PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

२५ वर्ष अघिबाट नेपाली नागरिक बन्ने 'पुतली बाजे'को सपना बल्ल पूरा, ‘दिन चाहिँ कता दिन्छन् होला कुन्नि?’



२५ वर्ष अघिबाट नेपाली नागरिक बन्ने 'पुतली बाजे'को सपना बल्ल पूरा, ‘दिन चाहिँ कता दिन्छन् होला कुन्नि?’

  • राजु आचार्य -

पोखरा : गत वर्ष पोखराको विन्दवासिनी मन्दिर छेउबाट आफ्नो घरतिर जाँदै थिए। यिनको हिँडाई कछुवाको चालभन्दा पनि सुस्त थियो। लामा गाउँमा रहेको सानो टिनले छाएको घर पुग्न यिनलाई घण्टौँ लाग्ने गर्थ्यो। रोगले शरीर थङथिलो बनाएको थियो। सबैले आस  मारिसकेका थिए।

८३  वर्षीय वृद्धको पूरा नाम ‘कोलिन फिलिप स्मिथ’ हो। तर उनलाई सबैले पुतली बाजे भनेर चिन्छन्। नेपालको  धेरै ठाउँ घुमेका पुतली बाजेको त्यो हिँडाई संरक्षणकर्मीहरुलाई दुःखी बनाउने खालको थियो।

आत्मबल बलियो थियो उनको। दैनिक हिँड्न छोडेनन्। औषधिले पनि काम गर्‍यो। बिस्तारै उनको सुस्त हिँडाईमा प्रगति  हुँदै गयो। उनलाई काम गर्ने ठाउँ उपलब्ध गराएर वर्षौंदेखि सहयोग गर्दै गरेको ‘लिई वर्ड’ मा केही महिना अघि फेरी देखा परे। त्यतिखेर उनी अलि अलि तङ्ग्रिएका थिए।

पाँच दशक लामो उनको नेपाल बसाई र उनले पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले यही मंसिर ५ गते उनलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने निर्णय गरेको छ। उनले छोटो प्रतिक्रिया दिए ‘नेपाली भएर नेपालमा मर्ने सपना पनि पूरा हुने भयो। उनले भने ‘एकदमै खुसी छु। सबैलाई धन्यवाद’।

उनले प्रतिप्रश्न गरे ‘नागरिकता कता दिन्छन् होला कुन्नि? पोखरामा दिए सहज हुन्थ्यो!’

 

पोखरा बजारमा यदि कोही एउटा लौरो, सेतो सर्ट, पुरानो कालो झोला, शिरमा ढाका टोपी लगाएर बिस्तारै हिंडेका भए उनी  पुतली बाजे हुन्!

 

के भन्छन् संरक्षणकर्मीहरु?

पुतलीमा विद्यावारिधि गरेका प्राध्यापक भैया खनाल सरकारको निर्णयबाट असाध्यै खुसी थिए। उनले  भने ‘ सरकारको यो निर्णयबाट म एकदम खुसी छु। म विद्यार्थी हुँदा उनले १९७० को दशकबाटै नेपालमा  पुतलीको अनुसन्धान थालेका थिए। उनी साधारण तर मेहेनती मानिस हुन्।’ 

खनालले थपे ‘पुतली बाजे’ले सङ्कलन गरेका पुतलीहरू त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘प्राकृतिक विज्ञान सङ्ग्रहालय, पृथ्वीनारायण क्याम्पस तथा काठमाडौँ विश्व विद्यालयमा राखिएका छन्।'

प्राध्यापक करनबहादुर साहले फोनमा भने  ‘उनले नेपालमा पुतली अनुसन्धानको जग तयार पारेका छन्। पूर्व मेचीदेखि पश्चिम महाकाली, तराईदेखि हिमालसम्म आफैंले स्रोत जुटाएर काम गर्नु चानचुने कुरा हैन। यो सम्मानले उनी मात्र होइन, हामी पनि खुसी भएका छौँ।’ 

पुतली विज्ञ सुरेन्द्र परियार २०४६ सालदेखि कोलिनको (पुतली बाजे) सम्पर्कमा रहेर सङ्ग्रहालय व्यवस्थापनको काम  गरिरहेका छन्। व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका परियारले तिनै कोलिनबाट पुतलीबारे  सिकेका हुन्। परियार २०५३ सालदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पोखरामा  सङ्ग्रहालय सहायकको रूपमा कार्यरत छन्।

परियार भन्छन् ‘पोखराको नदीपुरस्थित निलगिरि टोलतिर यिनी आउँदा हामी पछि-पछि लाग्थ्यौँ। २०४६ सालतिर मलाई पुतलीको बारेमा सिकाए र पृथ्वीनारायण क्याम्पसमा पुतली हेर्ने गरी जिम्मा लगाइदिए। अहिले पाएको नागरिकताले म खुसी छु।  उनलाई नागरिकता दिएर सरकारले राम्रो काम गर्‍यो।’  

कोलिनको नेपाल आउने ताका खिचिएको तस्विर, उमेर करिब २९ वर्ष।

 

नागरिकताको लागि गरिएको प्रयास

करिब २५ वर्षअघि उनले पहिलोपटक नागरिकताको लागि प्रयास गरेका थिए। पहिलोपटक गरेको प्रयास पैसा मागेपछि रोकिएको उनी बताउँछन्। उनी निराश बनेका थिए।

पछिल्लो समय उनी आफैंभन्दा पनि उनका शुभ-चिन्तकहरू लागेका थिए। दोस्रोपटक पनि उनको फाइल जिल्लाबाट केन्द्र जाने क्रममा हरायो।

विगत दुई वर्षदेखिको प्रयासमा सबैको बल पुग्यो। यो अभियानमा स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय कास्की, पृथ्वीनारायण क्याम्पस, पोखरा , वन मन्त्रालय सबैको सहयोग रह्यो। पछिल्लो समयमा जापान बस्दै आउनु भएका कपिलदेव थापा, पोखराका सुनील उलक र सुरेन्द्र परियारको सक्रियता उल्लेखनीय रह्यो। पोखराका पत्रकार र संरक्षणकर्मीहरुले पनि निरन्तर घच्घच्याउने काम गरी रहे। सामाजिक सञ्जालमा उनको समर्थनमा लेख्न छाडिएन। अहिलेको सरकारको निर्णयलाई संरक्षण क्षेत्रमा चौतर्फी प्रशंसा गरिएको छ।

 

को हुन् पुतली बाजे?

उनी बेलायतमा सन् १९३६ नोभेम्बर २४ मा जन्मेका हुन्। उनले इम्पेरिअल कलेजमा गणित विषयमा सन् १९५८-५९ मा स्नातक उत्तीर्ण गरेपछि करिब ४ वर्ष ग्लेस्गो विश्व विद्यालयमा गणित विषयको अध्यापन गराए।

युनाइटेड मिसन टु नेपालले उहाँलाई सन् १९६६ मा पहिलोपल्ट नेपालमा पठाएको थियो। पोखरा, लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुल लगाएतमा शिक्षण कार्य गरे। सोही क्रममा पृथ्वीनारायण क्याम्पसमा घुम्न आउँदा प्लाइउडमा फूल र चराहरू बनाइरहेकी डोरोथी मिरोसँग भेट भयो। डोरोथी मिरोले कलिनको पुतली सङ्ग्रहप्रतिको रुचि सुनिन्। उनले कोलिनलाई स्कुले जीवनमा पलाएको इच्छालाई पुनर्जीवित गर्न सङ्ग्रहालयमा पुतली सङ्ग्रह गर्न आग्रह गरिन्। डोरोथीको आग्रहले उहाँलाई सङ्ग्रह गर्न प्रेरित गर्‍यो।

पोखरा, गोर्खा र काठमाण्डौंमा शिक्षण पेशा गर्दा फुर्सदको समयलाई सदुपयोग गर्दै सात वर्षभन्दा बढी समय लगाएर पुतली सङ्ग्रह गरे। यही बेला उनले करिब एक वर्ष पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र स्व. डा. उपेन्द्र देवकोटालाई समेत गोरखामा पढाएका थिए।

सन् १९७३ देखि  त्रिभुवन विश्वविद्यालय काठमाण्डौंमा प्रकृति विज्ञान सङ्ग्रहालयको लागि कोलिन स्मिथले १० वर्षसम्म पुतली सङ्ग्रह गरे। सङ्ग्रहालय छोडेपछि पनि पुतली सङ्ग्रह र अध्ययनप्रतिको मोहलाई भने निरन्तरता दिई रहे।

नेपालमा पाइने ६६० प्रजातिका पुतलीमध्ये ९० प्रतिशत पुतली उनले सङ्ग्रह गरेका छन्। उनी निसाचार पुतली (मोथ) र गाइने किरामासमेत रुचि राख्छन्। उनका ३० वटा जति वैज्ञानिक लेखहरू  र १० वटा जति पुस्तकले नेपालका पुतलीको विश्वव्यापी प्रचार भएको छ।

नेपालको हिमाल, हावापानी, पुतली र विशेष गरी यहाँका मानिसहरूको मायाले आफू बेलायत फर्कन नसकेको बताउँछन्।

कोलिनको कुटी, यही घरमा उनी लामो समयदेखि बसीरहेका छन्।

 

आज उनको जन्म दिन !

नेपालमा पुर्‍याएको योगदानको लागि उनलाई राष्ट्रले ‘सम्मानार्थ नेपाली नागरिकता’ दिएर सम्मान गरेको छ। हामी नेपालीहरू ‘अतिथि देवो भव’ भन्दै पाहुनालाई सम्मान गर्नेमा पर्छौँ। तर उनी यस्ता पाहुना बने जसले आफ्नो क्षेत्रमा घरका  सदस्यले भन्दा बढी योगदान यो देशलाई गरेका छन् । अझ भनौँ विज्ञान र विश्वलाई पनि  गरेका छन्। उनी लामो समय बाचुन्। हामी सबै नेपालीको तर्फबाट शुभकामना छ!

मन्त्रिपरिषदको निर्णय बुँदा नम्बर ८ मा उनको नागरिकता सम्बन्धमा उल्लेख छl



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell