PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

जापानमा घट्यो सुपरमार्केटको व्यापार



जापानमा घट्यो सुपरमार्केटको व्यापार
फोटो : japan-guide.com।

टोकियो : जापानको सुपरमार्केट बजारको व्यापार अक्टोबर महिनामा कमी आएको छ।

अघिल्लो वर्षको सोही महिनाको तुलनामा यस वर्षको अक्टोबरमा ४.१ प्रतिशतले कमी आएको ‘जापान चेन स्टोर्स एसोसियसन’ले बिहीवार जनाएको छ।

उक्त संगठनले सुपरमार्केटको सामान विक्रीदरमा कमी आउनुमा जापानमा गत महिना आएको आँधी तथा अन्य खराब मौसम, अक्टोबरमा गरिएको उपभोक्ता कर वृद्धि जिम्मेवार भएको जनाएको छ।

सुपरमार्केटको संगठनका अनुसार जापानका ठूला सुपरमार्केट सञ्चालक ५५ कम्पनीका १० हजार ५२२ सुपरमार्केटहरूले अक्टोबरमा कुल नौ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेका थिए। यद्यपि यी सुपरमार्केटमा सेप्टेम्बरमा भएको कारोबार भने मार्चपछि आशालाग्दो रूपमा वृद्धि भएको तथ्यांकमा उल्लेख छ।

उद्योगहरूले दिएको तथ्यांकमा घरायसी सामानहरूको वृद्धिदरमा अक्टोबरमा ७.२ प्रतिशतले कमी आएको थियो। उद्योगीहरूले कारोबारमा देखिएको कमीलाई उपभोक्ता करमा गरिएको करवृद्धिलाई नै जिम्मेवार बताएका छन्। यद्यपि उपभोक्ता कर वृद्धि नगरिएका खाद्यान्नका सामग्रीको कारोबार भने १.३ प्रतिशतले कमी देखिएको तथ्यांकमा उल्लेख छ। यस वर्ष जापानमा अन्य वर्षको तुलनामा न्यानो मौसम रहेकोले चिसोमा प्रयोग हुने लत्ता कपडाको कारोबारमा निकै कमी आएको छ। गत वर्षको तुलनामा अक्टोबरमा लत्ता कपडाको कारोबारमा १५.१ प्रतिशतले कमी आएको हो।

जापानमा जाडोका लुगाहरू प्रायः अक्टोबरमा बढी विक्री हुने गर्छन् तर अक्टोबरको कारोबार सोचेभन्दा निकै खराब देखिएको संगठनको तथ्यांकमा छ। यद्यपि कारोबारमा देखिएको कमीलाई उपभोक्ता कर वृद्धिका साथै उनीहरूको मूल्य वृद्धिको मनोविज्ञानका कारण पनि प्रभावित पारेको बताइएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell