PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टुँडिखेल माग्दै साहित्यिक जमघट, 'सैनिक मुख्यालय छेकिने गरी रातारात नयाँ पहाड ठडिएछ'



टुँडिखेल माग्दै साहित्यिक जमघट, 'सैनिक मुख्यालय छेकिने गरी रातारात नयाँ पहाड ठडिएछ'

काठमाडौं : ‘सिनेमा थ्री डी, फोर डी, सिक्स डी आइसक्यो, टुँडिखेल चाहिँ टु डी बाट वान डी हुँदै जिरो प्वाइन्ट ५ मा झरिसक्यो।’

शनिवार अकुपाइ टुँडिखेल अन्तर्गत खरीको बोटमुनि साहित्यिक जमघट हुँदैगर्दा स्टयान्डअप कमेडियन लेखमणि त्रितालले टुँडिखेल साँघुरिँदै गएकोमा व्यंग गरे। टुँडिखेलबाट शहिदगेटतर्फ नयाँ पहाडहरु बनाएर सैनिक मुख्यालय छेक्ने प्रयास गरेको भन्दै रातारात टुँडिलेलमा पहाड बनेको विकासको संकेत भएको उल्लेख गरे।

कुनै बेलाको विशाल टुँडिखेल अतिक्रमणमा परेर साँघुरिँदै जाँदा खुल्ला क्षेत्रको अभाव भएको भन्दै टुँडिखेललाई फेरि खुल्ला गर्नुपर्ने भन्दै नागरिकस्तरबाट संचालन भइरहेको अकुपाइ टुँडिखेलमा आज करिब २५ कविहरुले कविता वाचन गरे।

'उहिले मेरो कस्तो रुप थियो। हरियाली थियो छाती हावाले नृत्यु गर्दै थियो।.. अहिले जिउँदै मरी' भन्दै कवि प्रा डा रामप्रसाद ज्ञवालीले कविता वाचन सुरु गरेका थिए। टुँडिखेललाई धर्तीका रुपमा प्रस्तुत गर्दै अतिक्रमित टुँडिखेलको पीडा र आक्रोशलाई उनले शब्दमार्फत प्रस्तुत गरेका थिए।

कार्यक्रममा श्रवण मुकारुङ, प्रभा भट्टराई, निरज दाहाल, रत्नराम श्रेष्ठ, स्नेह सायमि, रुपा जोशी, असिम सागर, रोनिका श्रेष्ठलगायतका कविहरुले कविता प्रस्तुत गरेका थिए।

कवि श्रवण मुकारुङले टुँडिखेलको दयनीय अवस्था देख्दा निकै दु:ख लागेको बताउँदै भने अकुपाइ टुँडिखेल अभियानमा एक्यबद्धता रहेको बताएका थिए।

यस्तै कवि विप्लव प्रतीकले पनि मुक्त टुँडिखेलमात्र नभइ मुक्त काठमाडौंको अभियान नै सुरु गर्नुपर्ने भन्दै भने,' डोन्ट मिस ह्विथ टुँडिखेल, डोन्ट मेस ह्विथ अस, डोन्ट मेस ह्विथ ओपन स्पेस।'  (टुँडिखेल, हामी र खुल्ला स्थान संग निहुँ नखोज)

काठमाडौंमा खुल्ला स्थान कम भइरहेको अवस्थामा सुरु भएको अकुपाइ टुँडिखेल अभियानले खुल्ला स्थानको महत्वको बारेमा जनचेतना जोगाउन सहयोग हुने उनको धारणा थियो।  न्यूरोडमा घर हुँदा मान्छेको अनुहार हेरेर टुँडिखेलमा प्रवेश गर्न दिने कुरा सम्झँदै उनले भने,' यही सहरमा भएपनि न्यूरोडबाट बसाइ सरेदेखि टुँडिखेल भित्र आएको छैन। दुई हप्ता अगाडि मानव साङ्लोमा सहभागी हुन आउँदा खुल्लामञ्चमा हरिविजोग देखें। टुँडिखेलमा नि हरिविजोग नै रहेछ।'

शहरमा मानिसहरुको प्रवृत्ति बढ्लिँदै गएको प्रति व्यङ्ग्य गर्दै प्रतिकले 'राति हुचिलले तर्साउछ, राति मान्छेहरुले यो कस्तो रुप धरे मान्छेहरुले ..' भन्दै आफ्नो कवितालाई विश्राम दिएका थिए।

कविहरुले पहिला काठमाडौंको पुरानो स्वरुप हराउँदै गएको भन्दै अहिले काठमाडौंले काठमाडौंलाई खोजिरहेको भावका कविता प्रस्तुत गरेका थिए।

कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले लेखेको टुँडिखेलप्रति समर्पित कवितासमेत प्रस्तुत गरिएको थियो। बाल्यकालमा भकुन्डो खेल्न टुँडिखेल आउँदाको सम्झनालाई स्मरण गर्दै श्रेष्ठले टुँडिखेल खुल्ला हुनुपर्ने आश्यको कविता लेखेका थिए।

'टुँडिखेल खेल्ने चौर हो, जहाँ खेल्दै हुर्के म भोगटे भकुन्डो,

त्यही टुँडिखेल लुट्यो आज, मेरै सरकारले

मेरै सरकार भन्ने यो नै हो कि मुकुन्डो, हो कि मुकुन्डो '

श्रेष्ठको प्रतिनिधित्व गर्दै वीरप्रसाद भन्सालीले कविता वाचन गरेका थिए।

विगत तीन हप्तादेखि चल्दै आएको अकुपाइ टुँडिखेल अभियानअन्तर्गत मानव साङ्लो बनाउने र टुँडिखेलबाट विस्थापित भएको खरीको रुख ब्युताउँन खरीको बोट रोप्ने कार्य भइसकेको छ। टुँडिखेलको अवस्थाप्रति सचेत गराउन यही हप्ता काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि पत्र दिने तयारीसमेत भइरहेको छ। टुँडिखेल खुल्ला गर्न सकारात्मक भएको आभाष दिलाउन उनलाई धन्यवाद दिने उद्देश्यका साथ पत्र बुझाउने तयारी गरिएको अक्युपाइ टुँडिखेलले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell