काठमाडौं : बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल उपाधि विजेता नेपाली टोलीलाई सरकारले एक कार्यक्रमबीच सम्मान गरेको छ। आज प्रज्ञा प्रतिस्ठानमा अर्थमन्त्री युवराज खतिवडाले च्याम्पियन बनेको भलिबल टोलीलाई सम्मान गर्दै नेपालमा आयोजना हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी खेलाडीहरुलाई शुभकामना दिए।
पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई सम्मान र सम्बोधन गर्ने भनिएको भएपनि प्रधानमन्त्री अस्वस्थ भएकाले अर्थमन्त्री खतिवडालाई पठाइएका थियो।
खेलाडीलाई सम्मान गर्दै खतिवडाले भलिबलको कभर्ड हल बन्ने बताएका छन्। त्यस्तै उनले नेपालमा बनेका रंगशालालगायत खेल पूर्वाधारहरु अझै अपुग भएकाले सातै प्रदेशमा खेल पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता पनि ब्यक्त गरे। खेलाडीको पुरस्कार राशीमा पनि उल्लेख्य सुधार हुने अर्थमन्त्रीको दाबी थियो।
'खेलकुद मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरोस्, खेलाडीको पुरस्कार राशीमा सुधार हुनेछ,' अर्थमन्त्री खतिवडाले भने।
यसअघि सरकारले सागमा स्वर्ण जित्ने खेलाडीलाई तीन लाख, रजत जित्नेलाई दुई लाख र काँस्य जित्नेलाई एक लाख पुरस्कार दिँदै आएको थियो।
खतिवडाले दक्षिण एसियाली खेलकुदले खेल पर्यटकका रुपमा नेपाल भ्रमण वर्षको लागि पनि योगदान गर्ने विश्वास गरे। यसका लागि स्थानीयले आतित्थता प्रदान गर्न सके खेलाडी फर्केर जाँदा नेपालको प्रचार गर्ने बताए।
सरकारले भलिबल खेलाडी एभिसी सेन्ट्रलजोन वुमन्स भलिबलमा च्याम्पपियन बनेर आउँदा जनही ३ लाख पुरस्कार दिने घोषणा गरेको थियो।