काठमाडौं : प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बिहानै एक ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेवसाइटबाट नै स्वास्थ्य लाभको शुभकामना दिन सकिने बताए।
ओलीलाई भेटेर शुभेच्छा दिन धेरैले चाहेको तर स्वास्थ्य उपचार भइरहेकोले भेट्न सम्भव नभएकाहरुलाई वेभसाइटबाट नै शुभेच्छा प्रकट गर्न उनले आग्रह गरे।
त्यस लगतै सयौंले 'केपी शर्मा ओली डट कम डट एनपी' मा ओलीको स्वास्थ्य अवस्था बारे चासो राख्दै सन्देशहरु पठाएका छन्।
यशोदा तिम्सिना लेख्छिन्, 'सम्माननिय प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना। देशलाई प्रधानमन्त्री ओलीको नेतृत्व अझै चाहिन्छ । बरु नेपाली नागरिकको केहि आयु प्रधानमन्त्रीलाई थपियोस।'
यस्तै, स्वास्थ्य लाभको कामनाको सन्देश सहित केहीले भने ओलीको स्वास्थ्य बिग्रिदै गएको भन्दै उनलाई आराम गर्न सुझाव दिएका छन्।
ओलीको स्वास्थ्य लाभको कामना गर्दै सन्तोष विष्ट लेख्छन्, 'शिघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यू। अब हजुरले आराम गर्ने बेला भयो। स्वास्थ्यलाभ गर्दै मार्गदर्शक मण्डलबाट पार्टी तथा सरकारलाई सल्लाह सुझाव दिनुहोस्।'
प्रधानमन्त्री ओलीको गत मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
परिवारका सदस्य, राष्ट्रपति, नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका केही व्यक्तिहरुले मात्र ओलीलाई भेट्न पाएका छन्। संक्रमण हुन सक्ने भन्दै अरुलाई भेट्न नदिइएको चिकित्सकहरुको भनाइ छ।
प्रधानमन्त्रीलाई झण्डै एक साता अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन्।