PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

हिमाली मुलुकमा माउन्टेन बाइकर्सको मेडल मिसन : डाउन हिल र क्रस कन्ट्री पहिलो पटक हुँदै

हिमाली मुलुकमा माउन्टेन बाइकर्सको मेडल मिसन : डाउन हिल र क्रस कन्ट्री पहिलो पटक हुँदै

स्वेच्छा राउत/पहिलोपोस्ट


सन् १९९० को दशक। नेपालमा साइक्लिङ फस्टाइसकेको थियो।

शहर बजारमा साइकल सामान्य सवारी भए पनि पहाडमा पुग्दैनथे। नेपाल घुम्न आएका विदेशीहरु महँगा साइकल लिएर आउँथे। अनि उक्लन्थे अप्ठ्यारा डाँडा र पहाडतिर।

पहाडमा विदेशीले साइकल खुरुरु दौडाउँथे। त्यही साइकलको दौडले तान्यो प्रयास तमाङलाई।

रोड साइक्लिङको रस बसिसकेका युवा प्रयास तामाङ तिनै विदेशीको पछि लागे, माउन्टेन साइक्लिङ सिक्न। बिस्तारै उकाली, ओराली, गोरेटो खोज्दै माउन्टेन बाइकिङ गर्न आउने विदेशीहरुको सङ्ख्या बढ्यो।

प्रयास तिनै साइक्लिस्टको पछि लाग्थे। उदेद्श्य थियो – माउन्टेन बाइकिङ सिक्नु।

विदेशीहरु सँगको साथलाग्दा प्रयासले साइक्लिङका धेरै टेक्निक जाने। पहाडी बाटोमा विदेशीको साथ उनका लागि तालिमको अवसर बन्यो।

नेपालमा त्यति बेलासम्म माउन्टेन बाइकिङमा मान्छेहरु आकर्षित भैसकेका थिएनन्। अझ त्यसलाई खेल मान्ने त निकै कम । तर, प्रयास भने माउन्टेन बाइकिङको खेलाडी बन्न तम्सिसकेका थिए। उनले विदेशीहरुले जसोजसो गर्छन्, त्यस्तैत्यस्तै स्टन्ट, जम्प र टेक्निक सिक्दै गए। कहिले साइकल काँधमा बोकेर डाँडामा लगे। कहिले ओरालोमा दौडाउँदा साइकलसँगै गुल्टिए।

सौख पूरा गर्न आएका विदेशी फर्कन्थे। तर, तिनीहरु फर्किँदा प्रयासमा जागेको साइकलको भोक भने छाडेरै गए। त्यसैले उनी आफैँ प्रशिक्षक, आफैँ प्रशिक्षार्थी भइरहे।

‘रेसका लागि धेरै राइडर समेत हुन्थेनन्। न्यूट्रिसन र महङ्गा इक्युप्मेन्ट त कहाँ हो कहाँ परको कुरा,’ प्रयासले भने, ‘प्रतियोगिता नै नहुँदा खेलका रुपमा साइक्लिङलाई अगाडि बढाउनु चुनौतीपूर्ण थियो।'

सन् १९९९ मा उनले पहिलोपटक साइक्लिङमा राष्ट्रिय खेल खेल्ने मौका पाए। सन् २००८ सम्म खेलाडीका रुपमा उनले यसलाई निरन्तरता दिए। त्यतिन्जेल साइकलिस्टहरुको सङ्ख्या त बढ्यो तर माउन्टेन बाइक रेस धेरै भएन। साइकलमात्र कुदाएर बस्ने अवस्था थिएन। त्यसैले साइक्लिङ थाँती राखेर प्रयासले थाले साइकल व्यवसाय।

‘अरु व्यवसायमा लागेको भए आफ्नो साइकलप्रतिको प्यासन कहाँ पूरा गर्न पाइन्थ्यो र?,' प्रयासले भने, ‘साइकल सम्बन्धी व्यवसाय गरेँ त्यसैले प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस खेलमा सक्रिय रहनसकेँ।'

अब उनी खेलाडी हैन कोच बने।

नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (सागमा) उनी माउन्टेन बाइकिङ अन्तर्गत् क्रस कन्ट्री रेसका लागि खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन्। व्यवसायिक पाटोलाई थाँती राखेर सागमा क्रस कन्ट्री रेसका लागि छानिएका साइकलिस्टलाई तम्तयार पार्दैछन्, प्रतिस्पर्धाका लागि।

१३ औं सागमा पहिलोपटक माउन्टेन बाइकिङ समावेश गरिएको छ। अर्थात्, यस पटक सागमा सिधा बाटोमा प्याडल चाल्नेहरु मात्र भिँड्दै छैनन्। उकाली ओराली, ढुङ्गा अनि काठको मुडा भरिएको बाटोमा कुद्नेछन् माउन्टेन बाइकहरु।

साइक्लिङको क्रस कन्ट्री र डाउन हिल दुई फरक विधामा यसपटक प्रतिस्पर्धा हुँदैछ। नेपालसँगै बंगलादेश, भारत, श्रीलंका र पाकिस्तानका राइडरहरु सहभागी हुँदैछन्।

बीस वर्षपछि देशमै हुन लागेको सागमा घरेलु ट्र्याकको फाइदा उठाउने नेपालले कोसिस गरिरहेको छ। ‘माउन्टेन्स’को देशका माउन्टेन बाइकरहरु मेडलको आशामा छन्।

चार महिना यता प्रयासले साइक्लिस्टलाई प्रशिक्षण दिइरहेका छन्।

क्रस कन्ट्री अन्तर्गत ओकेश राज बज्राचार्य, २०१९ का नेशनल च्याम्पियन राजिव राई, अजय पण्डित क्षेत्री, बुद्धिबहादुर तामाङ पुरुषतर्फ र महिलातर्फ लक्ष्मी मगर र उषा खनाल छन्। उनीहरुको प्रतिस्पर्धा अन्य चार देशका साइकलिस्टसँग हुनेछ।

त्यस्तै डाउन हिलतर्फ एसियाली प्रतिस्पर्धाहरुमा उत्कृष्ट प्रदर्शन गरेका राजेश मगर, प्रचित थापा मगर, दीपक जिवी, निरभ श्रेष्ठ र महिलातर्फ निश्मा श्रेष्ठ र जमुना थापा छन्।

डाउन हिलमा भने उमंग श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्।

उमंग र प्रयाससहितको साइक्लिस्ट टोली हरेक बिहान सोह्रखुट्टेस्थित ट्राभलर्स डोमबाट निस्कन्छन् र पुग्छन् गोकर्णेश्वर नगरपालिका स्थित शहीद पार्क/ जगडोल डाँडा। सल्लाघारी भित्र रहेको यस पार्कमा सागको प्रतिस्पर्धाका लागि ट्र्याक बनाइएको छ।

साइक्लिस्टहरु स्टन्ट, जम्प अनि अन्य टेक्निक सिक्ने प्रयास गरिरहेका छन्, यहीँ।

‘यतिबेला खेलाडीहरुले क्लोज क्याम्पबाट बाहिर रहेर सामान्य तालिम मात्र गर्नुपर्थ्यो। उनीहरुले आराम गर्नुपर्थ्यो,’ डाउन हिल रेसका प्रशिक्षक उमंग श्रेष्ठ भन्छन्, ‘तर, हामी कहाँ यस्तै छ। अरु बेलामा यसरी ट्रेनिङ हुँदैन अनि इभेन्ट भन्दा अगाडि मात्र धपेडी हुनेगरी काम गर्नुपर्छ।’

खेल बाहेकको समयमा साइकलिस्टहरुले आफ्नै तरिकाले मिहेनत गर्ने भएकाले केही समय अघिमात्र अन्तर्राष्ट्रिय खेलका लागि तयारी गर्नु असहज हुने उनले बताए।

‘तर, पनि हामी आफ्नो पक्षबाट शतप्रतिशत दिन्छौं। एसियामा हालसम्म नेपालले राम्रै प्रदर्शन गरेको छ त्यसैले गोल्ड मेडलकै टार्गेट गरेका छौं,’ उमंगले भने, 'खेल्नका लागि मात्र होइन। जित्नका लागि मिहेनत गरेका छौं।'

‌डाउन हिलमा साइक्लिस्टहरुले एक किलोमिटर लामो ओरालोमा साइकल कुदाउनु पर्ने हुन्छ। जसका लागि डेढदेखि दुई मिनेट लाग्न सक्छ। जसले छोटो समयमा उक्त दुरी पार गर्छ, उही बिजेता।

रेसको सुरुवातमा सबैलाई ‘सिडिङ रन’ गराइन्छ। यसमा साइकलिस्टहरुले ट्र्याक हेर्छन्। कति समयमा दुरी पार गर्न सकिन्छ आफैलाई जाँच्छन्। यसो गर्दा उनीहरुले अन्तिम प्रतिस्पर्धाका लागि आफ्ना कमजोरीहरु सुधार्न र ट्र्याकमा सचेत रहन मद्दत गर्छ।

सिडिङ रेस लगत्तै फाइनल रेस हुन्छ जसमा तीन मिनेटको अन्तरमा हरेक खेलाडीलाई एकपछि अर्को गर्दै पठाइन्छ। महिला र पुरुषको खेल फरक फरक हुन्छ।

क्रस कन्ट्रीमा भने साइकलिस्टले ३.४ किलो मिटरको दुरी पार गर्नुपर्छ। सुरुवाती बिन्दुदेखि अन्तिम बिन्दुसम्म एक पटक होइन ६ पटक। छैटौं ‘ल्याप्स’पछि जसले पहिला दुरी कटाउँछ उसले रेस जित्छ।

‘हाम्रा दुवै विधाका साइकलिस्टहरु पोख्त छन्। तर, हामीलाई अरु देशका साइकलिस्ट कस्ता छन् थाहा छैन। यसअघिका एसियन प्रतिस्पर्धाको नतिजाहरु हेर्ने हो भने हामी अगाडि नै आउँछौ,’ क्रस कन्ट्री प्रशिक्षक प्रयासले भने, ‘हाललाई नेपाली माउन्टेन राइडरहरुका लागि साइकल बिग्रने, पंचर हुने, चेन चुड्न सक्ने प्राविधिक पाटोको साम्भाव्यता बाहेक अन्य चुनौती छैन।'

घरेलु ट्र्याकलाई भने जित्ने उत्कृष्ट अवसर मान्छन् दुवै प्रशिक्षकहरु। ‘माउन्टेनको देशका माउन्टेन बाइकर्सलाई फाइदै फाइदा छ। प्रतिस्पर्धा हुने ट्र्याकमै तयारी गर्न पाउनुले पनि महत्व राख्छ,’ प्रयासले भने।

गोकर्णेश्वरस्थित शहीद पार्क माउन्टेन बाइकिङका लागि उत्कृष्ट भएको ठहर छ प्रयासको।

पार्क भित्र ७० प्रतिशत प्राकृतिक गोरेटोलाई ट्र्याक बनाइएको छ भने बाँकी ३० प्रतिशत ट्र्याक भर्खरै कृत्रिम रुपमा तयार पारिएको छ।

यसै वर्षको सुरुवातमा भएको राष्ट्रिय खेलका लागि शहीद पार्कमा ट्र्याक बनाइएको हो। तर, वर्षाका कारण उक्त ट्र्याक भत्किएको थियो। सागमा माउन्टेन बाइकिङ समावेश हुने निश्चित भएपछि भने पुन: ट्र्याक निर्माण गरिएको हो।

निर्माणका लागि प्रशिक्षकहरु स्वयम् खटिएका छन्। ट्र्याक अन्तर्राष्ट्रिय स्तरको बनेको दाबी गर्छन् उमंग। भने, 'हामीले साइकलिस्ट भएर देश विदेशका ट्र्याकहरुमा साइकल गुडाएका छौं। हाम्रोमा पनि केही कमी छैन भन्नेमा ढुक्क छौं।'

यहाँभन्दा अघिका राष्ट्रिय माउन्टेन बाइकिङ इचंगु, चोभार लगायत ठाउँमा हुन्थे। र, सवारी साधनको नियमित आवतजावत् र चापका कारण अड्चन आउँथे। यसपटक भने दुवै रेस शहीद पार्कभित्रै। क्रस कन्ट्रीका प्रतिस्पर्धीहरु भने पार्क भित्र र पाँच प्रतिशत पार्कको बेस सडकमा हुँइकने छन्।

‘मध्य शहरबाट नजिक हुनु यहाँको ट्र्याकको विशेषता हो। एम्बुलेन्स वा अन्य आवश्यक सवारी प्रवेशका लागि बाटोहरु पनि खुला छन्,’ उमंगले भने।

ट्र्याक सल्लाघारी भित्र छ। नजिकै बस्ती पनि। त्यसैले साइक्लिङ हेर्न मानिसहरु जम्मा हुन्छन्। वरपर मानिस हुँदा साइकलिस्टहरुमा उत्साह थपिन्छ। यस ट्र्याकलाई व्यवस्थित बनाएर दीर्घकालीन रुपमा सञ्चालन गर्न सकिने प्रशिक्षकहरुको भनाइ छ।

माउन्टेन बाइकिङमा नेपालको प्राय अन्तिम प्रतिस्पर्धा भारतसँग हुने गरेको छ। सागमा पनि नेपालले भारतलाई चुनौतीका रुपमा हेरको छ।

यस वर्षको नेसनल च्याम्पियन राजेश मगर नेपालले साइक्लिङबाट स्वर्ण जित्ने बताउँछन्।

‘सागमा पहिलोपटक आफूले खेल्ने खेल अनि त्यसमाथि आफ्नै देशमा। केही गर्नै पर्छ भन्ने जोस छ,’ उनले भने।

खेलाडीहरुको मिहेनत र जोश अनुसार प्रस्तुति भए सागपछि पनि माउन्टेन बाइकिङको छाप राम्रो बस्ने प्रयासको विश्वास छ। पदक विजेता खेलका लागि राष्ट्रले पनि ध्यान दिने, लगानी गर्ने भएकाले प्रयास साइक्लिङसँग आशावादी छन्।

‘माउन्टेन साइकलिङमा पनि स्कोप छ है भन्ने सन्देश जान्छ। साइकल चलाएरै नाम कमाउनेहरु नै पनि सन्देश बन्छन्,’ उनले भने।

माउन्टेन साइकलिङ महँगो खेल भएकाले खेलाडी भित्र्याउनु र टिकाउनु भने चुनौतीपूर्ण रहेको प्रशिक्षकद्वयको मत छ। हेल्मेट, जुत्ता, जर्सी, पञ्जा लगायत आवश्यक सामाग्रीबिना साइकलकै मात्र पनि २ लाख भन्दा बढी खर्च हुन्छ। फेरि नेपालमा यस खेलको धेरै कार्यक्रम आयोजना हुँदैन। हुने एकाध प्रतिस्पर्धामा पुरस्कार निकै कम। त्यसैले माउन्टेन साइक्लिङमै करियर बनाउन सक्नेहरु निकै कम छन्। अन्य पेशा र यसमा सँगसँगै अघि बढ्न खोज्नेहरुलाई समय व्यवस्थापन नै गाह्रो। किनकि यो नियमित अभ्यासको खेल हो।

‌नेपाल साइक्लिस्ट संघले दश वर्षअघिदेखि सागमा साइक्लिङ प्रवेश गराउन लबिङ गरेको थियो। तर, नेपालले आफ्नै देशमा आयोजना भएको सागको मौकामा खेललाई समावेश गराउन सफल भएको छ। सागका आयोजक राष्ट्रहरुले आफ्नो दक्षता र मेडल आउन सक्ने खेलहरु सागमा थप्ने गरेका छन्।

तर, साइक्लिङले भने वर्षौदेखि सागमा अटाउने मौका पाएको थिएन।

‘ओलम्पिक कमिटीले नै राख्न नमान्ने। धेरैको अथक प्रयासपछि यो सम्भव भएको छ। अब दाबी प्रमाणित गर्ने पालो हाम्रो,’ उमंगले भने।

राखेप र ओलम्पिक कमिटी दुवै साइक्लिङसँग अहिले बल्ल आएर सकारात्मक बनेको प्रशिक्षकद्वय बताउँछन्। २४ वटा साइकलका लागि बजेट, बन्द प्रशिक्षणको व्यवस्था, ट्र्याक निर्माणमा स्थानीय निकायको सहयोगले नेपाली खेलाडीहरुलाई हौस्याएको छ।

खेलमा रुची हुँदा हुँदै पनि प्रयासको खेलमा टिकिरहने प्रयास सफल भएन। त्यो असफलताले उनलाई व्यवसायतिर खिच्यो। तर, यतिखेर भने प्रयासको प्रयास रहनेछ - नेपाललाई जिताउने। त्यसमा सफल भए भने पक्कै पनि उनको अधुरो सपनाले सार्थकता पाउनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell