हरेक बिहान ८ बजे जापानको दक्षिणी भेग, खामीआमाकुशा गाउँको एउटा ठूलो चट्टानमा उक्लिन्छन्, चार जना नेपाली।
फिक्का हरियो रङको लुगा, पहेलो हेलमेट, कम्मरमा कालो मोटो पेटी र हातमा औजार– तयार पार्छन् र घोत्लिएर कुँद्न थाल्छन् - अजङ्गको चट्टान। यही दैनिकी दोहोरिएको ३ वर्ष भयो तर उनीहरु थाकेका छैनन्। त्यहाँ उनीहरु बुद्धको आकृति खोज्दै छन्।
टोलीको नेतृत्व गर्छन्, मोरङका मञ्जुल बराइलीले।
मञ्जुल मूर्तिकार। कलाकारको भिसामा जापान पुगे, मूर्ति बनाउनकै लागि। शताब्दीकै सबैभन्दा ठूलो ढुङ्गे मूर्ति, बुद्धको जसलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास गरिनेछ।
५ सेप्टेम्बर २०१६ मा पहिलो पटक जापान पुगेका थिए उनी। जापान पुगेको भोलिपल्टै मञ्जुलसँगै गएका अन्य तीन नेपाली सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित र गणेश राई त्यहाँबाट करिब ९ किलोमिटर टाढा पुगे। शहरदेखि टाढा खामीअमाकुशा। गाउँले परिवेश, वरपर हरियाली, प्रशस्त खाली ठाउँ अनि भिडबाट पनि मुक्त। उनीहरुको कल्पनामा रहेको अत्याधुनिक जापानभन्दा बिल्कुलै फरक।
उनीहरु पुगेको दिन त्यहाँ भिड रहेछ। शताब्दीकै सर्वाधिक ठूलो मूर्तिको शिलन्यास हुँदै गर्दा मानिसहरु उत्साही भएर पुगेका रहेछन्।
जापानीहरु रमाइरहँदा मञ्जुल मितेरीको हृदय भने आँखै अगाडिको अजङ्गको चट्टानमा ठोक्किइरह्यो। ७० फुट अग्लो चट्टान २०० फिट फैलिएको देखे। मञ्जुल त्यही 'पहरोमा झुण्डिँदै चट्टानमा बुद्धको आकृत तयार गर्ने शर्तमा हस्ताक्षर गर्दै जापान पुगेका थिए।
बुद्धको ऐतिहासिक मूर्ति निर्माणको नेतृत्व र त्यो मूर्तिमा आफ्नो देशको नाम कुँद्ने सपनाका कारण खुशी खुशी स्वीकारेका थिए, जटिल काम। तर, त्यहाँ पुगिसकेपछि देखेको त्यो कालो, अग्लो पहरोले उनलाई झस्क्यायो। आफैसँग प्रश्न गरे- कतै सकिएन भने?
प्रश्नका लागि उनीसँग ठाउँ बाँकी थिएन। थियो त केवल काम देखाउने चुनौतीमात्र।
मञ्जुल र उनको टोलीले त्यो चुनौती पनि सहर्ष स्वीकारे। सबै गरी ७ वटा मूर्ति। बुद्धको मुल मूर्ति ६५ फुट अग्लो। अरु सबै ४० फुटका। पाँच वर्षमा सक्ने र सेकिचुयामा प्रतिष्ठानलाई हस्तान्तरण गर्ने।
+++
जापानी समाजसेवी तथा व्यवसायी ओसिमा सिजुकी ३० वर्ष अघि चीन भ्रमणमा थिए। त्यहाँ उनले बुद्धको ठूलो र आकर्षक मूर्ति देखे। मूर्ति ठाउँ ठाउँमा फुटेको पनि थियो। जिर्ण अवस्थामा पनि सुन्दर देखिएको त्यो मूर्ति थियो 'लङमेन ग्रोटोज'। १३ औं शताब्दीमा बनेको उक्त मूर्ति युद्धका कारण क्षतिग्रस्त भएको रहेछ। सिजुकी भने त्यसैको प्रारुप आफ्नो देशमा बनाउने योजना बुनेर फर्किए।
सिजुकीको सपना पूरा हुने निश्चित भयो सन् २०१६ मा मात्र। मूर्ति बनाउन सुरुवातदेखि जोडिए 'अरनिको'कै देशका समकालीन अरनिकोहरु अर्थात्, मञ्जुल मितेरी र उनको टोली।
नेपाली अरनिको र व्यवसायी सिजुकीबीच पुलको काम गरे प्रतिष्ठानमै कार्यरत् दिलिप लामिछानेले। उनी मञ्जुलको शिल्पीबारे जानकार थिए। उनैले विशाल मूर्ति बनाउन प्रतिष्ठानका तर्फबाट मञ्जुलसँग प्रस्ताव राखेकका थिए।
परियोजनाबारे पहिलोपटक छलफल भएको दुई महिनापछि त नेपाली टोली जापान पुगिहाल्यो।
'ऐतिहासिक कामका लागि पुग्नु महत्वको विषय थियो। तर, मैले नेपालमा अर्को ठूलो परियोजना थाँती राख्न पर्नुको थकथकीले भने पिरोलिरहन्छ,' मञ्जुलले सुनाए।
+++
मञ्जुल चित्रकलामा पोख्त। उनलाई ढुङ्गामा आकृति बनाउन सकिन्छ भन्ने पनि थाहा थिएन। कक्षा ६ मा पढ्थे उनी। परीक्षाको तयारी गर्दै थिए। पढ्नुपर्ने थियो कलाकार अरनिकोको जीवनी। पढे।
पढ्नुले उनलाई परीक्षामा मात्र उत्तीर्ण गराएन, जीवनमै फरक मोड ल्याइदियो। ११ वर्षीय केटोले ढुङ्गामा छिनो र घन ठोक्न थाल्यो। मोरङको मिक्लाजुङ गाउँपालिकाका मानिसका लागि ढुङ्गाको मूर्ति नौलो कुरा थियो। कतिले ओठ लेप्राए। उनका बुबा इन्द्रबहादुर बराइली र आमा सरिता राईले त गाली नै गरे। तर, जब फालिएको ढुङ्गामा कुनै काल्पनिक मुहारको आकृति देखियो, सबै छक्क।
स्कूले जीवनभर वाहवाही र रमाइलोकै कारण पनि मूर्ति कुद्न छाडेनन्। कला निखारिँदै गयो। मञ्जुल स्वयंले गरेको मेहनत र लागेको समयको हिसाब छैन। एउटा समय आयो, उनले मूर्तिकलालाई नै व्यवसाय बनाउने सोचे। तर, गाउँमा न बजार थियो, न उचित मूल्याङ्कन नै।
२०५७ सालमा विवाह गरे लगत्तै श्रीमती कौशिला राई र उनी उर्लाबारी सरे। 'मञ्जुल मूर्तिकला केन्द्र' स्थापना गरे।
मूर्तिकलालाई व्यवसायिक बनाउने हुटहुटीले गाउँबाट शहरसम्म त डोहोर्यायो तर त्यहाँ पनि अवस्था सहज रहेन। आवश्यक मूर्ति भारतबाट ल्याइन्थ्यो। स्थानीय कलाकारलाई कसले पत्याउनु? त्यसमाथि १९ वर्षका मात्र थिए मञ्जुल। ग्राहकहरु आउँथे र उनलाई सोध्थे- 'बाबु बुबा खोइ?', 'मञ्जुल दाइ खोइ?'
प्रश्न सुनेर मुसुक्क हाँस्थे र भन्थे- 'मञ्जुल बराइली भनेको मै हुँ।'
अर्डर आउथेन, बनाएर राखेका मूर्ति बिक्थेन। लगानी उठ्ने कहिले हो, पत्तो थिएन। त्यही अवस्थामा पनि हार मानेनन्। आर्थिक अभावको चरम बिन्दुमा पुग्दा पनि हरेश खाएनन्। धेरैले वैदेशिक रोजगारीको बाटो देखाए। तर, उनका लागि लक्ष्य प्रष्ट थियो त्यसैले त्यहाँ कुनै दोबाटो या चौबाटो थिएन।
उर्लाबारीमा गरेको संघर्षको कथा झण्डै एक दशक लामो छ। २०६५ सालतिर बल्ल काम आउन थाल्यो। नयाँ कलाकारहरु उनीसँग शिप सिक्न आउन थाले। मूर्ति देउताको मात्र हुन्छ भन्ने बुझाइ रहेन। पूर्वाञ्चलमा मूर्तिकला सम्बन्धी विभिन्न कार्यशाला र छलफल आयोजना हुन थालेपछि उनलाई केही सहज भयो।
फक्रन थालेको व्यापारबीच अर्को एउटा सपना फूल्यो - राज्यलाई हजारवटा मूर्ति उपहार दिने।
दशक लामो जनयुद्धबाट देशमा युद्धविराम भएको धेरै भएको थिएन। शान्ति सम्झौता सरकारले जनतालाई दिएको उपहार बनेको थियो। त्यस्तोमा उनले पनि राज्यका लागि हजार जना विश्व प्रशिद्ध व्यक्तित्वको मूर्ति उपहार दिने घोषणा गरे।
हजार वटा अर्ध कदको मूर्ति, संकल्प सहज थिएन। ढुङ्गाको खोजीदेखि समय र आर्थिक लागतको पाटो ठूलो थियो। तर, पनि आँटे। धेरैले प्रोत्साहित गरे। बधाई र धन्यवाद दिए। नैतिक समर्थन सबैको रह्यो तर एकपछि अर्को चुनौती त आर्थिक अभावले त्यसलाई सोचे अनुसार पूरा हुन दिएन।
काम सरासर गर्दा एउटा मूर्तिलाई तीनदेखि चार दिन लाग्ने। खर्च आठदेखि दश हजार। अरु काम छाडेर लक्ष्य प्राप्तिका लागि मात्र भिड्नु सम्भव थिएन। अभाव र अवरोधकै बीच १ सय ५० मूर्ति बन्यो २०७३ साल सम्म।
ठीक त्यही वर्ष उर्लाबारी नगरपालिकाले उनी समक्ष एउटा प्रस्ताव ल्यायो - नगरपालिकाको पहिचान स्थापनाका लागि स्थानीय संस्कृति झल्कने मूर्तिहरु बनाउने र संग्राहलय स्थापना गर्ने। उनी राजी नहुने कुरै थिएन। त्यसको केही दिन नबित्दै जापानी परियोजनाको प्रस्ताव आयो।
त्यसपछि धर्म संकट। कुनैबेला काम नपाएर हैरान, पाउन थालेपछि एक से एक काम। तर, देशमै केही गर्छु भन्ने संकल्प पनि थियो। अनि जापानी परियोजना पनि ऐतिहासिक, जसमा देशको नाम प्रत्यक्ष जोडिन्थ्यो।
'जिन्दगीको सबैभन्दा कठिन दुई साता बिताएँ। के गरौं कसो गरौं छट्पटी भयो। अन्तत: हृदय कठोर बनाएर विदेशिने निर्णय लिएँ,' पहिलोपोस्टसँगको कुराकानीमा मञ्जुलले सुनाए, 'यो कामबाट हात झिकेको भए नेपालको नभइ अरु कुनै देशको कालिगढ यो पहरोमा झुण्डिरहेको हुन्थ्यो। र, केही वर्षपछि मूर्तिमा उसको देशको नाम हुने थियो। अब नेपालको नाम रहनेमा ढुक्क छु। खुशी पनि।'
+++
खुशी दिए पनि उनको काम सहज भने छैन। गह्रौं उपकरण। धुँवा र धुँलोले ढपक्कै ढाकिने। कम्पनीले बीमा त गराएको छ तर आत्तिने मनको बीमा हुने कुरै भएन। भाषाका कारण नेपाली साथीहरुलाई मात्र बुझ्नु र उनीहरुलाई मात्र बुझाउन सक्नु झनै पीडादायी। नेपाली साथीहरु भेटिने शहर फुकोहोका त्यहाँबाट करिब दुई सय किलोमिटर टाढा। नियमित भेट सम्भव छैन। नाच्दा गाउँदा होस् या नजिकैको समुद्रमा माछा मार्न जाँदा पनि तिनै चारबाहेक अरु हुन्थेनन्।
तीन वर्ष काम गरेर पूरानो टोलीका दुईजना नेपाल फर्किसके। ६ महिना अघि मञ्जुलले नै नयाँ मूर्तिकारहरु जीवन पौडेल र रामकुमार राईलाई जापान डाके। काम सक्काउन तोकिएको भन्दा बढी समय लाग्ने देखियो। त्यसैले थप दुई कलाकार कम्पनीकै स्वीकृतिमा बोलाए मञ्जुलले।
अप्ठ्याराबीच मूर्तिहरुको पचास प्रतिशत काम सकिएको छ। बुद्धको पलेंटीको आकृति, हात, वरपर कमलको फूलहरु कुँद्न र रङरोगनको काम भने बाँकी छ।
दिनभर झुण्डिएर पहरासँग युद्ध लड्ने उनीहरु फर्कने बेला पहरोतिर घाँटी तन्काएर हेर्छन्, पर पुगुन्जेल। खास धेरै काम भएजस्तो देखिँदैन। तर, बेलाबेलामा आउनेहरु भनिरहेका हुन्छन् - 'कति राम्रो भइसकेछ। प्रकृतिसँगै यो ठाउँमा नयाँ सुन्दरता थपिएको छ।'
पहरोमा बुद्ध कल्पना गर्ने ओसिमा सिजुकीको पनि हरेक महिना आउँछन् र दश बाह्र दिन बिताएर जान्छन्। ८४ वर्ष पुगेका उनी आफ्नो दशकौं पूरानो योजनाले मूर्त रुप लिँदै गरेकोमा दङ्ग छन्। उनी भावनात्मक रुपमा पनि जोडिएका छन् यो अनकन्टार ठाउँसँग।
मञ्जुल भन्छन्, 'कल्पना निकै सुन्दर रचना हो। उहाँको कल्पनालाई हामीले कोर्न पायौं। सुरुवाती दिनमा आफ्नो निर्मम निर्णयले दुखाउँथ्यो। तर, पहरोमा टाँसिएको बुद्धको आकृति देख्दा लाग्छ यो काम सौभाग्यले पायौं।'
परिवेश, संस्कार, भाषा फरक परे पनि त्यहाँका मानिसको मूर्ति र कलाप्रतिको सम्मान देखेर दङ्ग छन् मञ्जुल। युवा युवती शहरमा पढाई वा रोजगारीका लागि। गाउँमा प्राय: ७० कटेकाहरु मात्र। उनीहरुले हेर्ने, रमाउने, समय बिताउने बहाना बनेको छ कालो चट्टानबाट भगवानमा रुपान्तरण हुँदै गरेको त्यो पहरो। अनि साथी बनेका छन् नेपालबाट गएका तिनै कालिगढ।
भाषा त सहजकर्ताले बुझाउँछन्। कला र आत्मियता बुझ्न चाहिँ भाषाले नरोक्ने रहेछ भन्ने लाग्छ मञ्जुललाई।
+++
त्यो जापानी चट्टानले मञ्जुललाई थुप्रै गीत, कविता पनि दिएको छ। ढुङ्गामा कुनै बुट्टा कुँद्दै गर्दा मनमा नयाँ कविता कुँदिरहेका हुन्छन्।
'सिर्जना गर्छु भन्दैमा आउने कुरा होइन। अनुभव, बुझाइ र भावहरु हुन्, मनमा खेल्छन्। मैले तिनलाई आकार दिने न हुँ,' मञ्जुल सुनाउँछन्। नेपाल छँदै थुप्रै गीतमा शब्द, संगीत र स्वर दिएका छन् उनले। तर, संगीतको औपचारिक शिक्षा लिन न पैसा थियो न समय नै।
साहित्यमा मञ्जुल मितेरीको रुपमा चिनिएका उनले जापान रहँदै लेखेका फुटकर कविताहरुको संग्रह निकाल्ने योजना बनाएका छन्। यसअघि उनको 'अर्काको देशमा' कथा संग्रह २०७१ मा सार्वजनिक भएको थियो।
चट्टानबाट बुद्धको आकृतिमा रुपान्तरित पहाडको समय समयमा फोटो पोस्ट गर्छन् फेसबुकमा। बधाई र धन्यवाद दिनेहरुको ओइरो लाग्छ। त्यसैको सिको गर्दै फेसबुकमा ठूलाठूला ढुङ्गा र पहरे चट्टानहरुको फोटो पठाउनेहरु ह्वात्तै बढेका छन्। 'दाइ फर्किएर यसमा पनि मूर्ति बनाउनु पर्छ है भन्दै मेसेज लेख्नु हुन्छ। म दङ्ग पर्छु कामको प्रभाव देखेर,' उनले भने।
उनले असंख्या सम्भावना देखेका छन् नेपालका विशाल पहराहरुमा। जहाँ यस्ता सिर्जनाहरु मज्जाले तयार हुन सक्छ।
'प्राकृतिक रुपमै सुन्दर हुन्छन् पहराहरु तर विनाश नहुने हिसाबले तिनलाई कलात्मक बनाउने हो भने साँच्चै आकर्षणको केन्द्र बन्छ,' उनले भने, 'तर, नेपालमा व्यवस्थापन र संरक्षण संस्कृति सुखद् छैन। लगानीको अर्को ठूलो पाटो छ। केही गाह्रो छ तर असम्भव पक्कै होइन।'
नेपाल फर्किएर स्थानीय सरकारसँग चट्टान र पहराहरुलाई आकार दिन सहकार्यको प्रस्ताव राख्ने योजना छ उनको। तर, त्योभन्दा अघि पूरा गर्नु छ हजार मूर्ति हस्तान्तरणको लक्ष्य। जसका लागि बनाएका मूर्ति संरक्षण, नयाँका लागि ढुङ्गा जम्मा गर्दैछिन् उनकी श्रीमती कौशिला। कौशिला पनि मूर्तिकार नै हुन्।
'अभाव र उल्झन् झेल्न नपरे चाँडै सकिन्छ। म फर्किएपछि सबै बचत खर्च गरेर भए पनि काम सक्काउँछु,' उनले हाँस्दै सुनाए, 'वचनको त पक्का छु नि म।'
एक समय ललितकला पढ्न चाहेर पनि सकेनन्। पर्दै जाँदा निखारिँदै गयो काम। अहिले विश्व ललितकलाको इतिहासमा नयाँ छाप छोड्नका लागि महत्वपूर्ण भूमिकामा निभाउँदै छन् मञ्जुल जसका लागि कलाकृति 'सुन्दर दुर्घटना' हो। र, उनी ठूलो सिर्जनात्मक दुर्घटनाको महत्वपूर्ण हिस्सा।
(यसमा प्रयोग भएका सबै फोटोहरु मञ्जुलले उपलब्ध गराएका हुन्।)