PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गढी माई मेलाको मुखैमा 'पशु अधिकारकर्मीले मासु खाए' भन्दै भाइरल झडपवाला भिडियोको यथार्थ के?



स्वेच्छा राउत

गढी माई मेलाको मुखैमा 'पशु अधिकारकर्मीले मासु खाए' भन्दै भाइरल झडपवाला भिडियोको यथार्थ के?

सोसल मिडियामा यतिखेर वीरगंजमा पशु अधिकारकर्मीले मासु खाएको र त्यसैलाई लिएर भएको विवादले निक्कै चर्चा बटुलेको छ। गढी माईको मेला लाग्दै गर्दा आएको यो भिडियोले धेरैको ध्यान पनि खिचेको छ। आखिर त्यो भिडियोको अन्तरकथा के हो त?

गत असोज ९ गते वीरगंजमा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना भएको थियो। बाराको गढीमाई मेलामा दिइने पशु बली प्रथालाई निरुत्साहन गर्ने विषयमा भएको छलफलमा सर्वोच्च अदालतदेखि स्थानीय सरकार र पशु अधिकारको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरुको सहभागी थिए। सोही कार्यक्रमका लागि वीरगंज पुगेका थिए द जेन गुडविल नामक संस्थाका निर्देशक मनोज गौतम र निरज गौतम।

गढीमाई मेलामा दिइने पशुबली रोक्ने माग गर्दै २०७१ सालमा रिट दायर गरेको थियो, द जेन गुड विलले। उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७३ साल साउन २० गते पशु्बली प्रथालाई निरुत्साहित गर्न परमादेश जारी गरेको थियो। कार्यक्रममा अदालतको फैसला कार्यान्वयनमा कसरी ल्याउने भन्नेबारे छलफल केन्द्रित थियो।

उक्त कार्यक्रम भएको ठीक तीन दिनपछि वीरगंजस्थित होटल विसुवामा नेपाल पर्यटन बोर्डले स्थानीय पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा अतिथि रहेका थिए वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी। उनको निमन्त्रणामै पशु संरक्षण अभियान्ता मनोज गौतम र निरज गौतम पनि पुगे।

कार्यक्रम सकिएपछि सबैजना खाना खान थाले। मनोजको र निरज बेग्लै टेबलमा बसे। उनीहरुसँगै रहिन् पत्रकार आकांक्षा शाह पनि। उनीहरु खाना खाँदै गर्दा अचानक केही हुल मानिसहरु आए र प्रश्न गर्न थाले- ‘मटनको स्वाद त राम्रो छ?’

प्रश्नको झटारो कम भएन। सोधियो- ‘तपाईंहरु बलि प्रथा रोक्न आएको होइन? अनि मासु खाने?’

मनोज, निरज र आकांक्षाले एकअर्कालाई हेरे। कार्यक्रममा सञ्चारकर्मीको हैसियतले गएकी आकांक्षाले प्रष्ट पारिन्- 'म पशु अधिकारकर्मी होइन।'

मनोज र निरजलाई देखाउँदै भनिन्, 'उहाँहरुले खानु भएको छैन।'

प्रश्न सोध्नेहरुले भिडियो पनि खिचिरहेका थिए। भिडियो नखिच्न भन्दाभन्दै माहोल सामान्य रहेन अभियान्ता र प्रश्नकर्ताहरुबीच। वादविवाद चर्कियो।

त्यही भिडियो नोभेम्बर २६ का दिन सुरज गुप्ता नाम भएको फेसबुक पेजमार्फत् सार्वजनिक भयो। र, भाइरल पनि। त्यो भिडियो यो सामाग्री तयार पार्दाको समयसम्म पाँच लाख ५४ हजार पटक हेरिएको छ। त्यस्तै तीन हजार आठ सय पटक सेयर पनि।

भिडियो पशु अधिकारकर्मीले मासु खाएको विषयमाथि वादविवादबाट सुरु भएको छ र हात हालाहालसम्म पुगेको छ।

भिडियोमा देखिएका छन् नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षमा श्याम बञ्जारा पनि।

तीन महिनाअघिको उक्त भिडियो एकाएक सार्वजनिक भएपछि बञ्जारालाई फोन र मेसेज आउने क्रम जारी छ। उनी भने उक्त भिडियो कसले सार्वजनिक गर्‍यो भन्नेबारे जानकारी समेत नभएको बताए। भने, 'त्यो भिडियोको अब केही अर्थ छैन। महिनौं अघि घटेको घटना। गलत बुझाइका कारण सुरु भयो मेलमिलापमा गरेर टुंगियो। तर, अहिले खोइ किन अनावश्यक रुपमा भाइरल गराइयो।'

उनले आकांक्षा शाहलाई पनि अभियान्ता ठानेर केही स्थानीयले प्रश्न गरेको र विवाद सुरु भएको दाबी गरे।

तर, द जेन गुडविलका निर्देशक मनोज गौतमले उक्त घटना सुनियोजित भएको दाबी गरे। पशु संरक्षण अभियान्ताबाहेक पत्रकारले मात्र मासु खाएको प्रष्ट हुँदाहुँदै पनि उनीहरुविरुद्ध मनिस खनिएको उनले बताए।

गौतमका अनुसार घटनाबारे स्थानीय अनलाइन पत्रिकामा समाचार छापिएको थियो। जसमा पशु अधिकारकर्मीले पत्रकार महासंघलाई लछारपछार पारे भन्ने शीर्षक राखिएको थियो। त्यस समय भिडियो भने सार्वजनिक भएको थिएन।

मनोजले भने, 'त्यसमा मासु नखाएको देखिन्छ त्यसैले समाचारमा हालेनन्। अहिले गढीमाइ मेलाको सुरु हुँदै गर्दा हाल्नुको उद्देश्य पशु संरक्षण अभियान्ताहरुविरुद्ध मानिस भड्काउनु र हाम्रो बारेमा नकारात्मक संदेश प्रवाह गर्नु नै हो।’

उनले यस्ता घटना, आरोप, प्रत्यारोपका कारण अभियान नडगमगाउने र क्रुरताविरुद्ध अभियान जारी राख्ने बताए।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले उक्त घटना ३ महिना अघिको भएको पुष्टि गरे। होटलमा भएको झगडापछि दुवै टोली प्रहरीकोमा पुगेको उनले पहिलोपोस्टसँग बताए।

'यहाँ आएपछि सहमतिमै मेलमिलाप गरेर जानु भएको हो। त्यति नै बेला साम्य भएको घटनालाई फेरि कसले भिडियो सार्वजनिक गरिदियो,' उनले भने।

भिडियो सार्वजनिक गर्ने सञ्जय गुप्ता पत्रकार नभएको श्याम बञ्जाराको दाबी छ। उनले भने, 'गढीमाइ मेला सुरु भएको छ। यहाँको बलिविरुद्ध र पक्षमा आवाज चर्किरहेको छ। कुन चाहिँले मौका छोपेर भाइरल हुन भिडियो पोस्ट गरेको हो। पत्रकार रहेछ भने उचित छानबिन गरी पत्रकार महासंघले कारवाहीको दायरामा ल्याउँछ।'

सञ्जय गुप्ताले भने पहिलोपोस्टसँग उक्त भिडियो आफूले मेसेजमा केही साथीहरुबाट पाएको दाबी गरे। भने, 'केही साथीहरु पत्रकार छन्। अब उनीहरुको नाम त मैले भन्न मिल्दैन। केही दिनअघिको घटना हो भिडियो पोस्ट गरे हुन्छ भनेर दिएका हुन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell