हङकङ : करिब ६ महिनायता अशान्त रहँदै आएको हङकङमा आज स्थानीय निर्वाचन हुँदैछ। मतदान गर्न ठूलो संख्यामा मतदाताहरु लाइनमा बसिरहेको बीबीसीले उल्लेख गरेको छ। २०१५ मा भएको स्थानीय निर्वाचन भन्दा यसपटक मत दिनका लागि धेरै संख्यामा हङकङवासीहरु मतदान केन्द्र पुगिरहेको बताइएको छ।
हङकङ डिस्ट्रिक काउन्सिलका लागि ४५३ जना प्रतिनिधिको चयन यस निर्वाचनबाट हुनेछ। निर्वाचनमा एक हजारभन्दा धेरै उम्मेदवार रहेका छन्। हाल सो काउन्सिलमा चीन समर्थित पार्टीहरुको बहुमत रहेको छ।
तर, ६ महिनादेखि हङकङ सरकार र चीन विरुद्ध भइरहेको प्रदर्शनले निर्वाचनमा असर पर्न सक्ने अनुमान गरिएको छ। अधिकारीहरुले निर्वाचनमा कुनै प्रकारको अवरोध भए मतदान रद्द गर्ने चेतावनी दिएका छन्।
स्वतन्त्र हङकङ पक्षधरका नेताहरुले निर्वाचनमा अवरोध नपुर्याउन आग्रह गरेका छन्। यस निर्वाचनबाट हङकङवासीले बेइजिङलाई 'महत्वपूर्ण सन्देश' दिन उनीहरुको दाबी छ। हङकङमा सरकार विरुद्धको आन्दोलन उग्र बन्दै गर्दा चीन समर्थित व्यक्तिहरुको पराजय भए आन्दोलनलाई थप बल मिल्ने उनीहरुको विश्वास छ।
यस निर्वाचनको नतिजाले हङकङमा भइरहेको सरकार विरोधी प्रदर्शनको भविष्य निर्धारण गर्ने बताइएको छ। ६ महिनाअघि संसदमा सुपुर्दगी विधेयक ल्याएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएपछि सरकारले विधेयक फिर्ता लिइसकेको छ। तर, प्रदर्शनकारीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने, प्रदर्शनका क्रममा भएको दमनबारे निष्पक्ष छानविन हुनुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्। चीन भने ल्यामलाई राजीनामा गराउने पक्षमा छैन।
त्यसयता हङकङमा लगातार प्रदर्शन हुँदै आएको छ। प्रहरी र प्रदर्शनकारीबीच दिनहुँ झडप हुँदा हङकङ युद्ध मैदान बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
विधेयक विरुद्ध शुरु भएको आन्दोलनमा अहिले आएर चीनबाट हङकङलाई स्वतन्त्र बनाउने पक्षधरहरुको बाहुल्यता रहेको छ। सन् १९९७ मा बेलायतले चीन सरकारलाई हङकङ हस्तान्तरण गरेको थियो। प्रदर्शनकारीहरु अहिले चीनबाट स्वतन्त्रता माग गरिरहेका छन्।
प्रदर्शनकारीले विदेशी राष्ट्रहरुसँग हङकङ मामिलामा हस्तक्षेप गर्न आह्वान गरेपछि चीनले 'एक राष्ट्र दुई नीति' सिद्धान्त माथि संकट उत्पन्न भए कदम चाल्न बाध्य हुनुपर्ने चेतावनी दिइसकेको छ। हाल प्रदर्शनरत पक्षलाई 'आन्तरिक आतंकवाद' सँगै तुलना गर्दै चीनले हङकङमा चीनको झण्डा जलाउने, चिनियाँ कार्यालयहरुमा तोडफोड भएको भन्दै अवस्था नियन्त्रणमा लिन हङकङमा चिनियाँ जनमुक्ति सेना परिचनलन हुन सक्ने चेतावनी दिइसकेको छ।