हालसम्म एक लाख तीस हजार भन्दा बढीको दृष्टि फर्काएका उनी भन्छन् - ‘सुन्दर संसार हेर्ने अधिकार सबै प्राणीमा छ। देख्न सक्नुले उनीहरूको जिन्दगी सहज बनाउँछ।’

+++

म्यागासेसे पुरस्कार, भारत सरकारको प्रतिष्ठित पद्मश्री पुरस्कार, एसिया गेम चेन्जर्स अवार्ड लगायत सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित रुइतले अन्धोपन निवारणलाई विश्वव्यापी अभियान बनाएका छन्। गत सातामात्र उनको पहलमा निर्मित भुटानको केसाङ वाङ्दी रेफेरल हस्पिटल उद्घाटन भयो। यसअघि नै कालिम्पोङ तथा सिक्किममा पनि रुइतको पहलमा निर्मित अस्पताल छन्।

लगनशीलता, प्रष्ट उद्देश्य, सही निर्देशन, आत्मविश्वास र निस्वार्थ प्रक्रिया उनका सुत्र हुन्। अनि सुत्रहरूको लहडमा राख्छन् आफूले भोग्नु परेको विभेद र चुनौती।

‘चुनौतीको बानी परिसक्यो। काम गर्दै जाँदा केही अप्ठ्यारा आइनपर्दा के नपुगेको के नपुगेको जस्तो हुन्छ,’ उनले ठट्यौली पारामा भने।

तिलगंगा अस्पताल सुरु भइसकेपछिको एकदिन उनी शल्यक्रियाका लागि तयार थिए। भित्र छिर्दा फरक फरक कुर्सीमा तत्कालीन प्रधान न्यायाधीश, सिन्धुपाल्चोकका एक किसान, सिंहदरबारमा काम गर्ने पियन र चर्चित उद्योगी बसेको देखे।

‘उनीहरू सबैलाई एकै ठाउँमा देख्दा मैले के सोचेँ थाहा छ?' जिज्ञासु झै प्रश्न सोध्दै उत्तर दिए उनले, 'तिलगंगा व्यवहारिक रुपमा समावेशी बन्यो।’

डाक्टर रुइतको सपना यथार्थमा तिलगंगा बन्यो। र, तिलगंगा ‘सेन्टर अफ एक्सिलेन्स।’ यो सेन्टरमा उत्तर कोरियाली चिकित्सक र अमेरिकी नर्स एकसाथ मिलेर काम गरिरहेका हुन्छन्, रुइतसँगै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell