PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एसिसी इमर्जिङ टिम्स एसिया कप : हङकङविरूद्ध शरदको सानदार ब्याटिङ, नेपाल ४० रनले विजयी



एसिसी इमर्जिङ टिम्स एसिया कप : हङकङविरूद्ध शरदको सानदार ब्याटिङ, नेपाल ४० रनले विजयी
फोटोहरु : रमन सिवाकोटी।

काठमाडौं : बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले आज हङकङलाई ४० रनले पराजित गरेको छ। नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङलाई ४५ दशमलव ५ ओभरमा अलआउट गर्दै नेपालले कपमा पहिलो जित दर्ता गराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले अन्तिम बलमा अल आउट हुँदै २१७ रनको योगफल तयार पारेको थियो। नेपालका लागि शरद भेषवाकरले सानदार ब्याटिङ गरेका थिए। उनले सर्वाधिक ८९ रन जोडे। उनले १३९ बलमा ९ चौकाको मद्दतले सो रन जोडेका हुन्।

भेषवाकरलाई मोहम्मद आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्को 'इन्ड'बाट सहयोग गरेका थिए। भेषवाकरले ऐरीसँग १२४ बलमा ८३ रनको साझेदारी गरे भने शेखसँग ९६ बलमा ७४ रनको साझेदारी गरे। भेषवाकरले आक्रमक पारी खेलिरहँदा अर्को इन्डमा भने विवेट टिक्न सकेन।

नेपालको शुरुवात भने सम्झन लायक थिएन। नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको थियो। यो खेलमा पनि कप्तान ज्ञानेन्द्र मल्लले कुनै पनि रन जोड्न सकेनन्। पहिलो इनिङको दोस्रो बलमा नै उनी 'क्याच आउट' हुन पुगे। त्यस्तै अर्का ओपनर कुशल भुर्तेलको प्रदर्शन पनि राम्रो रहेन। उनी तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए।

त्यसपछि आएका शरद भेषवाकरले नै खेललाई उकासेका थिए। भेषवाकरलाई ऐरीले २३ औं ओभरसम्म साथ दिएका थिए। सो ओभरको अन्तिम बलमा ऐरी ३७ रन बनाएको अवस्थामा पेबिलियन फर्किए।

पाँचौ नम्बरमा आएर शेखले पनि भेषवाकरसँग राम्रो साझेदारी गरेको थिए। उनले ३९ औं ओभरसम्म भेषवाकरलाई साथ दिएका थिए। शेख ३९ औं ओभरमा ४२ रन बनाउँदा एहसान नवाजको बलमा 'क्याच आउट' भएका थिए।

त्यसपछिका ब्याट्सम्यानले उल्लेख्य पारी खेल्न सकेनन्। विनोद भण्डारीले १५ रन बनाउँदा करन केसीले ७ र शुसन भारीले ६ रन जोडे। त्यस्तै, अविनाश बोहोरा २, ललित नारायण राजवंशी १ रन बनाए भने पवन सर्राफले रन जोड्न सकेनन्।

नेपाललाई 'अल आउट' गर्न हङकङका मोहम्मद एजाज खानले ३, नस्रुल्ला राना र एहसान नवाजले २/२ तथा अफ्ताव हुसेन र रौनक कपूरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हङकङले ४५ दशमलव ५ ओभरमा अल आउट हुँदै १७७ रन मात्रै बनाउन सक्यो। हङकङका लागि किनचित शाहले सर्वाधिक ५३ रन बनाए। त्यस्तै एहसान नवाजले अविजित ४४ रन, हारुन मोहम्मद अर्सादले २६ रन तथा एहसान अलि, शाहिद वासिफ र नस्रुल्ला रानाले १०/१० रन बनाए। अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन।

नेपालका लागि करन केसी र अविनाश बोहोराले ३/३ तथा शुसन भारीले २ विकेट लिए।

पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपाललाई आजको दोस्रो खेलमा जित्नै पर्ने दबाब थियो।  पहिलो खेलमा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो।

नेपाल प्रतियोगिताको समूह 'बी' मा रहेको छ। समूह 'बी' मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन्।

त्यस्तै समूह 'ए' मा श्रीलंका, पाकिस्तान, ओमान र अफगानिस्तान रहेका छन्। टेस्ट राष्ट्रका भने यू-२३ टिम प्रतियोगितामा सहभागी छन्।

नेपालले मंसिर २ गते बंगलादेशसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell