
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिवार सम्पन्न उपनिर्वाचनको समीक्षा गरेको छ। कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै उपनिपर्वाचनको परिणामले सरकारलाई सच्चिनुपर्ने सन्देश दिएको बताएको छ।
पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'ने क पाले बाग्लुङको प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्नु परेको स्थिति र कठिनाईले प्राप्त विजय,कास्की र दाङमा वस्तुगत राजनीतिक प्रभाव भन्दा सहानुभूतिमा मत संयोजन गर्नु परेको अवस्था छ। तर परिणाम हासिल नगरे पनि कांग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्रले सरकार सच्याउन कै लागि ने क पाले पाठ पढ्न जरुरी छ।'
उनले ०७४ को चुनावमा रहेको मतको अग्रता घट्नुले २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टि बढेको स्पष्ट भएको बताए।
उनले भने, 'त्यसबेला एमाले र माओवादी भिन्न दुई नाम र भिन्न दुई चुनाव चिह्नका साथ मैदानमा थिए। तर त्यतिबेलाको जति मत एउटै पार्टी र एउटै चुनाव चिह्न हुँदा प्राप्त नहुनुले मतदाताको मन बदलिंदै गएको प्रष्ट चित्र देखाएको छ।'
समग्रमा मत बढे पनि कतिपय भू–भागमा मत घट्नुको आन्तरिक सांगठनिक समीक्षा गरेर आगामी दिनको तयारी कांग्रेसले गर्ने प्रवक्ता शर्माको भनाइ छ।
बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाले पनि जनताले अनुमोदन गरेको उनले बताए।