
- सुमित मिश्र-
जनकपुरधाम : गत एक सातादेखि जनकपुरधाममा भएको श्रीरामजानकी विवाह पञ्चमी महोत्सव सोमवार (आज) रामकलेवा र जन्तीको विदाई गरी विधिवत रुपमा सम्पन्न भएको छ।
गएराति उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्य र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विशिष्ठ आतिथ्यमा भगवान रामसीता बीच मिथिला वैवाहिक परम्परा अनुसार विवाह सम्पन्न भएको थियो। सो विवाह उत्सव कार्यक्रममा संघीय सांसद राजेन्द्र महतो, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहित विभिन्न राजनीतिक दलका नेता तथा भगवान श्रीरामको नगर अयोध्याबाट आएका जन्तीहरुको उपस्थिति रहेको थियो।
प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान श्रीराम र सीताबीच विवाह सम्पन्न भएको स्मरणमा जनकपुरधाम स्थित जानकी मन्दिरमा साताव्यापी रुपमा विवाह पञ्चमी महोत्सव मनाइदै आएको छ। सोही कार्यक्रम अन्तर्गत आज अन्तिम दिन मिथिला परम्परा अनुसार मरजादी अर्थात रामकलेवा (विवाहपश्चात जन्तीहरुलाई खुवाइने खाना) र भगवान श्रीरामको नगर अयोध्याबाट आएका जन्तीहरुलाई विदाई गरी विवाह पञ्चमी महोत्सव विधिवत रुपमा सम्पन्न भएको हो।
महोत्सव आयोजक जानकी मन्दिरद्वारा आयोजित रामकलेवामा जन्तीसहित सयौंको संख्यामा साधु सन्तहरुलाई भोजन गराई दोसल्ला र दक्षिणाले सम्मान गरि विदाई गरिएको थियो। रामकलेवापछि भारत अयोध्याबाट भगवान श्रीरामका अभिभावकको भूमिकामा अयोध्याका लक्ष्मण अखडासहित अयोध्याकै विभिन्न मठमन्दिरबाट आएका साधुसन्तसँग माता सीताको अभिभावकको रुपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव गला मिली सम्धी मिलान गरेका छन्।
सम्धी मिलान अर्थात अन्तिम भेटपछि उनीहरुलाई लत्ताकपडा दिई सम्मानका साथ विदाई गरिएको छ। विवाह पञ्चमी महोत्सव हेर्न भारत तथा नेपालका विभिन्न ठाउँहरुबाट आएका लाखौँ दर्शनार्थी जनकपुरधाम आएका थिए।