PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भारतीय मिडियामा सागको चर्चा : भारतले सहभागितामा किन गर्‍यो कटौती?



भारतीय मिडियामा सागको चर्चा : भारतले सहभागितामा किन गर्‍यो कटौती?
भारतीय महिला भलिबल टोली

काठमाडौं : यतिबेला दक्षिण एसियाली खेलकुद (साग) आयोजनामा जुटेको छ काठमाडौं। भलिबलका खेलहरु त शुरु नै भइसके।

औपचारिक रुपमा आइतबारबाट शुरु हुने दक्षिण एसियाकै खेलकुद महासंग्राममा सहभागिता जनाउने सार्क राष्ट्र (अफगानिस्तान बाहेक) का खेलाडीहरु काठमाडौं ओर्लिन क्रम जारी छ। सागमा घरेलु टिमको नाताले नेपालको प्रदर्शन र अन्य देशले प्रस्तुतीका बारेमा चर्चा चुलिएको छ।

साग संघारमा रहँदा यसमा भारतको सहभागिताका बारेमा उत्तिकै बहस भइरहेको छ। खेलाडीको नाम पठाउने अन्तिम दिनसम्म भारतले केही खेलमा सहभागिता जनाउने वा नजनाउने भन्ने विषयमा आयोजकलाई कुनै जानकारी गराएन। त्यसैले आयोजकलाई खेल तालिका निकाल्नै गाह्रो भयो।

पुरुष फुटबलमा भारतसहितको खेल तालिका प्रकाशित गरिएको थियो। तर, भारतले अन्तिम समयमा फुटबलमा सहभागिता नजनाउने भएपछि तालिका संशोधन गर्नुपर्‍यो। यस्तै दक्षिण एसियाको क्रिकेट हब भारतले सागमा आयोजना हुने क्रिकेटमा समेत सहभागिता नजनाउने निर्णय गर्‍यो। भारतलाई बलियो मानिएको खेलमा नै उसले सहभागिता नजनाउने भएसँगै सागमा भारतको उपस्थितिबारे यत्तिखेर नेपालमा मात्रै नभएर भारतीय मिडियाहरुमा पनि चर्चा चुलिएको छ।

हुनत: भलिबलमा पनि भारतले सहभागिता नजनाउने चर्चा चलेको थियो। यद्यपि, अन्तिम समयमा भारतले भलिबलमा भने उपस्थिति जनायो। दक्षिण एसियाली खेलकुद अन्तर्गतको भलिबलमा पुरुष र महिला दुवै समूहमा भारतले सुखद् सुरुवात गरिसकेको छ।

क्रिकेट र फुटबलमा भारतलाई स्वर्णको दाबेदार मानिए पनि खेल व्यवस्थापनमा समस्या भएपछि ती खेलका टोली सागमा सहभागी नभएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

भारतीय खेल मन्त्रालयले सागमा सहभागी हुने टिम मेनेजरहरुको खर्च नउठाउने स्पस्ट पारेपछि भारतीय ओलम्पिक कमिटी नेपाल आउने सदस्य संख्या घटाएको बताइएको छ।

भारतीय ओलम्पिक कमिटीले नेपाल आउने ७ सय ७६ जनाको नाम मन्त्रालय पठाएको थियो। तर, मन्त्रालयबाट सबैको नाममा स्वीकृत भएन। मन्त्रालयले सागमा सहभागी हुन मात्र ६२० को नाम स्वीकृत गर्‍यो। जसमा ४६७ जना खेलाडी रहेका छन्। त्यसमा पनि मन्त्रालयले टिम मेनेजरको खर्च आफूले नब्योहर्ने स्पस्ट पारेको थियो।

भारतीय ओलम्पिक कमिटीले पठाएको नामबाट आर्चरी, तवेक्वान्दो,  करातेबाट नाम हटाइएको छ भने एथलेटिक्सबाट खेलाडीसंख्या १२७ बाट ९८ मा घटाइएको जनाइएको छ। ओलम्पिक कमिटीले २१ खेलका लागि अनुमति मागेको थियो। त्यसमा पनि केही खेलाडीहरुले सहभागिता नजनाउने सम्भावना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell